८ वैशाख २०८१ शनिबार
समाज

उत्साहले चढिएको सगरमाथा

दुवै खुट्टा गुमाएका रोल्पाका सगरमाथा आरोही हरिबहादुर बुढा तस्बिर: प्रसन गुरुङ/नागरिक

‘सगरमाथा चढ्नुअघि आवश्यक पर्ने थुप्रै तयारी गरिरहेको छु,’ दुवै घुँडाभन्दा माथिसम्म खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढाले करिब ५ वर्ष अगाडिको भेटमा नागरिकसँग भनेका थिए, ‘म खतरा मोल्न होइन, सगरमाथा अपाङ्गता भएका मानिसले पनि चढ्न सक्छन् भन्ने सन्देश दिन चढ्दै छु।’

पाँच वर्ष अगाडिको बुढामगरको त्यो सन्देश पाँच दिनदेखि संसारभर गुन्जदै छ। दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेको खबरसँगै उत्साहको खबर फैलिएको छ। कृत्रिम खु्ट्टाको सहाराले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरी फर्केका उत्साही मगरलाई मंगलबार राजधानीमा बाजागाजासहित भव्य स्वागत गरियो।

कीर्तिमान कायम गरी राजधानी फर्किएका मगरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन्।

पाँच वर्ष अगाडिको बुढामगरको त्यो सन्देश पाँच दिनदेखि संसारभर गुन्जदै छ। दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेको खबरसँगै उत्साहको खबर फैलिएको छ।

मगरको स्वागतमा विमानस्थल पुगेका पर्यटनमन्त्री सुदन किरातीले बुढामगरले संसारलाई अथक प्रयास र अदम्य साहसको नयाँ सन्देश दिन सफल भएको बताए। ‘उहाँले सगरमाथाको उचाइबाट संसारलाई फरक सन्देश दिनुभएको छ,’ मन्त्री किरातीले भने, ‘उहाँको अथक प्रयास र अदम्य साहसबाट संसारले प्रेरणा लिने छ।’

किरातीले भने जस्तै यो बुढामगरको अथक प्रयास र अदम्य साहसको प्रतिफल थियो। सगरमाथा सफलताका अगाडि उनले थुप्रै हिमाल चढिसकेका थिए। सरकारले ‘पर्वतारोहणसम्बन्धी नियमावली २०५९’ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सगरमाथा चढ्ने उनको योजना पटक पटक रोकिँदै  आएको थियो।

मगरको स्वागतमा विमानस्थल पुगेका पर्यटनमन्त्री सुदन किरातीले बुढामगरले संसारलाई अथक प्रयास र अदम्य साहसको नयाँ सन्देश दिन सफल भएको बताए।

सगरमाथा चढ्न नपाए पनि उनले अन्य हिमाल आरोहण गर्न भने छुटाएनन्। सगरमाथा आरोहण गर्न ६ हजार मिटर अग्लो हिमाल चढ्नुपर्ने नियम पनि उनले पहिल्यै पूरा गरिसकेका थिए। कृष्ण थापा मगरको नेतृत्वमा सन् २०१७ को जनवरीमा स्कटल्यान्डमा सगरमाथा आरोहणका लागि थप तालिम लिएका उनले १९ सेप्टेम्बरमा ६ हजार ४ सय ७४ मिटर अग्लो म्यारापिक हिमाल सफल आरोहण गरिसकेका थिए। ‘म्यारापिक हिमाल यात्रा निकै रोमाञ्चक थियो। त्यो हिमालको टुप्पोबाट मैले सपनाको सगरमाथा नजिकै भेटाइसकेको छु। म यसलाई फुत्कन दिनेछैन,’ उनले त्यति बेला भनेका थिए। नभन्दै उनले सगरमाथालाई फुत्कन दिएनन्।

नेपाल सरकारले पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गरेका कारण सगरमाथा चढ्ने उनको सपना पूरा भएको हो। ‘आत्मबल भयो भने सबै कुरा पूरा हुँदा रहेछन्,’ सगरमाथा आरोहण गरेर फर्किएका उनले आधार शिविरबाटै भनेका थिए, ‘मसँगै संसारभरका अपाङ्गता भएका मानिसलाई सगरमाथाको चुचुरोमा पुर्‍याएको छु।’

१९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै खुट्टा गुमाएका हुन्। सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा गुमाए।

ताालिवान र अलकायदाविरुद्धको कारबाहीमा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) सैनिकका रूपमा सन् २०१० को अप्रिलमा अफगानिस्तान पुगेका बेला धरापमा परेर दुवै खुट्टा गुमाउँदा पनि जीवनप्रति निराश नदेखिएका उनी समस्या जीवनमा आउने जाने सुनाउँछन्। ‘धेरै मान्छे दुर्घटनामा परेपछि जीवन सकिएको ठानेर उदास हुने गर्छन्,’ उनले भने, ‘त्यसपछि पनि जीवन बाँकी छ भन्ने सन्देश दिन म सगरमाथा अभियानमा लागेको हुँ।’

१९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै खुट्टा गुमाएका हुन्।

त्यसो त दुवै खुट्टा नभएका अन्य दुई जनाले सगरमाथा चढिसकेका छन् तर उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्। हरि बुढामगर भने घुँडामाथिबाटै खुट्टा नभएका आरोही हुन्।

सामाजिक सञ्जालमा पनि उनको सफलताको निकै तारिफ भएको छ। ‘संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा सबल खुट्टाको भरमा पनि मुस्किलले चढिन्छ। सगरमाथा चढ्ने सयौंको सपना अधुरै हुन्छ,’ सामाजिक सञ्जालमा रमेश कार्की लेख्छन्, ‘ दुवै खुट्टा गुमाएका हरि बुढाले ‘उत्साह’ का साथ सगरमाथा चढेर सबैलाई सकारात्मक सन्देश दिएका छन्।’

प्रकाशित: १० जेष्ठ २०८० ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App