coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हाजिरी गरेको एक घण्टामै सरुवा

सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्। यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए। नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे। स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पर्‍यो। उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो। ‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो। किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ।’

हरिपुर्बा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन्। ‘संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ। तैपनि एक घण्टामै सरुवा भयो,’ मेयर साहले भने, ‘काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो। प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन।’

आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए। संघीय मामिला मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराईले विविध कारणवश कोही कर्मचारीको जिम्मेवारी चाँडो फेरबदल गर्नुपर्ने बताए। ‘यसमा धेरै कारणहरू जोडिएका हुन्छन्,’ उनले भने।

सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्।

संघीय मामिला मन्त्रालयपरिसरमा अहिले दिनहुँजसो विभिन्न पार्टीका नेता, मेयर, उपमेयर तथा कर्मचारीको भिड लाग्ने गरेको छ। तीमध्ये कोही स्थानीय तहले हाजिरी नगरी फर्काएका कर्मचारी छन् भने कोही सहरी क्षेत्रका स्थानीय तहमा जान मन्त्रालय पुग्ने गर्छन्। मेयर/उपमेयर भने आफूअनुकूल प्रमुख प्रशासकीय अधिकृत माग्न मन्त्रालय धाउने गर्छन्।

सहसचिव भट्टराईका अनुसार मन्त्रालय परिसरमा अहिले पनि केन्द्रबाट गएका १५ भन्दा बढी स्थानीय तहबाट पर्काएका कर्मचारी छन्। ‘फर्काएका कर्मचारीलाई खटाएकै ठाउँमा हाजिरी गर्न हामीले ताकेता गरिरहेका छौ,’ भट्टराईले भने, ‘हामीले पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिरी गराउनैपर्छ।’

मन्त्रालय स्रोतका अनुसार केही मेयर/उपमेयरले केन्द्रले पठाएका कर्मचारीलाई फिर्ता गरेर स्वास्थ्य तथा शिक्षा समूहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका छन्। केही ठाउँमा अहेब, केही ठाउँमा जेटिए निमित्त प्रमुख प्रशासकीय अधिकृत भई काम चलाइरहेका छन्,’ मन्त्रालयका एक उपसचिवले भने।

संघीय मामिला मन्त्रालयपरिसरमा अहिले दिनहुँजसो विभिन्न पार्टीका नेता, मेयर, उपमेयर तथा कर्मचारीको भिड लाग्ने गरेको छ।

मन्त्रालयमा आफूनिकट कर्मचारीलाई आकर्षक मानिने कार्यालयमा लग्न विभिन्न पार्टीसँग नजिक कर्मचारी संघसंगठनका कर्मचारी नेता तथा राजनीतिक दलका प्रतिनिधि मन्त्रालयमा भिड लाग्ने गरेका छन्।

यसैगरी कोही आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्न, कोही कार्यरत कर्मचारीलाई थमौती गर्न मन्त्रालय धाउने गर्छन्। मन्त्रालयका एक उपसचिव भन्छन्, ‘स्थानीय तहमा नयाँ नेतृत्व आएको छ। कोही आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेर्न त कोही अहिले काम गरिरहेका कर्मचारीलाई थमौती गर्न मन्त्रालयका माथिल्लो तहका कर्मचारीलाई विभिन्न किसिमबाट दबाब दिने गरेका छन्।’ मन्त्रालयले विना मापदण्ड र विना कार्यविधि कर्मचारीको धमाधम सरुवा गरिरहेको छ।

संघीय निजामती सेवा ऐन नआएकाले कर्मचारी सरुवामा मापदण्ड निर्माण गर्न नसकिएको मन्त्रालयका उच्च कर्मचारी स्वीकार गर्छन्। मन्त्रालयकै अर्का एक उच्च कर्मचारीले सरुवासम्बन्धी निर्देशिका र मापदण्ड नहुँदा पहुँचका आधारमा कर्मचारीहरूको सरुवा भइरहेको स्विकार गरे। ती कर्मचारीका अनुसार पहँुचवाला कर्मचारीको हकमा टिपेक्स लगाउँदै सरुवा सूची फेरबदल गर्ने गरिएको छ।

मन्त्रालय स्रोतका अनुसार शाखा अधिकृतसरहका कर्मचारीका लागि प्रमुख प्रशासकीय अधिकृत सबैभन्दा आकर्षक पद हो। किनभने शाखा अधिकृतसरहको कर्मचारी स्थानीय तहमा गयो भने त्यहाँ उसले ‘हाकिम’ हुने मौका पाउँछ। नगरपालिकामै गए पनि निमित्त भई प्रशासन चलाउन पाउँछ। तर सहसचिव सरहका कर्मचारीका लागि प्रमुख प्रशासकीय अधिकृत पद आकर्षक होइन। सहसचिवसरहका कर्मचारी स्थानीय तहमा सकेसम्म जान चाहन्नन्। गए पनि थोरै समय काम गरेर अर्को कार्यालयमा सरुवा मिलाउँछन्। यसैगरी उपसचिवसरहका कर्मचारीका लागि पनि प्रमुख प्रशासकीय पद त्यति आकर्षक पद होइन। तर सुगम ठाउँका स्थानीय तहमा भने उपसचिवसरहका कर्मचारी सरुवा हुन चाहन्छन्।

मन्त्रालयमा आफूनिकट कर्मचारीलाई आकर्षक मानिने कार्यालयमा लग्न विभिन्न पार्टीसँग नजिक कर्मचारी संघसंगठनका कर्मचारी नेता तथा राजनीतिक दलका प्रतिनिधि मन्त्रालयमा भिड लाग्ने गरेका छन्।

उपमहानगर र महानगरपालिकामा सहसचिवसरह, नगरपालिकामा उपसचिवसरह तथा गाउँपालिकामा शाखा अधिकृतसरहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने कानुनी व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार मातहत रहने व्यवस्था छ। त्यसैले पालिकाका प्रमुखले चाहेर पनि आफ्नो ठाउँमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्न सक्दैनन्। त्यसैले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्न या थमौती गर्न मन्त्रालयमा दिनहुँजसो डेलिगेसन लिएरै जाने गर्छन्।

मन्त्रालयका अनुसार प्रमुख प्रशासकीय अधिकृतहरूको सामान्यतया एकएक वर्षमा सरुवा गर्ने गरिएको छ। सामान्यतः साउन, भदौ र असोज कर्मचारी सरुवाको मौसम हो। तर प्रमुख प्रशासकीय अधिकृतको सरुवाको हकमा भने बाह्रै महिना नयाँनयाँ सूची बन्ने गरेको छ। खासगरी आकर्षक कार्यालयमा कर्मचारीको सरुवा सूची मन्त्रालयबाहिर बन्ने गरेको आरोप लाग्ने गरेको छ।

प्रकाशित: २२ वैशाख २०८० २३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App