१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जर्बरजस्ती करणी पश्चात् हत्या गरि फरार रहेका दुई अभियुक्त १६ वर्षपछि पक्राउ

धरानको एक धर्मशालामा जर्बजस्ती करणी पश्चात् एक युवतीको हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

ईलाका प्रहरी कार्यालय धरानले धनकुटाको सहिदभुमी गाउँपालिका १ धाम बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई १६ वर्षपछि पक्राउ गरेको हो। पक्राउ परेकालाई आइतबार सार्वजनिक गर्दै डिएसपी नवराज मल्लले दुवैले अपराध स्वीकार गरिसकेको पनि जानकारी दिए। 

उनका अनुसार २०६४ मंसिर २३ गते साँझ पौने ६ बजे साबिक धरान १२ महेन्द्रपथस्थित बलभद्रेश्वर धर्मशालाको कोठा नं २१८ मा २५ वर्षीय ललिता राईको शव भेटिएको थियो। मृतको मुख तथा योनीबाट रगत निस्किएको र शव दुर्गन्धित अवस्थामा थियो।

तत्कालीन समयमा घटनामा संलग्नहरूको पहिचान हुन सकेको थिएन भने मृतकको आफन्तजनहरुबाट पनि किटानी जाहेरी परेको थिएन। डिएसपी मल्लले अनुसन्धान पुरा हुन नसकेका पुराना अपराधका घटनाहरुलाई पुनः सूक्ष्म अनुसन्धान गर्ने क्रममा अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको बताए।

‘तत्कालको घटना, अदालतबाट फैसला भएका मुद्दाका फरार प्रतिवादीको खोजी गर्ने र पुराना घटनाहरूको पनि अनुसन्धान गर्ने काम भइरहेको हुन्छ। त्यसै क्रममा यो १६ वर्षअघिको घटनाका अभियुक्तहरू पक्राउ गर्न सफल भएका छौं,’ डिएसपी मल्लले भने।

घटनाको पुनः सूक्ष्मढंगले अनुसन्धान र मृतकका आफन्तहरुसँगको निरन्तर समन्वयबाट आशङ्का गरिएका व्यक्तिहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्तहरू लामो समय विदेश बसेको र घटना सेलाएको भन्दै पुनः नेपाल आएको पाइएको पनि डिएसपी मल्लले बताए। ‘अब चैँ प्रहरीले खोजी गर्न छोड्यो भनेर उनीहरू नेपाल फर्किएर अर्कै ठाउँमा काम गर्दै बसेको अवस्थामा पक्राउ गरिएको हो, ’उनले भने।

प्रहरीका अनुसार चन्द्रबहादुर राईले २०६४ मंसिर १९ गते मृतक ललितालाई ल्याएर धर्मशालामा राखेका थिए। उक्त कोठामा चन्द्रबहादुर र अर्का कल्पन राईले पनि ललितालाई पालैपालो पटक पटक जर्बजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले बताए। करणी पश्चात् उनीहरूले घाँटी थिचेर हत्या गरेको र शव कोठामा नै छोडेर फरार भएको उनीहरूले स्वीकार गरेको पनि डिएसपी मल्लले जानकारी दिए।

पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। 

प्रकाशित: ७ जेष्ठ २०८० १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App