८ वैशाख २०८१ शनिबार
समाज

एक दिनमै पुगिन्छ अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार क्षेत्रमा रहेको करिब २० हजार वर्गकिलोमिटर फैलावटको पञ्चकुण्ड ताल। तस्बिर: हरिकृष्ण गौतम

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिन्छ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत अन्नपूर्ण गापा-४ नारच्याङको हुमखोलासम्म सडक सञ्जाल पुगेपछि त्यहाँबाट पैदलयात्रा गरी आधारक्षेत्रसम्म पुग्न सहज भएको हो। नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिन्छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिन्छ।

‘छोटो समयका लागि यात्रा गर्नेलाई समेत अन्नपूर्ण बेसक्याम्प सहज भएको छ। अब नारच्याङबाट बेसक्याम्प एकैदिनमा पुगिन्छ,’ सुवेदीले भने। उनले आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुने बताए।

होमखोलाबाट एक दिनमा आधार क्षेत्रमा पुगेर अर्को दिन होमखोलामै बास बस्ने वा सवारी साधनबाट पोखरेबगरसम्म यात्रा गर्न सकिने उनले बताए। आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको बताए।

पदमार्गस्थलमा रहेको झोलुंगे पुल मर्मतकार्यसमेत भइरहेको बताए। पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल मर्मतकार्य समेत भइरहेको छ।

पदमार्ग अन्तर्गत भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्ने हरियो, निलो रङको फुतफुते झरना, लस्करे रहेको पञ्च झरना, पहाडमा मानवनिर्मित जस्तै देखिने गुफा र आधार क्षेत्रमा पुगेपछि अन्नपूर्णको फेदमा निलो पञ्च ताल आर्कषक रहेका सुवेदीले बताए।

आधार क्षेत्रमा हेलिकोप्टरबाट आवतजावत धेरै हुन थालेको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन पदमार्गमा खानेपानीको सुविधासहितका खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाँउपालिकाले प्रदेश र संघीय सरकारसमक्ष बजेट माग गरेको गाउँपालिका अध्यक्ष भरतकुमार पुनले बताए। पदयात्रीको सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिकाले विभिन्न स्थानमा सम्पर्क नम्बरसहितको जानकारीसमेत राखिदिएको छ।

पदमार्ग अन्तर्गत भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्ने हरियो, निलो रङको फुतफुते झरना, लस्करे रहेको पञ्च झरना, पहाडमा मानवनिर्मित जस्तै देखिने गुफा र आधार क्षेत्रमा पुगेपछि अन्नपूर्णको फेदमा निलो पञ्च ताल आर्कषक रहेका सुवेदीले बताए।

‘अन्नपूर्ण आधार क्षेत्र छोटो दुरीको सुरक्षित गन्तव्य हो। पर्यटकलाई पदमार्गमा कुनै पनि अभाव हुने छैन,’ अध्यक्ष पुनले भने। विश्वमा नेपाललाई चिनाउने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको परिवारसमेत आधार क्षेत्रसम्म आउने योजना रहेको बताए।

उनले आगामी बजेटमा गाउँपालिकाको बजेटसँगै संघीय तथा प्रदेश सरकार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायतका पर्यटन सम्बन्धी संस्थासँग समेत सहकार्य गरी पूर्वाधारमा बजेट खर्च गरिने बताए। उनले अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्धन गाउँपालिकाको गौरवको योजना अन्तर्गत रहेको बताए।

आधार क्षेत्रमा मोबाइलको नेटवर्क नहुँदा समस्या भएकाले सम्बन्धित निकायलाई सञ्चारको सहज पहुँचका लागि समेत पहल गरिने उनले बताए। अन्नपूर्ण हिमाल पछिल्लो समय आरोहणका लागि आरोहीको रोजाइमा परेकाले आधार क्षेत्रमा सञ्चारको सहज पहुँचको आवश्यकता रहेको विभिन्न टे«किङ एजेन्सीको भनाइ छ। पदमार्गअन्तर्गत अक्करे भिरमा सहज पूर्वाधार बनाइएकाले पहिलोपटक पदयात्रामा निस्कनेलाई सहज भएको सेभन समिट ट्रेक्सका रवि थापाले बताए।

सोही अभियानअन्तर्गत प्रमुख प्रशासकीय अधिकृत सुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारसहित ३० जनाको टोली नारच्याङ-छोटेपा-हुमखोला हुँदै आधार शिविरमा पुगेर फर्किएका थिए।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा सालिकसमेत बनाइने छ। मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो।

पदमार्गअन्तर्गत अक्करे भिरमा सहज पूर्वाधार बनाइएकाले पहिलोपटक पदयात्रामा निस्कनेलाई सहज भएको सेभन समिट ट्रेक्सका रवि थापाले बताए।

मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। उनको सम्झनामा नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो। मानव बस्तीदेखि टाढा रहेको आधार शिविर आसपासका क्षेत्रमा अझै पनि मौरिसका बारेमा ढुंगामा लेखिएका अभिलेख पाइन्छन्।

प्रकाशित: ८ जेष्ठ २०८० ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App