१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दैलेखमा फैलियो ‘लम्पी स्किन’

लम्पी स्किन रोगले थला परेका पशुचैपाय: तस्बिर / ललित विष्ट

दैलेखको दुल्लू नगरपालिकामा गाई गोरुहरू लम्पी स्किन रोगले बिरामी पर्न थालेका छन्। करिब १५ दिन देखि लम्पी स्किन रोगबाट गाई गोरुहरू थलापर्न थालेका हुन्। ‘गोरुको शरीरमा सुरुमा फोका उठ्यो। त्यसपछि शरीरभरी फैलिया । १०-१५ दिनसम्म गोरु रोगले थलियो । खेतीपाती लगाउने बेलामा गोरु मर्यो।  औषधी उपचार गर्दा पनि निको भएन’ दुल्लू  नगरपालिका –१३ का स्थानीय भीमबहादुर भण्डारीले भने।

आफूले पहिलो पटक यस्तो डरलाग्दो रोग पशुमा देखेको उनले बताए। उनले भने,‘लम्पी स्किन रोग खेतीपातीको बेला सुरु भयो । एउटा गोरु मर्यो। बाँचेका गोरु हिँड्न सक्दैन। बाली कसरी लगाउने।’

सोही वडाका जीवन भण्डारीले गाउँमा लम्पी स्किन रोगले गाई,गोरु भटाभट मर्न थालेको बताए। रोगको सामान्य उपचार गरिए पनि गाईवस्तु बचाउन मुस्किल भइरहेको उनको भनाइ छ। उनले भने ‘गाईगोरु बिरामी देख्दा मन पोल्छ। यो रोगको भ्याक्सिन उपलब्ध छैन। उपचारका लागि प्राविधिक टोली पनि खटिएका छैनन्। बजारबाट ल्याएको मल्हमले काम गरेन। रोगले गर्दा उनको पनि एउटा गोरु मर्यो।’

गाउँमा यो रोग महामारीका रूपमा फैलिँदै गएको उनले बताए। यो रोगले गाईगोरुका साप्रा सुन्निएर ठूलो हुने, घाउँ पाक्ने र किरा परेपछि थप समस्या हुने गरेको भण्डारीले बताए। उक्त रोगले छोइसकेपछि गाईगोरुले राम्रोसँग घास समेत खान सक्दैनन्।

दैलेखको नौमुले गाउँपालिकामा पनि यो रोग माहामारीका रुपमै फैलिएको छ। गाउँपालिकाबाट आएको पशु स्वास्थ्यकर्मीको टोलीले सामान्य उपचार गरेको भएतापनि रोग नियन्त्रणमा नआएको स्थानीयको भनाइ छ।

नौमुले गाउँपालिकाले प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक प्रत्येक वडा वडामा परिचालन गरेको जनाएको छ। स्थानीय रत्नबहादुर बुढाले गाईगोरु एक महिनादेखि उक्त रोगबाट थलिएको बताए। सामान्य घरेलु उपचार बाहेक कुनै उपचार हुन नसकेको उनको भनाइ छ। दैलेख मात्र होइन्,कर्णाली प्रदेशका डोल्पा र मुगु बाहेकका अरू ८ जिल्लामा फैलिएको लम्पी स्किन रोगका कारण अहिले पशुचौपाया धमाधम बिरामी पर्न थालेका छन्। सबै जिल्ला ‘लम्पी स्किन’ रोगको जोखिममा रहेकाले सावधानी अपनाउन समेत अपिल गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। ‘

सबैभन्दा बढी गाईगोरुमा रोगको समस्या देखिएको मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काले बताए। उनका अनुसार रोग देखिएपछि नियन्त्रणको लागि गाउँ तथा नगरपालिका समेत लागिपरेका छन्।

अहिले तीव्र रूपमा फैलिन थालेकाले सचेत हुन अनुरोध गरिएको छ। रोग लागेका पशुचौपायालाई निरोगी पशु चौपायादेखि टाढै राख्नुपर्ने, माखा, लामखुट्टेको टोकाईबाट पशु चौापयालाई जोगाउन समेत सुझाव दिने गरिएको खड्काले बताए।

लम्पी स्किन रोग नियन्त्रणका लागि जेठको पहिलो साता भ्याक्सिन नेपालमा ल्याइँदैछ। उक्त भ्याक्सिन सुरुमा कर्णालीका लागि माग गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले बताए।

उनले भने, ‘अहिलेसम्म रोग नियन्त्रणका लागि अन्य उपाय मात्रै अपनाइएको छ। आउँदो आइतबारसम्म नेपालमा भ्याक्सिन आउन सक्छ। हामीले सुरुमा कर्णालीमा माग गरेका छौँ। जोर्डनबाट भ्याक्सिन ल्याइनेछ।’

प्रकाशित: ३० वैशाख २०८० ०६:३६ शनिबार

दैलेखमा फैलियो ‘लम्पी स्किन’