७ वैशाख २०८१ शुक्रबार
समाज

विदेश जाने आशमा भौँतारिदै युवा

दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भाैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा काम पाए जुन देश जान पनि तयार छन्।  

‘नेपालमै केही गरौं भनेर तरकारी खेती तथा व्यापार व्यवसाय सुरु गरें तर व्यवसाय खासै उकास्न सकिनँ,’उनी भन्छन्, ‘ऋण झन् बढ्दै गयो, व्यवहार बिग्रियो। अन्त्यमा परदेश नगई सुख पाएला जस्तो छैन्।’

विदेशमा दश वर्ष काम गरेर फर्किएको अनुभवले स्वदेशमै केही गरौं भनेर प्रयास गरियो तर जता पनि बिचौलियाको चलखेलमा रुमलिनु परेको गुनासो उनले गरे। विदेशमा दुःख गरेको पैसाले घरपरिपारलाई रेखदेख गरी घरजग्गा जोड्नसमेत सफल भएको उनले बताए। ‘९ महिनाको छोरी छोडेर परदेशिने मन त कसलाई हुन्छ र? छोरीलाई पढाउनु पर्यो। घर चलाउनु पर्यो, महँगी धेरै छ,’ सुवेदीको गुनासो छ।

चापागाउँका २१ वर्षे सुमित श्रेष्ठको व्यथा त्यस्तै छ। उनी पनि परिवारको आर्थिक अवस्था उकास्न बिदेसिने धुनमा छन्। स्वदेशको सानोतिनो कामले घरखर्च चल्न मुस्किल भएपछि श्रेष्ठको पहिलो प्राथमिकता वैदेशिक रोजगारी हुन पुगेको छ।  

‘कोरोनाले गर्दा ३८ वर्षे बुबा बित्नु भयो, दुई दाजुभाइमा भाइ सानै छ। भाइ र आमाको लालनपालन, भाइको शिक्षादीक्षाको जिम्मेवारी ममाथि छ,’उनले भने, ‘आमाको पढाइलेखाई नहुँदा भने जस्तो जागिर नमिल्ने, आफूले १२ कक्षासम्म पढियो तर जागिर नपाइने, यदि पाइहालियो भने पनि १०-१५ हजार तलब हुने जागिर पाइने, हातमा कुनै सिप नभएपछि विदेश गएर पनि के गर्नु?,’ सामाजिक परिवेशले पनि आफूलाई विदेशिन बाध्य बनाएको बताउँदै श्रेष्ठ भन्छन्, ‘घरको मुली बुबा बितेपछि समाजमा पनि हेला भइँदोरहेछ। यस्तो समाजमा बस्नु भन्दा विदेश गएर कमाउनु नै उत्तम विकल्प ठानें।’ ओखलढुंगाकै नवीन बुढाथोकीको पीडा पनि उस्तै छ। मास्टरसम्मको पढाइ सकेको भए पनि नेपालमा रोजगारी कम छ। कामको सम्मान छैन। उब्जाएको खेतीको राम्रो बजार व्यवस्थापन छैन। परिवारको खुसीको लागि, परिवारका रहर पूरा गर्न र आफ्ना सपना पूरा गर्न परदेसिँदै गरेको उनी बताउँछन्।

पछिल्लो समय घनश्याम, सुमित र नवीन जस्ता युवा बाध्यताका कारण बिदेसिने क्रम बढ्दै गएको छ। १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास भइरहेको छ। स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइ कमै मात्रामा पाइन्छ। स्वदेशमा रोजगारीको अवसर न्यून रहेको, बढ्दो महँगीले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको छ। वैदेशिक रोजगारीमा गएका लाखौँ युवाले विदेशमा कमाएको पैसाले आफ्नो घर व्यवहार मात्र चलाएका छैनन्, स्वदेशलाई ठूलो आर्थिक टेवा पुर्याउँदै आएका छन्।  

नेपालमा वैदेशिक रोजगारमा जाने र आउने यिनै नेपालीले आर्जन गरेको रेमिट्यान्सले गर्दा नेपालको आर्थिक स्थितिलाई सहज बनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले अनेक समस्या झेलिरहेका छन्। धेरै नेपाली श्रमिक कम ज्यालामा खट्न बाध्य छन्। सामाजिक सुरक्षाको अभाव छ। काम गर्ने अवस्था नाजुक छ। मानवअधिकार हनन् हुनु सामान्य भएको छ। सामाजिक बहिस्कार, अनियमित बसाइसराइ, महिला तथा बालबालिकाहरूमा शोषण, बेचबिखन, स्वास्थ्य तथा औषधिको अभाव जस्ता समस्या आम नेपाली श्रमिकले भोग्नु परेको अवस्था छ।  

वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशत भन्दा बढी अदक्ष रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। यसरी अदक्ष जनशक्ति बिदेसिँदा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको छ। हातमा कुनै सिप नलिई जाने जनशक्तिले नराम्रो, कठिन र जोखिमपूर्ण काम गर्न बाध्य हुनुपरेको जानकारी भूसालले दिए।  

यसरी बिदेसिने क्रममा शहरको भन्दा ग्रामीण भेगका युवाहरू बढी रहेको विभागका सूचना अधिकारी भुसालले बताए। प्रायः १८ वर्ष देखि ४५ वर्षसम्मका युवाले वैदेशिक रोजगारलाई पछ्याएको विभागका अधिकारीहरू बताउँछन्। यसको मुख्य कारण देशमा रहेको बेरोजगारी र गरिबी हो। नेपाल सरकारले दुबई, कतार, साउदी, मलेसिया, इजिप्ट, फ्रान्स लगायत विश्वका २ सय मुलुकहरूमा वैदेशिक रोजगारीको लागि खुला गरेको छ। ती मध्ये १ सय ७८ वटा देशमा व्यक्तिगत प्रयासमार्फत जाने गरिएको छ। त्यस्तै १ सय ११ वटा देशमा संस्थागत रूपमा विदेश जान खुला गरिएको जानकारी भुसालले दिए। सरकारले प्रमुख श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा नेपाली कामदारले विदेशमा अनेकौं समस्या झेल्दै आएका छन्।  

हाल नेपाली युवा करिब दिनको ३ हजारको संख्यामा विदेशतिर रोजगारका लागि जाने गरेको पाइन्छ। नेपालीहरू बिदेसिने कारण नेपालको राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी र आर्थिक संकट नै हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०४६ माघ ७ गतेदेखि २०७९ चैत ३० गतेसम्म श्रम स्वीकृति लिएर विभिन्न मुलुक जानेको संख्या ७९ लाख ५७ हजार ८ सय २७ जना पुगेको छ। त्यसमध्ये ७५ लाख ५२ हजार ७१ जना पुरुष र ४ लाख ५ हजार ७ सय ५६ जना महिला श्रम स्वीकृति लिएर विदेसिएका थिए। २०४६ माघ ७ गतेदेखि २०७९ चैत ३० गतेसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली (२२ लाख १५ हजार ९ सय १ जना) कतार गएका छन्।

त्यस्तै मलेसिया जाने नेपालीहरूको संख्या १८ लाख ७६ हजार २ सय २९ र १७ लाख ७१ हजार ५ सय ५८ जना नेपाली युवा साउदी अरब पुगेको देखिन्छ। त्यसैगरी १२ लाख ९३ हजार ६ सय ५१ जना दुवई, ३ लाख २ हजार २ सय १७ कुबेत, १ लाख ५ हजार ३ सय ३० जना बहराइन लगायतका देशमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर नेपालीहरू बिदेसिएका छन्। 

प्रकाशित: २७ वैशाख २०८० ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App