धादिङ– सरकारको निर्णयअनुसार धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ। सोमबारबाट जिल्ला विकास समिति ‘जिल्ला समन्वय समितिमा’ रुपान्तरित भएको छ। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर तह कार्यान्वयनमा ल्याए पनि २ दिन लगातार बिदा परेकाले सोमबारबाट काम थालिएको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ‘स्थानीय तहको शासन सञ्चालनसम्बन्धमा जारी गरिएको आदेश–२०७३’ को दफा १४ अनुसार स्थानीय तहले आफ्नो नाम परिवर्तन गरेका हुन् । जिविससहित जिल्लाका नगरपालिका र गाउँपालिकाले सोमबार नै साइनबोर्ड, लेटरप्याड र छाप परिवर्तन गरेको स्थानीय विकास अधिकारी जीवलाल भुसालले जानकारी दिए।
धादिङ जिल्लामा २ नगरपालिका र ११ वटा गाउँपालिका निर्धारण गरिएको छ। यी नगरपालिका र गाउँपालिकाहरुमा निमिक्त कार्यकारीहरु पनि तोकिएको छ। धादिङमा नीलकण्ठ नगरपालिकामा देवराज चौलागाई र धुनीबेसी नगरपालिकामा खेमराज खत्रीलाई निमिक्त कार्यकारीको रुपमा तोकिएको हो।
स्थानीय तहले अब प्रशासनिक कामका साथै व्यवस्थापकीय र न्यायपालिकासमेतको काम गर्ने अधिकार पाएका छन्। सबैखाले कागजात तत्काल परिवर्तन सम्भव नभए पनि कार्यालयको बोर्ड राख्ने र नियमित काम सञ्चालन लगायतका कार्यहरु गरिएका छन्।
नयाँ संरचनाअनुसार खनियावास गाउँपालिकामा दुर्गा बहादुर शाही, गजुरी गाउँपालिकामा मनचन्द्र धरला, गल्छी गाउँपालिका लक्ष्मण भट्टराई, गंगाजमूना गाउँपालिकामा ठाकुर प्रसाद सिंखडा, ज्वालामुखी गाउँपालिकामा गिरीप्रसाद विष्ट, थाक्रे गाउँपालिकामा सुरेनकुमार श्रेष्ठ, नेत्रावती गाउँपालिकामा भुवल विश्वकर्मा, बेनीघाट रोराङ गाउँपालिका चुडामणी पुरी, रुवीभ्याली गाउँपालिका इन्द्रप्रसाद काफ्ले, सिद्धलेक गाउँपालिका सुर्यप्रसाद देवकोटा, त्रिपुरासुन्दरी गाउँपालिका नारायण कुमार श्रेष्ठलाई कार्यकारी तोकिएको छ । वडा कार्यलयमा खटिने कर्मचारी र सचिव कार्यकारीले तोक्नेछन् ।
सोमबारबाटै गाउँपालिकाहरु तोकिएको केन्द्रहरुबाट कार्यालय स्थापना गरी काम शुरु गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी भोला गौतमले जानकारी दिए । भने, ‘कार्यालयको लेटरप्याड, छाप लगायत सबै कागजपत्र नयाँ बनिसक्यो ।’ बैक खाता भने अहिलेलाई रोक्का गरिएको र गाउँपालिकाहरुको नाममा नयाँ खाता बनेपछि मात्रै संचालनमा आउने उनले बताए। ‘नाम परिवर्तन गर्नका लागि बैंक खाता केही दिन रोक्का हुन्छ, त्यसपछि नयाँ नामअनुसार गाउँपालिकाको नामबाट खाता सञ्चालन हुन्छ’ उनले भने।
नगरपालिका र गाउँपालिकाको साइनबोर्डमा नामपछि २०७३ साल थपिएको छ ।
प्रकाशित: ३० फाल्गुन २०७३ १२:५१ सोमबार





