१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्। 

चोरीको आरोपमा समातिएका दिनेश अधिकारीले आफुलाई प्रहरी असई विष्टले आफ्नो पाकेटमा ब्राउन सुगर हालेर आफूमाथि झुटो मुद्दा चलाउन खोजेको बयान दिएपछि विष्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनिएको छ। 

गत शनिबार दिनेशका साथबाट पाँच पुडिया ब्राउन सुगर भेटिएको प्रहरीले बतायो। त्यसपछि दिनेशको सुरुवाती बयानमा असई विष्टले आफुलाई फसाउनका लागि पकेटमा हालिदिएको आरोप लगाए। बयानमा दिनेशले आफ्नो बुवा चन्द्रबहादुर अधिकारीको संलग्नतामा असई विष्टले आफुलाई फसाएको बताए।

 ‘बयानका आधारमा चौकीमा कार्यरत असई विष्टसहित दिनेशका बुवा चन्दबहादुरलाई समेत हिरासतमा राखेर अनुसन्धान भईरहेको छ’, सुर्खेतका प्रहरी प्रमुख (एसपी) योगेन्द्र सिंह थापाले भने, ‘निर्दोष नफस्न र दोषी नउम्कनका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ।’ घटनाको अनुसन्धान भई रहँदा चोरीका धेरै घटनामा संलग्न भएका दिनेशलाई प्रहरी हिरासतमा लामो समय राख्न परिवार (बुवा) चन्द बहादुरको डिजाइनमा प्रहरीको संलग्नता भएको हुनसक्ने अनुमान गरिएको छ। 

दिनेशसंगै उनका बुवा र असई विष्टसँग अनुसन्धानका लागि बयान लिने काम भईरहेको प्रहरीले जनाएको छ।यदि दिनेशलाई फसाउन खोजिएको हो भने ब्राउन सुगर कहाँबाट कसले ल्याएको भन्ने थप अनुसन्धान हुने प्रहरीको भनाई छ। 

सुर्खेतमा ब्राउन सुगरको जालोमा प्रहरी अग्रपंतीमा लागेको छ। तर, पनि ब्राउन सुगरका कारोबारी झन् झन् मौलाएका छन्। वीरेन्द्रनगर आसपासका जंगल, इत्राम खोला आसपास र मान्छे नबस्ने नयाँ ठाँउहरुमा लागू औषध प्रयोगकर्ताहरू छ्यापछ्याप्ती भेटिने गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८० १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App