फुलेको कपाल। सेतै दाह्री। मलिन अनुहार। स्पष्ट बोल्न नसक्ने अवस्थासम्म पुगेका ५० वर्षीय जयराम विष्टलाई पछ्याउँदै हामी उनको निवास खजुरा गाउँपालिका वडा नम्बर ६ पुरैनासम्म पुग्यौं।
जहाँ उनको माटोको गाह्रोले र जस्तापाताले निर्माण गरेको एक तले घर छ। आफ्नै जग्गा नहुँदा उनले एक कठ्टा ऐलानी जग्गामा घर बनाएका छन्। हामी पुग्दा उनकी श्रीमती ५९ वर्षीया धनि र १३ वर्षीया छोरी पुष्पासँग घरमै थिए।
जयरामको नाम लिँदै बोलाउँदा उनी रातो प्लास्टिक कुर्सीको सहारामा बाहिर निस्किए। सेतो टिसर्ट र कालो रङको जाँगे (हाफ पाइन्ट) लगाएका उनीसँगै धनि र पुष्पा पनि बाहिरै आए। उनीहरूको मुहार र पारिवारिक अवस्था हेर्दा नै धेरै आँकलन गर्न सकिन्थ्यो की, ‘यो परिवारमा जबरजस्त गरिबी घुसेको छ।’ जसलाई निकाल्न जयराम लामो समयदेखि भारतका कयौँ ठाउँमा पसिना बगाएका छन्।
हातभरि फोका, भेटभरि खाना नखाई उनले स्वदेशमै पनि परिश्रम गरे। तर, उनले जति गर्दा पनि गरिबीबाट उनले छुटकारा पाएनन्। गरिबीबाट उम्किएर सुखमय जीवन बिताउन कडा मिहिनेत गरेका जयराम अहिले त आफैँ थलिएका छन्। तर, हार भने खाएका छैनन्।
कयौँ प्रश्न लिएर हामी जयरामको घरसम्म पुगेका थियौँ। तर उनले प्रश्नका उत्तर दिनलाई बोल्नै समस्या भएपछि हामीले उनीसँग धेरै कुरा गर्न सकेनौँ। उनको इसराबाटै हामीले केही जीवनी पनि पत्ता लगायौँ।
गाउँ घरमा रोजगारी नपाएपछि उनले २० वर्ष भारतमा मजदुरी काम गरे। घर आउने जाने भइरहन्थ्यो। अन्तिम पटक उनी २०७८ पुस १२ गते पुनः रोजगारीका लागि भारत फर्किए। रोजगारीमा गएको १ वर्षपछि उनी एक्कासि बिरामी भए।
‘ज्वरो आएको थियो,’ उनले भने, ‘स्थानीय मेडिकलमा गएर सुइँ लगाए।’ त्यसपछि शरीरका अंगले बिस्तारै काम गर्न छाडेको उनी बताउँछन्। शारीरिक समस्या हुन थालेपछि उनी एक वर्षपछि (२०७९ वैशाख १५ गते) घर फर्किए। ‘घर फर्किएपछि त पूर्णरुपमा अशक्त भएँ,’ उनी भन्छन्, ‘हाल हिँडडुल गर्न समस्या छ।’
आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नसकिएको उनकी श्रीमती धनिले बताइन्।
‘श्रीमान् बिरामी भएर थला पर्नुभएको छ,’ धनि भन्छिन्, ‘उपचार गर्ने पैसा छैन। पैसा नहुँदा उपचार नगरी घरमा राखेको छुँ।’
उनीहरूको आम्दानीको स्रोत पनि छैन। जयरामनै घरका सहारा हुन। तर उनी थला परेपछि परिवार धान्नै समस्या भएको जयराम बताउँछन्। ‘कहिलेकसो छिमेकीले सहयोग गर्नुहुन्छ,’ उनी भन्छन्, ‘छिमेकीले सहयोग नगर्ने भए त झनै गाह्रो हुन्थ्यो।
मौलिक हक अन्तर्गत स्वास्थ्य हकमा चार वटा बुँदा उल्लेख गरिएको छ। पहिलो: प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। दोस्रो: प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। तेस्रो: प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। र चौथो: प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ।
मौलिक हकको पहिलो बुँदा अनुसार उनले स्वास्थ्य सेवा लिन पाएका छैनन् भने दोस्रो बुँदाले भनेझैँ आफ्नो स्वास्थ्य उपचारका सम्बन्धमा उनले जानकारी पाउन सकेका छैनन्। कुन रोगका कारण शारीरिक अपाङ्गता हुन पुगे भन्ने कुरासमेत उनलाई जानकारी छैन।
‘पैसा नहुँदा स्वास्थ्य परीक्षण नै गर्न पाएको छैन,’ जयराम भन्छन्, ‘कुन रोगले गर्दा यस्तो समस्या भयो। जानकारी छैन।’
आम्दानीको स्रोत नहुँदा अहिले यो परिवारलाई दैनिकी धान्न निकै कठिन भएको छ। उब्जनी हुने बारी र आम्दानी हुने अन्य पेसा व्यवसाय नहुँदा साँझ बिहानको छाक टार्नसँगै उपचार गर्न नसकिएको धनि बताउँछिन्।
प्रकाशित: ८ जेष्ठ २०८० १४:५२ सोमबार