coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहट र सर्लाही भएर तस्करीको संजाल फस्टाउँदै

गत वैशाख १६ गते उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ रौतहटको चन्द्रनिगाहपुरमा आउँदा बौद्धिमाई नगरपालिकाको लागि नगर प्रमुख प्रत्याशी जयप्रकाश साहले तस्करी बढेको गुनासो गरेका थिए।

साहले गृहमन्त्री श्रेष्ठलाई सशस्त्र प्रहरीले व्यापक तस्करी गराइरहेको र तस्करलाई छुट दिँदै सर्वसाधारणले घरायसी सामान ल्याउँदा दुःख दिने गरेको गुनासो गरेका थिए।

आफू बोर्डरमा बस्ने भएकोले आफूलाई सबै कुरा थाहा भएको बताउँदै साहले तस्करी बन्द हुनुपर्ने आग्रह गरेका थिए।

गृहमन्त्रीसँग सोझै तस्करी बन्द गर्नुपर्ने आग्रह गरिएको रौतहटमा अवैध तस्करीको संजाल फस्टाउँदै गएको देखिएको छ। भारतबाट तस्करी भएर रौतहट आएका सामान विभिन्न ठाउँमा पुग्दा पक्राउ पर्दै जानुले तस्करीको संजाल फस्टाउँदै गएको पुष्टि भएको छ। साहले संकेत गरेको नाका बंकुल, रामपुरखाप र बाराको कचोर्वा हुन्।

बंकुल र रामपुरखापको बीचमा पर्ने वशिष्ठ चौक नाकाबाट खुलेआम तस्करी भइरहेको छ। तस्करहरूले रातभर प्रहरीकै मिलेमतोमा तस्करी गरिरहेका छन् तर विभागलाई रिझाउन दिउँसोको समयमा प्रहरीले दैनिक जीवन यापनका लागि सर्वसाधारणले ल्याउने सामान समात्ने गरेको छ।

गृहमन्त्री रौतहट आएकै दिन रौतहटको बेलबिछवा नाकाको काँटा चौकबाट ३ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको तस्करीको कपडा बरामद भएको थियो। यसै गरी गत वैशाख ७ मा रौतहटबाट तस्करी भएर गएको करिब ८ लाख बराबरको कपडा हेटौँडामा बरामद भएको थियो।

गरुडा नगरपालिका ३ का गोपाल सहनीले भारतको बैरगनियाबाट छोरीको बिहेको लागि १६ हजार रुपैयाँको कपडा किनेर नेपाल ल्याउँदै गर्दा वैशाख २० गते गौर भन्सार राजस्व तिर्न जाँदा सशस्त्र प्रहरीले कपडा समातेर जफत गरेका छन्। सशस्त्र प्रहरीले आफ्नो कपडा भन्सार कार्यालयसम्म पुग्नै नदिई हातबाट थुतेर जफत गरेको सहनीले आरोप लगाएका छन्।

त्यस्तै गढीमाई नगरपालिका ४ पर्साका मुकेन पटेलले भारतको बैरगनियाबाट उपचार गराएर फर्किँदै गर्दा वैशाख २० मा आफूसित ल्याएको एक किलो काजु, बच्चालाई पढाइमा काम लाग्ने कापी तथा पेन्सिल सशस्त्र प्रहरीले जफत गर्न खोजेको थियो। पटेलले भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरीमाथि दबाब दिएपछि करिब एक घण्टापछि सामान फिर्ता गरेको थियो।

गौर भन्सार भएर दिनरात सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा तस्करी भइरहँदा सर्वसाधारणले दुःख पाइएको स्पष्ट देखिएको छ। गत वर्षको तुलनामा गौर भन्सारमा राजस्व निरन्तर कम भएको तथ्यांकले पनि देखाएको छ।

बोर्डर नाकामा तस्करी बढेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले बि।ओ।पी र सीमा प्रहरी चौकी राखेको भएता पनि उनीहरुकै संलग्नतामा तस्करीको सञ्जाल नै निर्माण भएको पाइएको हो।

आफ्नो खेतमा हाल्नको लागि किसानले एक दुई बोरा रासायनिक मल ल्याउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले लखेटेर मल समाती जफत गर्ने गरेका छन् तर रौतहटको बंकुल र बाराको कचोर्वा नाकाबाट दैनिक सयौँले तस्करी गरी गरुडा हुँदै सर्लाहीको बरहथवासम्म पु¥याइरहँदा कैयौँ प्रहरी युनिट मूक दर्शक बन्ने गरेको पाइएको छ। मलको तस्करी सर्लाहीको विभिन्न नाका भएर पनि भइरहेको देखिएको छ। सर्लाहीको फेन्हारा, नदियापकडी, अर्नाहा, मधुवनी, बाराउदोरण, संग्रामपुर, त्रिभुवन नगर नाकाबाट कपडा, स्पेयर पार्टस, खाद्यान्न तथा किराना सामग्री नेपालतिर आइरहेका छन् भने बालुवा, गिटी, फलफूल नेपालबाट भारततिर गइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले सर्लाहीको गडहिया डुमरियाका प्रहरी निरीक्षक दिपेन्द्र यादवलाई करिब दुई घण्टा लामो ब्रिफिङ गर्दै तस्करी नियन्त्रण गर्न चेतावनी दिएका छन्। प्रनि यादवको संरक्षणमा तस्करी भइरहेको गुनासो आएपछि एसपी सुवेदीले चेतावनी दिएका हुन्।

एआइजिको अनुगमन निरीक्षण

मधेश प्रदेशमा नेपाल भारत सीमा क्षेत्रमा भइरहेको तस्करीबारे गुनासो बढेपछि एआइजि मीरा चौधरीले रौतहट र सर्लाहीमा निरीक्षण गरेकी छन् । एआइजि चौधरीको स्थलगत अनुगमन निरीक्षणको समयमा पूरै सतर्क रहेको प्रहरी युनिटहरु भने एआइजि चौधरी फर्किनासाथ पुरानै लयमा देखिएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लाको सुरक्षा निकायका प्रमुखहरुलाई स्पष्ट रुपमा शून्य सहनशीलताको आधारमा तस्करी नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन्। जिल्लाका नाकाहरुलाई आफूले कडाइ गर्न स्पष्ट निर्देशन दिएको प्रजिअ मिश्रले जानकारी गराएका छन्।

सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता गण बर्दिबासका प्रमुख डिआइजी दिपेन्द्र शाहले बोर्डरमा भइरहेको अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन्। बेलाबेलामा आफू पनि छड्केमा निस्कने गरेको र तस्करीमा संलग्न देखिएकालाई कारबाही गर्ने गरेको डिआइजी शाहले बताएका छन्। 

प्रकाशित: २२ वैशाख २०८० ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App