६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

झुटो सूचना उद्योगबाट पत्रकारितालाई खतरा

विश्वका ३१ राष्ट्रमा पत्रकारिताको अवस्था अत्यन्त नराम्रो, ४२ देशमा नराम्रो र ५५ देशमा समस्याग्रस्त रहेको एक अध्ययनले देखाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा रिपोर्टस विथाउट बोर्डर्स (आरएसएफ) ले सार्वजनिक गरेको ‘वल्र्ड प्रेस फ्रिडम इन्डेक्स २०२३’ का अनुसार विश्वका अन्य ५२ देशमा पत्रकारिताको अवस्था ठिकै तवरले चलिरहेको देखिएको छ। प्रतिवेदनमा विश्वका १८० देश र स्वशासित क्षेत्रमा पत्रकारिताको अवस्थाको समीक्षा गरिएको छ। प्रतिवेदनका अनुसार समग्रमा विश्वका १० राष्ट्रमध्ये सातवटामा पत्रकारिताका लागि आवश्यक वातावरण नराम्रो रहेको र १० मध्ये ३ मा सन्तोषजनक रहेको पाइएको छ। पत्रकारिताका लागि अनुकूल अवस्थाका हिसाबले नर्वे लगातार सात वर्ष पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा आयरल्यान्ड र तेस्रोमा डेनमार्क छन्।

पत्रकारिताका लागि सबैभन्दा प्रतिकूल अवस्था रहेको अन्तिम तीन राष्ट्रमा भियतनाम (१७८औं स्थान), चीन (१७९औं स्थान) र उत्तर कोरिया (१८०औं स्थान) छन्। ‘सम्बद्ध सरकारहरूको पत्रकारप्रतिका आक्रामक रवैयाका कारण पत्रकारिताका लागि अस्थिर र कठिन अवस्थाको सिर्जना भएको छ। गलत सूचना उत्पादन र प्रवाहले यसलाई झन् नराम्ररी गिजोलेको छ,’ आरएसएफका महासचिव क्रिस्टोभ डेल्बाएरले भनेका छन्।

सन् २०२३ को प्रतिवेदनमा विशेषगरी डिजिटल इकोसिस्टममा गलत सूचनाको प्रवाह र यसले प्रेस स्वतन्त्रतामा निम्त्याएको संकटबारे चर्चा गरिएको छ। कुल १८० देशमध्ये ११८ मा राजनीतिक नेतहरूले गलत सूचना र प्रोपोगान्डा अभियान सञ्चालन गरेको देखिएको छ। यसैगरी कृत्रिम बौद्धिकताको विकास तथा प्रोपोगान्डा युद्धले पनि पत्रकारिता उद्योगमा थप समस्या निम्त्यिाएको प्रतिवेदनमा उल्लेख छ। क्षेत्रगत हिसाबमा तुलनात्मक रूपमा युरोपमा सहज वातावरण रहे पनि कतिपय युरोपियन राष्ट्रमा पत्रकारिताको अवस्था मिश्रित रहेको छ। यसैगरी अमेरिकी महादेशमा पनि प्रेस स्वतन्त्रताको नक्सामा कुनै पनि देशले हरियो रङ पाएका छैनन्। अफ्रिकाका केही मुलुकले यो सूचकांकमा प्रगति गरे पनि समग्रमा पत्रकारहरूका लागि यो महादेश कष्टकर रहेको छ।

एसिया प्रशान्त क्षेत्रका चुनौती

उत्तर कोरिया, चीन, मियान्मा, अफगानिस्तानलगायत एसिया तथा प्रशान्त क्षेत्रका केही देश पत्रकारका लागि सबैभन्दा प्रतिकूल छन्। तेस्रो कार्यकालका लागि हालै निर्वाचित चीनका राष्ट्रपति सी जिनपिङले पत्रकारितालाई तारो बनाउँदै आएका छन्। पत्रकारहरूलाई जेलमा राख्ने सूचीमा चीन विश्वमा सबैभन्दा अगाडि छ। यसैगरी भारतीय सञ्चारमाध्यममा निश्चित धनी वर्गको आधिपत्य रहेको र यी वर्ग प्रधानमन्त्री नरेन्द्र मोदीनिकट रहेको आरएसएफले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८० ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App