८ वैशाख २०८१ शनिबार
समाज

नेटवर्क खोज्दै सडक र जंगलतिर

नेटवर्क टिप्ने ठाउँमा काठको खम्बामा झोलुंगो बनाएर मोबाइल राख्दै स्थानीय शिक्षिका तारा मन्नी। तस्बिर: पुष्पराज/नागरिक

मालिका आधारभूत विद्यालय ल-२, नावलीकी शिक्षिका सिर्जना जोशीलाई मसुरियास्थित घरमा फोन सम्पर्क नभएको हप्ता दिन भयो। उनी शिक्षक सेवा आयोगबाट पास भएपछि पदस्थापन भई विद्यालयमा आएकै दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन छिन्। उनी मात्रै हैनन्, नावली लगायत १२ गाउँका सेवाग्राही वर्षौंदेखि आफन्तको नियमित सम्पर्कमा छैनन्।

‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने, ‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ।’ हातमा मोबाइल फोन लिएर नेटवर्क खोज्दै जाँदा जहाँ नेटवर्क भेटियो, त्यहीँबाट फोन गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए। ‘वर्षा नभएका बेला त ठिकै हो,’ उनले भने, ‘यदि वर्षा भएका बेला आफन्तसँग फोन सम्पर्क गर्नुपरे नेटवर्क खोज्न भिज्दै जंगलै जंगल चहार्नुपर्छ।’

मालिका आधारभूत विद्यालय ल-२, नावलीकी शिक्षिका सिर्जना जोशीलाई मसुरियास्थित घरमा फोन सम्पर्क नभएको हप्ता दिन भयो।

आफन्तसँग मात्रै नभई कारोबारका कुरा गर्न तथा व्यापार व्यवसायीलाई मोबाइलमा सम्पर्क गर्न समेत कठिनाइ पर्ने गरेको छ। बडिखर्कमा व्यापार सञ्चालन गरेका गणेश बमका अनुसार आफ्नो कारोबारका बारेमा गाउँमा फोन गर्न खोज्दा मोबाइलमा सम्पर्क नै हुँदैन। ‘सबैको हातमा मोबाइल फोन भए पनि नेटवर्क नहुँदा पहिलेकै झैँ गाउँमा खबर पठाउनु पर्ने अवस्था रहेको छ,’ उनले भने, ‘नभए आफैं गाउँमै पुगेर मान्छे खोज्नुपर्ने अवस्था यथावतै छ।’

आफन्तसँग परिवारका सबै सदस्य बसेर सुखदुःखका कुरा गर्नुपरे पनि नेटवर्क खोज्दै सबैले जंगलै जानुपर्ने बाध्यता रहेको नावलीका स्थानीय उमेश सुनाखरी मगरले बताए।

उनले भने, ‘यहाँ घरघरमा मोबाइल छन् तर घरमा नेटवर्क नै टिप्दैन। मोबाइल बोकेर जंगल धाउनुपर्छ।’

गाउँमा नेटवर्कले काम नगर्दा रातबिरात बिरामी पर्दा गुहार माग्नै नसकिने अवस्था आएको उनले सुनाए। ‘मोबाइल हुन्छ तर राति समस्या पर्दा घरभित्र नेटवर्क नै आउँदैन,’ उनले भने, ‘जसले गर्दा समस्या परेको छ।’

नेटवर्क खोज्न जंगल जाँदा जंगली जनावरको आक्रमणमा पर्नसक्ने र सर्प तथा विषालु सर्प, बिच्छी तथा किराको डर हुने गरेको उनले बताए। ‘मोबाइलमा नेटवर्क खोज्दै जंगल जाँदा विषालु सर्प तथ किराको डर पनि उस्तै छ,’ उनले भने।

आफन्तसँग परिवारका सबै सदस्य बसेर सुखदुःखका कुरा गर्नुपरे पनि नेटवर्क खोज्दै सबैले जंगलै जानुपर्ने बाध्यता रहेको नावलीका स्थानीय उमेश सुनाखरी मगरले बताए।

एक वर्षअगाडि नेपाल टेलिकमले पण्डौन नजिकैको बजाडी लेकमा टावर स्थापना गरेर सञ्चालनमा ल्याएको थियो। टेलिकमको टावल सञ्चालन भए पनि मोहन्याल गाउँपालिकाको सदरमुकाम रहेको खिमडीमा समेत नेटवर्कले कामै गर्दैन।

उक्त टावरले आसपासका गाउँहरू खिमडी, पट्रेनी, शान्तिपुर, ओखलढुङ्गा, कोल्तडी, देवरा, गाँजरी, नावली, चिलिमचौर, गजाडी, खटेउडा र सिरुवारीमा काम गर्दैन। धेरै कसरतपछि नेपाल टेलिकमले टावर खडा गरे पनि यहाँका आधा दर्जन बढी गाउँहरू अहिले पनि नेपाल टेलिकमको सम्पर्क बाहिर रहेको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए।

एक वर्षअगाडि नेपाल टेलिकमले पण्डौन नजिकैको बजाडी लेकमा टावर स्थापना गरेर सञ्चालनमा ल्याएको थियो।

उनले भने, ‘मोहन्याल गाउँपालिकाको सदरमुकाम रहेको खिमडीमै त टेलिकमको नेटवर्कले काम गर्दैन भने अन्य गाउँको अवस्था कस्तो होला?’ आफूहरूले पटक पटक नेपाल टेलिकमलाई गुणस्तरीय नेटवर्कको व्यवस्था गरिदिन भन्दै पत्राचार गरे पनि सुनुवाई नभएको उनले बताए। 

प्रकाशित: २८ वैशाख २०८० ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App