१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।

म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई संकलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ। तर, कुण्ड परिसरमा पूर्वाधारको अभाव भएपछि समस्या भएको छ। धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रूपमा रहेको जेल्टुङ गाउँ नजिकै रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटक पुग्ने गरेका छन्। कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छाला सम्बन्धी विभिन्न रोग निको हुने विश्वास गरिएको छ।

चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले बताए।

उनका अनुसार, गत पुसदेखि यता कुण्डमा दुई सय २० जना बढीले नियमित स्नान गरी विभिन्न रोगको उपचार गराएका छन्। बगर र जेल्टुङ गाउँका स्थानीय ४० र अन्य एक सय ८० जनाले कुण्डमा पुगेर स्नान गरी उपचार गराएका हुन्। पछिल्लो समय कुण्डको प्रचारप्रसारले स्नान गरी उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ। पदमार्गबाट म्याग्दी नदी तरेर कुण्डमा जान पुलको अभावले सर्वसाधारणलाई सास्ती भएको छ। उनीहरू जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन्।

कुण्डमा आवतजावत गर्न झोलुङ्गे पुल नहुँदा नदीमाथि अस्थायी साँघु बनाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका सचिव आस्मन पुर्जाले बताए।

पुल निर्माणको लागि पटकपटक विभिन्न निकायमा माग पेश गरेको भए पनि सुनुवाइ नभएको उनको गुनासो छ। ‘पर्यटकको आकर्षणको रूपमा रहेको तातोपानीमा सहज रूपमा आवतजावत गर्ने सुविधा छैन, नियमित रूपमा उपचारका लागि स्नान गर्न आउने बिरामीलाई समेत बसोबासका लागि पूर्वाधार बन्न सकेको छैन’, पुर्जाले भने।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले बताए।

केही वर्षअघि धौलागिरि गाउँपालिकाले पर्यटक र बिरामीको सुविधाका लागि निर्माण गरेको आश्रयस्थल भवनको पूर्वाधार समेत पहिरोले क्षति पुर्‍याएपछि अहिले यस कुण्डमा नियमित रूपमा स्नान गर्ने त्रिपाल टाँगेर बस्ने गरेका छन्। यस कुण्डमा लामो समय स्नान गर्नेबाट प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क लिने गरिएको छ।

उक्त रकमलाई कुण्डको वारपार गर्न हरेक वर्ष साँघु निर्माण गर्ने लगायतका कार्यमा परिचालन गरिंदै आएको छ।

यस कुण्डमा रोग निको हुने विश्वासले मुदी, मुना, ताकम, मराङ, देवीस्थान लगायतका गाउँबाट सर्वसाधरण स्नान गर्न पुग्ने गर्दछन्। सुविधाजनक पूर्वाधार नहुँदा समेत उपचारका लागि आउनेको संख्या बढेपछि यहाँका स्थानीयले पूर्वाधार निर्माणमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्। गाउँपालिका र अन्य निकायमा पटक-पटक कुण्डको संरक्षण तथा पूर्वाधार निर्माण सम्बन्धमा बताए पनि उचित सम्बोधन नभएको स्थानीयवासीको गुनासो छ।

मुदीगाउँदेखि एकदिनको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ। कहालीलाग्दो भिरपहरामा खोपेर निर्माण गरिएको पदमार्ग हुँदै भीरपाखा, खोला, झरना र विभिन्न वन्यजन्तुको अवलोकन गर्दै अन्तिम मानव बस्ती बगर पुग्न सकिन्छ। बगर गाउँदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ। धौलागिरि हिमाल आरोहण गर्ने पर्यटकले तातोपानीमा डुबुल्की मारेर थकान मेटाउने गर्दछन्। कुण्डसँगै रहेको सुन्दर झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ।

गाउँपालिका र अन्य निकायमा पटकपटक कुण्डको संरक्षण तथा पूर्वाधार निर्माण सम्बन्धमा बताए पनि उचित सम्बोधन नभएको स्थानीयवासीको गुनासो छ।

म्याग्दीमा बेनी नगरपालिका-४ सिंगा तातोपानी, धौलागिरि गाउँपालिका-१ गुर्जा तातोपानी, धौलागिरि-४ मुदी बगर तातोपानी, अन्नपूर्ण गाउँपालिका-१ दोवा तातोपानी, अन्नपूर्ण-२ भुरुङ तातोपानी, अन्नपूर्ण-५ पाउद्वार तातोपानी र अन्नपूर्ण-६ रातोपानीमा प्राकृतिक तातोपानीका मूल छन्।

दर्जन बढी स्थानमा तातोपानीका मूल रहे पनि अहिले आठ ठाउँमा व्यवस्थित तातोपानीका कुण्ड बनाएर विभिन्न रोगको उपचार र पर्यटकको थकान मेटाउने कुण्ड सञ्चालनमा छन्। रासस

प्रकाशित: ४ जेष्ठ २०८० ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App