१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खन्न हतार,बनाउन अल्याङटल्याङ

कान्ति बाल अस्पतालको उत्तरतर्फको ओरालोमा भत्केको सडक। तस्बिर: नागरिक

सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड। चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन। जसका कारण यो बाटो भएर यात्रा गर्ने बिरामी, बालबालिका, वृद्धवृद्धा सबैले सास्ती खेप्नुपरिरहेको छ।

‘यो उकालो भत्काएर छाडेको एक महिना नाघिसक्यो,’ स्थानीय सृष्टि लामा भन्छिन्, ‘कहिले बन्ने भन्ने कुनै टुंगो छैन।’ अस्पताल क्षेत्रमा रहेको महत्वपूर्ण बाटो बिग्रँदा बिरामी तथा वृद्धवृद्धाको यात्रा सकसपूर्ण बनेको उनले सुनाइन्। ‘राजधानीको मुटुमा रहेको सडकको अवस्था त यस्तो छ,’ उनले भनिन्, ‘मुलुकको अन्य भागको अवस्था के होला?’ यस क्षेत्रमा भएको सडकको दुरवस्थाको विषयमा संसद्मा समेत आवाज उठेको छ। तर यसको कार्यान्वयनमा अझै तीव्रता आउन सकेको छैन। काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सडकको विषयमा पटकपटक चासो देखाए पनि काम हुन सकेको छैन।

चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन। जसका कारण यो बाटो भएर यात्रा गर्ने बिरामी तथा बालबालिकाले सास्ती खेप्नुपरेको छ।

काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापा सडकमा राजनीति भएका कारण निर्माण कार्यमा ढिलाइ भएको स्विकार्छन्। महानगरको केन्द्रीयस्तरको बजेटबाट १०५ मिटर लामो ढलान गर्न खोजिए पनि विभिन्न क्षेत्रबाट अवरोध भएको उनले सुनाए।

‘कोही डाउन गरेर ढलान गर भन्छन्, कोही उठाएर ढलान गर्न सुझाउँछन्,’ उनले भने, ‘सडक पेलेर घर कम्पाउन्ड लगाउनेको अवरोध उस्तै हुन्छ।’ यीबाहेक नेपाल विद्युत् प्राधिकरणको भूमिगत तार बिछ्याउने कार्यले पनि काममा समस्या परेको उनले सुनाए। सुरुमा विद्युत्ले यताबाट नआउने जनाए पनि पछि यतै खाल्डो खन्न आएकाले समस्या भएको उनले सुनाए। ‘हामी सडक सम्याउँछौं, प्राधिकरण खाल्डा खन्न थाल्छ,’ उनले भने, ‘यसकारण पनि हाम्रो काममा निकै ढिलाइ भएको हो।’ प्राधिकरणले १० दिनभित्र काम सक्ने वाचा वडा कार्यलयमा गरेका कारण अब चाँडै नै बाटोले निकास पाउने उनले सुनाए।

प्राधिकरणको भूमिगत तार बिछ्याउने कार्यका कारण यस क्षेत्रका अन्य स्थानमा पनि सडक अवरोध जारी छ। तार बिछ्याउन सडक खन्ने कार्यका कारण सामाखुसी खोला करिडोरमा दैनिक जाम हुँदा यात्रुलाई सकस परेको छ। ‘कुन बेला कहाँ काम भइरहेको हुन्छ केही जानकारी हुन्न,’ न्युरोड आउँदै गरेका विशाल अधिकारीले भने, ‘आधा घन्टाको बाटोमा एक घन्टा जाम परिन्छ।’

चलनचल्तीको सडकखण्डमा हुने निर्माण कार्यमा ढिलाइ गर्न नहुने उनको सुझाव छ। ‘कि विकल्प दिएर खन्नुपर्छ,’ उनले भने, ‘नत्र भत्काउने मात्र हैन, प्राथमिकताका साथ काम पनि गर्नुपर्छ।’ कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणाली लागु नहुँदा समस्या उत्पन्न भएको बताए।

प्राधिकरणको भूमिगत तार बिछ्याउने कार्यका कारण यस क्षेत्रका अन्य स्थानमा पनि सडक अवरोध जारी छ। तार बिछ्याउन सडक खन्ने कार्यका कारण सामाखुसी खोला करिडोरमा दैनिक जाम हुँदा यात्रुलाई सकस परेको छ।

काठमाडौं उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने धारणा राख्दै कान्तिबाट बसुन्धरा निस्कने सडक निर्माणको काम तत्काल सम्पन्न गर्न सरोकारवाला निकायसँग पटकपटक आग्रह गर्दै आएको बताए। ‘काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ,’ पौडेलले भने, ‘सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि नबढाएसम्म एउटा निकायले काम पूरागर्ने, अर्कोले थाल्ने हुँदा सर्वसाधारणले सधैं हैरानी खेपिरहनुपर्छ।’ 

प्रकाशित: ७ जेष्ठ २०८० ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App