१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कक्षाकोठामै ३० विद्यार्थी बेहोस, विद्यालय बन्द

कालिकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला मा.वि.का ३० जना विद्यार्थी बेहोस भएका छन्।

विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ। कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए।

सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए। त्यसपछि विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताए। उनका अनुसार १० देखि १४ वर्ष उमेर समूहका बालबालिका बेहोस भएका हुन्। विद्यालयनजिकैको खोलामा पौडी खेलेर आएका विद्यार्थी कक्षाकोठामा पुगेपछि बेहोस भएको उनको भनाइ छ। पादमघाट महाबैको अत्यधिक गर्मी हुने ठाउँ हो।

केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधारभूत अस्पताल पठाइएको प्रधानाध्यापक शाहीले बताए।

गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताए। ‘जटिल समस्या होइन,’ उनले भने, ‘सुख्खापना देखिन्छ, सप्लाइन दिएपछि सबैलाई ठिक भएको छ।’

प्रकाशित: ९ जेष्ठ २०८० १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App