५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दोलखाको भीमेश्वर नगरमा नियमविपरित ८० जना करारका कर्मचारी

जिल्लाको सबैभन्दा ठुलो भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करारका कर्मचारी भर्ना गरेको पाईएको छ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहहरूलाई करारमा कर्मचारी भर्ना नगर्न पटक पटक निर्देशन दिँदै आएपनि नगरमा प्रक्रिया नपुर्‍ याई २०७४ यता ८० जना कर्मचारी करारमा भर्ना गरेको भेटिएको हो।यो नगरका कुल कर्मचारी मध्येको ५३ प्रतिशत हो।

भर्ना गरिएका करारका कर्मचारीमा प्राविधिक, चालक, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, नगर प्रहरी लगायत छन्।नगर कार्यपालिका स्रोतले नागरिकलाई दिएको जानकारी अनुसार करार मध्ये अधिकांश राजनीतिक आडमा एकपक्षीय ढंगले नियुक्ती गरिएकाहरू छन्।ती मध्ये केही ठाडो नियुक्तिमा जोडिएकाहरु समेत छन्।करार कर्मचारी मध्ये सबैभन्दा धेरै प्राविधिक छन्।‘प्राविधिक कर्मचारी आवश्यक भन्दा बढी हुँदा समस्या भएको छ’ एक कर्मचारीले भने।यस्तै सरकारी शिक्षकलाई समेत शक्तीको आडमा काजमा राखेर ती शिक्षकको क्षतिपूर्ति बापत नगरको आन्तरिक कोषबाट वार्षिक ६ लाख रुपैंया उनको दरबन्दी रहेको  विद्यालयलाई दिँदै आइएको छ।   

नगरपालिकामा हाल कुल १ सय ५२ जना कर्मचारी कार्यरत छन्।ती मध्ये स्वास्थ्य तर्फ संघीय सरकारका स्थायी कर्मचारी ३१ जना, कार्यालय प्रमुख सहित स्थायी प्रकृतिका ४१ जना र करारमा भर्ना गरिएका ८० जना कर्मचारी कार्यरत छन्।संघीय सरकारको स्थायी दरबन्दीको तलब संघीय सरकारले र नगर भित्रका प्रमुख प्रशासकीय अधिकृत सहितका स्थायी कर्मचारीको तलब संघीय साथै प्रदेश राजस्व बाँडफाडबाट खुवाईदै आएको छ।करारका ८० जना कर्मचारीको तलब भने नगरको आन्तरिक आम्दानी र परियोजनाबाट खुवाईदै आएको छ।

कानुन बमोजिम प्रक्रिया पुर्‍ याएर सरुवा भई आएका एक अधिकृत स्तरका कर्मचारीलाई हालै कामकाजमा अवरोध पुर्‍ याउन खोजिएपछि कानुन विपरित नगरपालिका कार्यालय भित्र जथाभावी भर्ना गरिएका करारका कर्मचारीहरुको बारे समेत खोजबिन शुरु भएको हो।ती अधिकृत कर्मचारीको सरुवा, नगर भित्रका दरबन्दी बाहेकका स्थायी कर्मचारी र कार्यालय भित्र भर्ना गरिएका करारका कर्मचारीबारे जिल्ला प्रशासनले समेत छानबिन गर्ने तयारी गरिरहेको छ ।

नगरपालिकामा हाल सम्म व्यवस्थित संगठन संरचना तयार छैन्।मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन हुनु अघि संघीय मामला मन्त्रालयले अस्थायी प्रकृतिको संरचना बनाई पटाइदिएको थियो।यस्तै तत्कालीन एक प्रमुख प्रशासकीय अधिकृतले लेखापरिक्षणमा बेरुजु नआओस् भनेर महालेखालाई देखाउन आफैँले नगरपालिकाको संगठन संरचना तयार पारेका थिए।तर प्रक्रियागत रुपमा संगठन संरचना बनाई कार्यपालिका तथा नगर सभाले हाल सम्म पास गरेको छैन्। 

सरकारी निकायमा संगठन संरचना वेभसाईटमा राख्नुपर्ने नियम भए पनि भीमेश्वरको वेभसाईटमा दरबन्दीको सांगठनिक संरचना भेटिदैन्।‘अहिले सम्म स्थायी संगठन संरचना तयार भएको छैन’ नगरका वरिष्ठ लेखा अधिकृत एवं सुचना अधिकारी जगदिश अर्यालले भने – ‘प्रदेशबाट स्थानीय सेवा गठन ऐन भर्खरै पारित भएर आएको छ, अब सोही ऐन बमोजिम नगरको आफ्नो स्रोत, क्षमता र आवश्यकता हेरेर दरबन्दीको संगठन संरचना बनाएर प्रदेश किताब खानामा पटाउँछौँ’।उनले स्थानीय स्वायत्त शासन ऐन र यो ऐन आउने समय बिचमा ठुलो अन्तराल भएकाले समस्या भएका बताए।। 

यस अघि नगरले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत सांगठनिक संरचना बनाएर प्रतिवेदन तयार पारे पनि त्यसलाई हाल सम्म कार्यान्वयन गर्न सकेको छैन्।उक्त प्रतिष्ठानले नगर कार्यपालिकाको कार्यालय भित्र महाशाखाको अवधारणा अनुसार संरचना बनाउन नगरलाई प्रतिवेदन दिएको थियो।

सुचना अधिकारी अर्यालले भने करारमा राखिएका कर्मचारी कानुन अनुसार नै राखिएको दाबी गरे।‘नगरपालिकाले करारमा भर्ना गर्न यस अघि बनाएको ऐन अनुसार भर्ना गरेको हो’उनले भने – ‘करारका कर्मचारी अहिले भर्ख देखी राखिएका हैनन, २०७४ देखिकै छन’।

नगरमा २०७४ सालमा जनसंख्याको आधारमा तत्कालीन जिल्ला विकास समितिबाट समायोजन भएर आएका कर्मचारी र नगरका त्यस अघि कार्यरत कर्मचारी पालिकालाई अपुग हुने भएपछि करारमा कर्मचारी भर्ना गर्न २०७४ मै ऐन बनाएको र जाँच लिएर मात्र सेवा करारमा कर्मचारी भर्ना गरेको उनले दाबी गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सेवा करारमा धेरै कर्मचारी रहेको स्विकार गरे।‘हामीले अहिले भर्ना गरेका हैनौं, उनीहरू पहिल्यै राखिएकाहरू हुन्’ उनले भने।पौडेलले नगरको दरबन्दी संरचना रहेको तर दरबन्दी संरचना भन्दा बढी रहेको स्विकार गरे।‘प्रदेशबाट स्थानीय सेवा गठन तथा सञ्चालन ऐन पास भएर आएको छ’उनले भने – ‘यो नगर सभा र कार्यपालिकाले आफ्नो पालिकाको संगठन तथा व्यवस्थापन परिमार्जन गरेर आफुलाई चाहिने कर्मचारी यति यति हुन भन्ने यकिन गरेर मेरो संरचना यति यति हुनेछ भनेर टुङ्ग्याउने बिषय हो’।उनले करारमा नियुक्ती गरिएका मध्ये ठाडो नियुक्ती रहेकाहरु नरहेको दाबी समेत गरे।

नगरका मेयर ईश्वर नारायण मानन्धरले आफ्ना पालामा करारका कर्मचारी नियुक्त नगरेको र संरचनाबारे नगरले छिट्टै नै आवश्यक निर्णय लिने सुनाए।‘ऐन बनेर आएको छ, यी सबै कुरालाई ब्यबस्थित गर्न नगर सभा र कार्यपालिका मार्फत आवश्यक निर्णय लिन्छौं’  मानन्धरले भने।

प्रकाशित: १९ वैशाख २०८० ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App