२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दार्चुला हिमपहिरो: उद्धारका लागि सशस्त्रको टोली घटनास्थलतर्फ, खराब मौसमका कारण कठिनाइ

फाइल तस्बिर

दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ। आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ।

यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिए। उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ।

'हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनी मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ', हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भने। अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो। हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए। अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए।

'केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरुले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ', डिएसपी भट्टले भने, 'यार्सागुम्बा सङ्कलक स्थानीय बाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ।' खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए।

सङ्कलक केही दिनअघि यार्सागुम्बा संकलनका लागी लेकतर्फ उक्लिएका ब्याँस–१ का वडाध्यक्ष अशोक बोहराले बताए। 'लगातार हिउँ परिरहेको थियो, संकलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा संकलन गर्न जान सकिरहेका थिएनन', उनले भने।

व्याँसस्थित सितापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

प्रकाशित: १९ वैशाख २०८० १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App