१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६१ लाख बराबरको चोरीका गहनासहित ३ जना पक्राउ

विराटनगर महानगरपालिका–३ स्थित पिपल चोकको एक घरबाट चोरी भएको करिब ६१ लाख रुपैयाँ बराबरको सुन चाँदीका गरगहनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो समय विराटनगरमा साना तथा ठूला चोरीका घटनाका दैनिक बढ्दो रुपमा रहेको छ। दैनिक महानगरपालिकाभित्रै धेरै स्थानमा चोरीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका अनुसार दैनिक चोरीका घटना बढ्न थालेपछि सादा पोसाकका र प्रहरी पोसाकका प्रहरी व्यापक रुपमा चोरीमा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको छ।

विराटनगर–३ का जय किशोर चौधरीको घरमा जेठ ३ गते बुधबार राति साढे ८ बजेतिर चोरी भएको र त्यसमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार चोरीमा संलग्न भएको आरोपमा विराटनगर–१२ कोशी प्रोजेक्टका २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ परेका हुन्। पक्राउ परेका ३ जना एकै ठाउँ घर भएका हुन्।

चोरी भएको एक साताको अनुसन्धानपछि उनीहरुलाई बुधबार राति १ बजेतिर उनीहरुकै घर एरियाबाट पक्राउ गरेको एसपी पोखरेलले बताए। जय किशोर चौधरी र ज्योतिप्रसाद खाँले संयुक्त रुपमा सुन चाँदी कारोबार गर्दै आएका थिए।

उनीहरुले कारोबार गरेको सुन चाँदी चौधरीको घरमा राख्दै आएको बताउँदै एसपी पोखरेलले भने, ‘बुधबार राति पौने १० बजेतिर घरमा चोरी भएको खबर आउन साथ प्रहरी परिचालन गरेका थियौं। एक साताको सूक्ष्म अनुसन्धानबाट ठूलो परिमाणमा चोरी भएका सामानसहित ३ जनालाई पक्राउ गर्न सफल भएका छौं।’

२० तोला सुन र ३६ केजी चाँदी चोरी भएको पीडितहरुले बताएको र चोरी भएको सामानको बजार मूल्य करिब ६१ लाख रुपैयाँ रहेको छ। पक्राउ परेकाहरुको साथबाट ३५ केजी चाँदीका गरगहना बरामद भएको छ। ८ ग्राम सुन, २ हजार ५ सय भारतीय रुपैयाँ, १ हजार ७ सय ३० नेपाली रुपैयाँका साथै २ थान मोबाइल सेटसमेत बरामद भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले चोरीका केही सामान भारतीय बजार जोगबनीमा लगेर बिक्री गरेको खुलेको छ। चोरीका अन्य सामानसमेत उनीहरुले भारतीय बजारमा लगेर बिक्री गर्ने तयारी गर्दै गर्दा राति झोलामा राखेर जोगबनीतर्फ जान लाग्दा बुधबार राति पक्राउ परेका हुन्। पक्राउ परेका तीनै जना चोरी मुद्दामा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए।

पक्राउ परेकामध्ये विवेक चोरी मुद्दामा सजाय भुक्तानी गरी जेलबाट छुटेको ६ दिनमै अर्को चोरी घटनामा संलग्न भएका थिए। पक्राउ परेका ३ जनाविरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App