coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीले बरामद गरेको मल भन्सार प्रमुखले सेटिङमा लगाए तस्करको जिम्मा

गत वैशाख २९ गते शुक्रबार प्रहरीले गोली चलाएर बरामद गरेको मलखाद गौर भन्सारले केही बेरमै पुनः तस्करको जिम्मा लगाएको छ।

भन्सार कार्यालय गौरका प्रमुख वासु नेपाल र नायब सुब्बा रेवती रोक्काले चलखेल गरी तस्करहरूसँग सेटिङ मिलाएर करिब आधा मूल्यमा मल खाद तस्करहरुकै हातमा पुग्ने गरी लिलाम गराएका हुन्।

गौर भन्सार कार्यालयले जेठ १ मा ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटासलाई लिलाम बढाबढ गरिने सूचना जारी गरेको केही समय भित्रै सेटिङमा लिलामी गरेको हो।

हेर्नुहोस् सूचना :

जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बल नेपाल गौरको टोलीले २०,०२,६० मूल्य कायम गरेको मल खाद गौर भन्सारले जेठ १ मै १० लाख रुपैयाँमा चन्द्रपुरका एक व्यवसायीमार्फत तस्करलाई नै जिम्मा लगाएको हो।

अवैध रुपमा भित्रिएको रासायनिक मल गौर भन्सार कार्यालयले व्यवसायीको मिलेमतोमा न्यून दर रेट कायम गरी लिलामी गरेको हो। बजार मूल्यभन्दा करिब आधा मूल्याङ्कन गरी भन्सार प्रमुखले लिलामी प्रक्रिया गरी भन्सार एजेन्टमार्फत तस्करलाई जिम्मा लगाएको स्थानीयको आरोप छ।

रौतहट प्रहरीले गत शुक्रबार साँझ राजपुर नगरपालिका ५ स्थित घरबाट १ हजार ३ सय बोरा मल बरामद गरेको थियो। आइतबार गौर भन्सार कार्यालयमा दाखिला गरिएको मल सोमवार केही बेरमै प्रक्रिया पूरा गरी भन्सार कार्यालयले लिलामी गरेको हो।

सुरक्षाकर्मीले विवादका बीच अवैध चोरी निकासीको सामान बरामद गरी भन्सार दाखिला गर्दा अन्य वस्तुमा समेत न्यून भन्सार दर राखेर लिलाम प्रक्रिया गर्ने गरेकाले प्रहरी हतोत्साहित हुँदै गएको पाइएको छ। अत्यधिक न्यून रकम राखेर भन्सारले मलको लिलामी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौर भन्सार कार्यालयका प्रमुख वासु नेपालले हतारमा लिलामी प्रक्रिया नभएको बताएका छन्। ठाउँको अभाव तथा कम्पाउन्डमा राखिएको मल वर्षाले बिग्रिँदा राजस्वसमेत नउठ्ने भएकोले लिलामी गरिएको नेपाल बताउँछन्। कुनै पनि तस्करसँग साठगाँठ गरी लिलाम नगरेको भन्सार प्रमुख नेपालको स्पष्टीकरण रहेको छ।

सूचना प्रकाशित गरेको केही बेरमै लिलामी गरिएपछि भन्सार प्रमुखको सर्वत्र आलोचना भइरहेको छ। पहिले पनि तस्करसित मिलेर भन्सार राजस्व कम उठेको र गौर भन्सारमा अनियमितता भइरहेको विषयमा भन्सार प्रमुख नेपालले अख्तियारमा स्पष्टीकरण दिइसकेका छन्। भन्सार प्रमुख नेपालबारे अख्तियारले छानबिन गरिरहेकै समयमा नेपालले सूचना निकालेको केही बेरमै आधा मूल्यमा रासायनिक मल तस्करको जिम्मा लगाउँदै लाखौँ रुपैयाँ राजस्व कम गराएको भन्दै सदरमुकाम गौरमा आलोचना भएको छ।

गौर भन्सार कार्यालयका मुद्दा फाँटका नासु रेवती रोक्काले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नगरपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय तथा स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा रासायनिक मलको लिलामी गरिएको जानकारी गराएका छन्।

राजपुरबाट बरामद भएको मल राजपुरकै जय मा दुर्गा इन्टरप्राइजेजले लिलाम स्वीकार गरेको नासु रोक्काले जानकारी दिएका छन्। भन्सार प्रमुखको मिलेमतोमा जहाँको मल त्यहीँ पुगेको आरोप स्थानीयको रहेको छ।

प्रकाशित: १ जेष्ठ २०८० १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App