काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा न्यून विद्यार्थी भएका विषय गाभ्ने भएको छ। नयाँ शैक्षिक सत्रदेखि १० भन्दा कम विद्यार्थी भएका विषय गाभेर केन्द्रीकृत गरी एक–एक कलेजमा पढाउने निर्णय विश्वविद्यालयले गरेको हो।
मानविकी संकाय डिन शिवप्रसाद भुसालले विश्वविद्यालयमा मानविकी संकायका धेरै विषयमा विद्यार्थी संख्या घट्दै गएपछि विषय र सिफ्ट गाभ्ने निर्णय गरेको जानकारी दिए।
नयाँ शैक्षिक सत्रदेखि १० भन्दा कम विद्यार्थी भएका विषय गाभेर केन्द्रीकृत गरी एक–एक कलेजमा पढाउने निर्णय विश्वविद्यालयले गरेको हो
विश्वविद्यालयको मानविकी संकायअन्तर्गत धेरै विषयको आकर्षण घटेर विद्यार्थी भर्ना नै नहुने विषय छन्। तर शिक्षक भने नपढाएर महिनावारी तलब थापिरहेका छन्। कतिपय प्राध्यापक आफ्ना निजी कलेज सञ्चालन गरी विश्वविद्यालयको लोगो बेचिरहेका विश्वविद्यालयका कार्यरत प्राध्यापक नै गुनासो गर्छन्।
न्यून विद्यार्थी भएका विषयका शिक्षकलाई व्यवस्थापनको आधार तयार नगरी विषय र सिफ्ट गाभ्ने निर्णय व्यावहारिक नभएको आरोप प्राध्यापकहरूको छ।
'विश्वविद्यालयले अध्ययन अनुसन्धान गरेरै न्यून विषय र सिफ्ट गाभ्ने निर्णय गरेको हो,' भुसालले नागरिकसँग भने, 'उपत्यकामा १० भन्दा बढी विद्यार्थी भएको विषय अध्ययन गराउने कलेजमा सोही विषयमा कम विद्यार्थी भएको अन्य कलेजको विषय गाभ्ने तयारी गरिएको छ।' उनका अनुसार तर कम विद्यार्थी भएका विषय शिक्षकलाई भने हालका लागि यथावत् राखिनेछ।
उपत्यकाबाहिर एउटै कलेजमा एउटा विषय बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा अध्ययन गराइनेछ। त्यही भएर उपत्यकाबाहिर भने सिफ्ट समायोजनको नीति लिएको उनले स्पष्ट पारे।
शिक्षक व्यवस्थापनको समस्या यथावत् राखेर त्रिविले विषय र सिफ्ट समायोजनको निर्णय गरेको त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बढबढियाले आरोप लगाए। विश्वविद्यालयले सरोेकारावाला प्राध्यापकसँग छलफलै नगरी एकलौटी रूपमा गरेको निर्णय कार्यान्वयन गर्न नदिने चेतावनी उनले दिएका छन्। संघले त्रिविका उपकुलपति तीर्थ खनियाँलाई भेटेर विषय र सिफ्ट गाभ्ने निर्णय खारेजीको मागसहित ज्ञापनपत्र बुझाइसकेको छ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत भूगोल विषयमा स्नातकोत्तर पढ्न यस वर्ष विद्यार्थी भर्ना भएनन्। कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा १५ शिक्षक कार्यरत छन्। यो विषयको स्नातकोत्तर तह पहिलो सेमेस्टर शून्यमै चलिरहेको छ। साथै आंगिक कलेजमा पनि विद्यार्थी ज्यादै कम छन्।
कीर्तिपुरस्थित इतिहास केन्द्रीय विभागमा पनि विद्यार्थी नगण्य छन्। यो विषयमा एक विद्यार्थी र १२ शिक्षक छन्।
मानविकी र शिक्षाशास्त्र संकायले विश्वबजारको मागअनुसार विषय तथा पाठ्यक्रम परिमार्जन गर्न नसकेकै कारण भूगोल र इतिहासमा मात्र होइन स्नातकोत्तर तह पढाइ हुने अन्य विषयमा पनि विद्यार्थी घटिरहेका छन्।
मुलुकको जेठो विश्वविद्यालयलाई एकातिर सरकारले उत्कृष्ट बनाउने घोषणा गरिरहेको छ भने अर्कोतर्फ विश्वविद्यालयका थुप्रै विषयमा स्नातकोत्तर तहमा विद्यार्थी नहुँदा विभाग नै बन्द गर्नुपर्ने अवस्था आएको छ।
मानविकी संकायका पूर्वडिन चिन्तामणि पोखरेलले उपलब्ध गराएको तथ्यांकअनुसार हाल यो संकायमा विभिन्न ३८ वटा विषय पठनपाठन हुन्छ। धेरै विषयमा विद्यार्थी संख्या घट्दो छ भने शिक्षक धेरै छन्।
इतिहास विभागमा एक विद्यार्थी र १२ शिक्षक, भूगोलमा शून्य विद्यार्थी र १५ शिक्षक, हिन्दीमा सात विद्यार्थी र आठ शिक्षक, संस्कृतमा आठ विद्यार्थी र आठ शिक्षक, बुद्धिजममा ६ विद्यार्थी र आठ शिक्षक, भाषाविज्ञानमा आठ विद्यार्थी र ६ शिक्षक, संस्कृतिमा २० विद्यार्थी र १५ शिक्षक छन्। अर्थशास्त्रमा समेत विद्यार्थी घटेका छन्। विश्वविद्यालयमा सञ्चालित विषयको पाठ्यक्रमलाई राज्यको नीतिसँग जोड्न नसकेका कारण विद्यार्थीमा यी विषयप्रति आकर्षण कम भइरहेको पोखरेलको विश्लेषण छ।
'विश्वविद्यालयले थोरै विद्यार्थी भएको विषय एक कलेजमा गाभ्ने निर्णय हामी शिक्षकलाई कुनै जानकारी नै नदिई आयो,' सभापति बडबडियाले भने, 'शिक्षक व्यवस्थापनको वैकल्पिक बाटो नखोजी त्रिवि पदाधिकारीले सनकको भरमा ल्याएको विषय समायोजन स्वीकारिँदैन।'
विश्वविद्यालयका प्रवक्ता भोला ढकालले विश्वविद्यालयमा स्नातकोत्तर तहमा धेरै विषयमा विद्यार्थी घट्दै गएपछि विद्यार्थी किन घट्दै गएकोबारे विश्वविद्यालयले अध्ययन नगरेको बताए। उनले हाल विश्वविद्यालयमा अध्ययनअध्यापन गराइने विषय कार्यकर्ता पोस्ने विषयमात्र बन्दै गएको देखिएको बताए।
विश्वविद्यालय अनुदान अयोग स्थापना भएको २२ वर्ष भइसक्यो। तर आयोगले विश्वविद्यालयको व्यवस्थापकीय सुधारको काम गरेकै छैन। विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति खपतको नीति नभएका कारण पनि धेरै विषयमा विद्यार्थी घट्दै गएको प्रवक्ता ढकाल बताउँछन्।
'विश्वविद्यालय सम्बन्धन दिने र कार्यकर्ता पोस्ने केन्द्र मात्र बन्न गयो,' प्रवक्ता ढकालले नागरिकसँग भने, 'राज्यको माग र आवश्यकता के हो? नयाँ विषय के पढाउने? उत्पादित जनशक्ति कहाँ खपत गर्ने? खोइ सरकारी नीति?'
प्रकाशित: ४ फाल्गुन २०७३ ०४:०३ बुधबार