७ वैशाख २०८१ शुक्रबार
समाज

महागढीमाईमा अधिकृतको माग गर्दै सरकारविरुद्ध प्रदर्शन

महागढीमाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूले बरियारपुरमा शुक्रवार र शनिबार सङ्घीय सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

चार/चार महिना देखि महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज नै ठप्प भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गर्दै उनीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नसकिएको भन्दै प्रदर्शनमा सहभागी भएकाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा माग गर्दै प्रधानमन्त्री प्रचण्डको पुतला समेत दोहन गरेका छन्।

सयौँको सङ्ख्यामा रहेका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनु पर्ने भन्दै नाराबाजी गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जना कर्मचारीले चार महिनादेखि तलब नपाएकोले र चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको भन्दै जनप्रतिनिधि, कर्मचारी देखि स्थानीयहरूले बाध्य भएर शुक्रबार देखि सङ्घीय सरकारको विरोधमा प्रदर्शनमा उत्रनु परेको प्रमुख यादवले बताए।

प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुने अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ। अहिलेसम्म पाँच प्रतिशत मात्रै योजना सम्झौता भएको र ९५ प्रतिशत योजना सम्झौता गर्न बाँकी नै रहेको बताइएको छ।

पूर्वाधार निर्माणका ठुला योजनाहरू अब दुई महिनामा सम्पन्न गर्न मात्रै समय रहेको छ। चार/चार महिनासम्म हाकिम नभएको कारण १८ करोडको अस्पतालको टेण्डर रद्द गर्नु परेको प्रमुख यादवले गुनासो गरे।

प्रचण्ड नेतृत्वको सरकारले स्थानीय सरकारलाई सहयोग गर्नु भन्दै कर्मचारीहरूलाई नपठाएर असहयोग गरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत पठाउनको लागि आफै १५–२० चोटि मन्त्रालयमा पुगे पनि कुनै सुनुवाई नगरेकाे उनकाे गुनासाे थियाे।

एक वर्ष पहिला भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट महागढीमाई नगरपालिका प्रमुखमा निर्वाचित नगरप्रमुख यादव वैशाख १० मा बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खटिएका थिए।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको भन्दै पाँच दलीय गठबन्धनका सङ्घीय र प्रदेश सरकारका मन्त्री र नेताहरूलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा महागढीमाई नगरप्रमुख उपेन्द्र यादवले स्ट्याटस लेखेर जानकारी गराएका थिए।

प्रधानमन्त्री सहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि नगर क्षेत्रमा प्रवेशमा निषेध गरिएको नगर प्रमुख यादवले बताए।

प्रकाशित: २३ वैशाख २०८० ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App