८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सडक अतिक्रमण हटाइयो

कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडकअन्तर्गत कपिलवस्तु नगरपालिका– ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ। कोदाहवा चौराहाको सडक क्षेत्रमै घर–टहरा र टंकी भएका कारण दुर्घटना बढ्दै गएपछि सडक अतिक्रमण हटाउन गत वैशाख १४ गते निर्णय गरिएको थियो। नगरपालिकाको जेशिबीले अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको हो।

अतिक्रण हटाउन कपिलवस्तु नगरपालिकाका कर्मचारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, हुलाकी सडक र बाणगंगा सिँचाइ प्रणालीका कर्मचारी जेसिबी लिएर आइतबार बिहान चौराहामा पुगेका थिए। सडक अतिक्रमण गरी बनाइएका पाँच घर–टहरा तथा सरकारी र बाणगंगा सिँचाइ प्रणालीको जग्गामा बनाइएका ७ घर–टहरासमेत हटाइएको नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए।

यसअघि दुईपटक नगरपालिकाले कोदाहवामा रहेको अतिक्रमण खाली गर्न सूचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको थियो। राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कार्यविधि २०७५ को दफा ७ बमोजिम प्रशासन कार्यालयले तौलिहवामा राखेको जिल्लास्तरीय बैठकमा अतिक्रण खाली गराउने निर्णय गरिएको थियो। नगरपालिकाले पटकपटक सूचना जारी गर्ने र खाली गर्न आग्रह गर्दासमेत बेवास्ता गरिएपछि बाध्य भएर यो कदम चाल्नुपरेको मेयर सुदिप पौडेलले बताए। ‘दिनहुँजसो चौराहामा दुर्घटना हुने गथ्र्यो तर अब भने त्यहा दुर्घटनामा कमी ह्ुन्छ’, उनले भने।

अतिक्रण हटाउने कार्यमा कोदाहवा चौराहाबासीले साथ दिएका थिए। वडाध्यक्ष रवीन्द्र तिवारीले आफूले अतिक्रमण खाली गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिएको बताए। सबैको प्रयासले अतिक्रमण खाली भएपछि आफूलाई निकै खुसी लागेको बताए। प्रजिअ शंकरहरि आचार्यले कोदाहवाजस्तै अन्य स्थानको अतिक्रमणसमेत हटाइने बताए। हुलाकी सडकका इन्जिनियर सुशील पौडेलले हुलाकी सडकमा पर्ने अतिक्रमण हटाउने कार्य जारी रहेको बताए।

प्रकाशित: १९ वैशाख २०८० ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App