८ वैशाख २०८१ शनिबार
समाज

जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास

सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरले आइतबार संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ।

मनसुनजन्य विपद् (बाढी र पहिरो) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको सशस्त्र १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद थापाले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी पहिरोबाट हुने सम्भावित क्षति जोगाउन गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित थियो। उनले अभ्यासमूलक अनुशिक्षणमा विपद् पछि सुरक्षाफौजबाट हुने खोजपड्ताल तथा उद्धारका कार्यमा बढी समय दिइएको बताए।

नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको बिपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्यटोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्यटोलीलाई अभ्यास शिक्षणमा राखिएको सप्रनाउ थापाले जानकारी दिए।

प्राय भिरालो जमिन रहको ताप्लेजुङको अधिकांश भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटीय क्षेत्रहरु बाढीको समयमा जोखिममा रहने गरेको जिल्ला विपद् व्यवस्थापन समितिको विपद् जोखिम तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ।

विपद् प्रतिकार्यमा क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताए।

संयुक्त अभ्यासमूलक अनुशिक्षणका क्रममा सशस्त्र प्रहरी बलको हाताभित्र पहिरोको स्वरूप, पहिरो गएपछि परेको जनधनको क्षतिबाट बचाउन गरिने प्रयास, मृतक तथा घाइतेहरूको उद्धार तथा राहत, उपचार प्रणाली, सूचना संकलन तथा अद्यावधिक, समुदाय परिचालन सहितका विषय ‘नाटकीय’ शैलीमा प्रस्तुत गरिएको सप्रनाउ थापाले बताए।

विगतका समयमा बाढी र पहिरोबाट यहाँ ठुलो जनधनको क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएको बेला यस्ता घटना विरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन संयुक्त अभ्यासमूलक अनुशिक्षण प्रभावकारी हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताईन्।

प्रकाशित: ३१ वैशाख २०८० १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App