१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘हाइअल्टिच्यूड’ जोखिमः हतारको यात्राले लिँदैछ ज्यान

मनाङ र मुस्ताङमा यो वर्षमात्र १६ जनाको ज्यान गइसक्यो, ती मध्ये १४ जना विदेशी

मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका तीर्थालु। तस्बिरः नागरिक

गत शुक्रबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न गएका चितवनको भरतपुर महानगरपालिका–१२ का लक्ष्मीकान्त पराजुली, ५५, को ‘हाइ अल्टिच्यूड’ ले ज्यान गयो। परिवारसहित चितवनदेखि मुक्तिनाथ दर्शन गर्न गएका पराजुली मन्दिर परिसरको १०८ धारामा नुहाउने क्रममा एकाएक लडेर बेहोस भएका थिए। बेहोस भएका पराजुलीलाई उपचारार्थ अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।  

हिमालपारिको जिल्ला मुस्ताङमा हाइ अल्टिच्यूड ले ज्यान लिएको यो पहिलो घटना भने होईन, यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म १३ जनाको ज्यान गईसकेको छ। ती मध्ये ११ जना विदेशी र दुइजना स्वदेशी पाहुना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरिक्षक मिलन बिकले जानकारी दिए।  

विकका अनुसार मृत्यु हुने मध्ये पाँचजना महिला र चारजना पुरुष गरि नौजना भारतीय नागरिक छन्। त्यस्तै दुइजना थाइल्याण्डका महिला र दुइजना नेपाली पुरुषको मृत्यु भएको उनले बताए। भारतीय र नेपाली नागरिकको मुक्तिनाथ क्षेत्रमै हाइ अल्टिच्यूडले ज्यान गएको थियो। थाईल्याण्डका महिलाको भने अन्य क्षेत्रमा ज्यान गएको थियो।  

अर्को हिमाली जिल्ला मनाङमा पनि हाइ अल्टिच्यूडले यो आर्थिक वर्षमा तीनजना विदेशी पाहुनाको ज्यान गएको छ। अमेरिका, इजरायल र कोरियाका तीनजना नागरिकले लेक लागेर मनाङ क्षेत्रमा ज्यान गुमाएको प्रहरीले बताएको छ। मुस्ताङ र मनाङमा मात्र यो वर्ष हाई अल्टिच्यूडले १६ जनाको मुत्यु भएको छ।

‘कम उचाईबाट एकाएक ३८ सय मिटर उचाईको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न उक्लिदा लेक लाग्ने गरेको छ। घुम्न आएका पर्यटकलाई लेक लाग्दा के गर्ने भन्ने पनि थाहा छैन, त्यसले गर्दा ज्यानै जाने गरेको छ,’ बिकले भने,‘हवाईजहाज चढेर एकाबिहान जोमसोम ओर्लेका पर्यटक केहीबेरको अन्तरालमा मुक्तिनाथ उक्लिदा लेक लाग्ने गरेको छ । छोटो समयमा एकाएक उच्च हिमाली भेगमा उक्लिँदा जोखिम हुने गरेको छ।’

बिकका अनुभवमा पर्यटकलाई लेक लाग्नुमा उनीहरुलाई उच्च भेगमा आउँदा कसरी सचेत हुने भनेर कसैले सिकाउँदैनन्। त्यस्तै चिसोमा आउँदा कसरी जोगिने भनेर पनि उनीहरुलाई थाहा हुँदैन। ‘पाको उमेरका धार्मिक पर्यटक मुस्ताङ आउँछन, उनीहरुलाई उच्च हिमाली भेगमा आउँदा के गर्ने भनेर सिकाइएको हुँदैन, त्यसले गर्दा समस्या पर्छ,’ उनले भने, ‘कतिपय पाहुना त शारिरिक समस्या भएका पनि हुन्छन, तर, जर्बजस्ती उच्च भेगमा उक्लिँदा उनीहरुको ज्यानै जोखिममा पर्ने गर्छ।’

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष धर्मराज पन्थी पनि मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने धार्मिक तीर्थयात्रीमा लेक लाग्ने समस्या बढी हुने गरेको बताउँछन्। ‘स्वासप्रश्वास देखि विभिन्न समस्या भएका पाको उमेरका धार्मिक तीर्थयात्री मुक्तिनाथ जाने गरेका छन। उनीहरुलाई लेक लाग्न सक्ने सम्भावना र त्यो बेला कसरी जोगिने भन्ने बारेमा थाहा नहुँदा मानवीय क्षतिका घटना हुने गरेका छन,’ उनले भने। पन्थीले धार्मिक पर्यटकको रुपमा भारतीय पाहुना आउने र उनीहरु एकाएक उच्च भेगमा उक्लिदा समस्यामा पर्ने गरेको बताए। ‘व्यावसायीले यो बारेमा सचेतना दिलाउने गरेका छन। पाहुना पनि उच्च भेगमा जाँदा के गर्ने भनेर आफै पनि जानकार हुनुपर्छ। आवश्यक औषधि लिएर पनि जान सक्छन,’ उनले भने।  

अर्का पदयात्रा व्यावसायी सुशीलराज पौडेलका अनुसार हाई अल्टिच्यूडका घटनामा धेरैजसो भारतीय र आन्तरिक पाहुना पर्ने गरेका छन। पर्वतीय क्षेत्रमा जाँदा के गर्ने र नगर्ने भनेर जानकारी नपाउँदा यस्तो समस्या हुने गरेको उनले बताए। उनका अनुसार यस्ता घटनाबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्छ, त्यसपछि सम्बन्धित निकायले पनि यसबारेमा ध्यान दिनुपर्छ। ‘हामीसँग घुमघामको पर्याप्त समय छैन भनेर हतारमा आउजाउ गर्दा त्यसले ज्यानै लिने गरेको छ,’ उनले भने, ‘पोखराबाट बिहान हिडेर बेलुकी जोमसोम पुग्ने, भोलिपल्ट बिहानै मुक्तिनाथ दर्शन गर्ने र फर्किने गर्दा पनि यस्तो समस्या हुने गरेको छ। समय र पैसाको बचत गर्न खोजेर आरामै नगरि यात्रा गर्दा यस्तो समस्या पर्छ।’  

‘पर्यटकलाई यो बारेमा जानकारी नै नभएर हो। उनीहरुले थोरै समयमा गन्तव्यको यात्रा पूरा गर्न चाहन्छन्,’ पौडेल भन्छन, ‘पछिल्लो समय गाडीको पहुँच हुनासाथ एकैदिनमा पाहुना पोखरादेखि मुक्तिनाथसम्म पुग्ने गर्छन।’ उनका अनुसार गाडी चल्नुअघि पदयात्रा क्षेत्रमा तोकिएको समयमा तोकिएको गन्तव्यमा पुग्नेगरि मात्र यात्रा हुँदा पर्यटकलाई खासै समस्या पर्दैनथ्यो, तर, अहिले एकैपटक गाडीमा हतारिएर उच्च भेगमा उक्लिँदा समस्या पर्ने गरेको छ।  

‘पैदलै हिडेर जाँदा त तोकिएको ठाउँबाहेक माथि उक्लिन सकिदैनथ्यो, हिजोका दिनमा हिडेर जाँदा समस्या थिएन, तर, अहिले समस्या बढ्दो भयो। पैदल जाँदा शरिरले स्थानीय प्रकृतिसँग अनुकुलन गराउँछ। तर, अहिले एकाएक छोटो समयमा माथि उक्लिदा निम्तिएको समस्या हो। त्यसमा पनि धार्मिक पर्यटक बढी प्रभावित हुने गरेको छन, किनकी धार्मिक पर्यटक बढी उमेरका हुने गरेका छन,’ उनले भने। व्यावसायीका अनुसार तेश्रो मुलुकका पर्यटक यस्ता समस्यामा कमै पर्छन। किनकी उनीहरुले समय तालिका बनाएर पदयात्रा गर्छन, सचेतना पनि अपनाउँछन, गाइड पनि साथमा लिएर जाने गर्छन।

‘मुक्तिनाथमा धार्मिक पर्यटक जान्छन, कतिपय त दर्शन गर्न जाने भनेर भोकभोकै गएका हुन्छन। त्यसले गर्दा शारिरिक समस्या बढी थपिने गर्छ। तेश्रो मुलुकका पर्यटक अहिले पनि तोकेको ठाउँ भन्दा माथि जाँदैनन,’ उनले भने, ‘पाहुना आफैले पनि आफ्ना लागि जोखिम निम्त्याउने गर्छन। तर, त्यसमा सबै सचेत हुनुपर्छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका संरक्षण अधिकृत अशोक सुवेदी पनि पाको उमेरमा उच्च हिमाली भेगमा छोटो समयमा आएर फर्किन खोज्दा जोखिम हुने गरेको बताउँछन्। ‘उमेर पाको भएपछि दर्शन गर्न आएका हुन्छन। स्वास्थ्य समस्या भएका तीर्थयात्री पनि आउने गरेका छन्। उच्च हिमाली भेगमा जाँदा स्वास्थ्यको बारेमा ख्याल गर्ने हो भने यस्तो समस्या आउँदैनथ्यो,’ सुवेदी भन्छन, ‘यतिसम्म की अल्टिच्यूड लागेमा के गर्ने भनेर पनि थाहा पाउँदैनन। जसरी भएपनि मुक्तिनाथ जाउँ भन्ने लाग्दा यो अवस्था आउने गरेको छ। त्यसका लागि सचेत हुनैपर्छ।’ ठाउँठाउँमा आराम गर्दै लेकसँग अनुकुलन हुँदै यात्रा गर्ने हो भने यस्तो समस्या कम हुने उनले बताए। ‘एकैदिनमा उच्च भेगमा जाँदा समस्या भएको हो। बिस्तारै बिस्तारै जानुपर्छ, अल्टिच्यूड सिकनेसको समस्याबारे सचेत हुनुपर्छ,’ उनले भने।  

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित झारकोट स्वास्थ्य चौकीका इन्चार्ज सुवास अधिकारीका अनुसार धार्मिक पर्यटकलाई उच्च हिमाली भेगमा जाँदा के गर्ने भनेर कसैले परामर्श दिएका हुँदैनन। यो बेला भारतमा अधिक गर्मि छ। गमि भूगोलमा बसिरहेका पाको उमेरका धार्मिक तीर्थयात्री एकाएक चिसोमा उक्लिदाँ समस्या हुने गरेको छ। ‘हिड्दाहिड्दै ढलेका मान्छे उठाउने पनि कोही हूँदैनन,’ उनले भने।  

उनका अनुसार मुक्तिनाथ मन्दिर परिसरमा हेल्थ डेस्क, त्यसपछि तीनकिलोमिटर तल झारकोट स्वास्थ्यचौकी, नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी र १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको हेल्थडेस्कका बिरामीलाई आवश्यक परे अक्सिजन दिन पनि मिल्छ, बेडमै राखेर उपचार गर्न पनि मिल्छ। ‘दीर्घरोगीले बेपर्वाह यात्रा गर्छन। विभिन्न रोगका औषधि खाएका हुन्छन। पोखराबाट एकाएक हतारिँदै गाडीमा उक्लिँदा पनि समस्या भएको छ। दीर्घरोगीलाई बढी परामर्श दिनुपर्नेमा त्यो भएन,’ उनले भने, ‘सचेत हुनेहरु आफैले स्वास्थ्यकर्मी र औषधि बोकेर आएका हुन्छन।’

उनका अनुसार बेहोस भएर ढलेका तीर्थयात्रीलाई स्वास्थ्यचौकी पु¥याइसक्दा अन्तिम अवस्थामा पुगिसक्छन त्यो बेला बचाउन निकै नै कठिन हुन्छ। ‘अधिक तातोबाट चिसोमा जाँदा उनीहरु एकाएक ढल्ने हुन्छन। मुटुका रोगी पनि हुने गरेका छन। पोष्ट कोभिडले गर्दा पनि पछिल्लो समय वृद्धवृद्धामा फोक्सोको समस्या बढ्दो छ,’ उनले भने, ‘त्यसले बढी समस्या पारेको छ।’ मन्दिर पुग्न गाडीबाट ओर्लेपछि तीनसय बढी सिढिँ चढ्नुपर्छ, बीचमा ढलेका बिरामीलाई उपचारका लागि तल वा माथि लैजानुपर्छ। मन्दिरसम्म सवारी नजाँदा पनि बिरामीले बेलैमा उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्था आउने गरेको उनले बताए।  

प्रकाशित: ८ जेष्ठ २०८० ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App