१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

खोटाङ–दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् । 

शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए । 

१७ वर्षीया सम्झना इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् । 

परीक्षा केन्द्र नजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेका छन् । “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं ।” आमा सावित्राले भनिन् । 
सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो । 

समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताइन् । 

गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताइन् । रासस 
 

प्रकाशित: ५ चैत्र २०७३ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App