८ वैशाख २०८१ शनिबार
समाज

यालमाया केन्द्रले गोली लागेको विद्युत्को पोल फिर्ता दिने

तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको (खम्बा) ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेकाे यालमाया केन्द्रले फिर्ता दिने भएको छ।

माओवादी र सेनाबिच २०६० चैत ७ गते बेनी भिडन्तको क्रममा दर्जनौँ गोली लागेको विद्युत्को पोलको संरक्षणका लागि आवश्यक पर्ने पार्क तयार भएपछि फिर्ता दिन तयार रहेको मानव अधिकारकर्मी कनकमणि दीक्षितले मंगलबार प्रतिबद्धता जनाएपछि लामो समयसम्मको प्रयास सफल भएको हो।

केन्द्रका सञ्चालक दिक्षितले युद्धको सन्देश नदिने र शान्तिको कामना गर्ने गरी राख्ने गरी दिने सहमति भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए।

‘पोल ल्याउन आवश्यक सबै सहमति भएको छ, ‘पार्क बनेपछि पोल बेनीमा ल्याइने छ’ प्रमुख थापाले भने। 

बेनी आक्रमणको करिब ४ वर्षपछि गुपचुप गुपचुप ललितपुर लगे पनि अहिलेसम्म जिल्लामा फिर्ता ल्याउने प्रयास सफल भएको थिएन। जिसस प्रमुख थापा, उप-प्रमुख दिलकुमारी खत्री र मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीसँगको भेटमा मानव अधिकारकर्मी दिक्षितले पोलको सुरक्षा र योजनाका बारेमा समेत बुझ्ने प्रयास गरेका थिए।

‘शान्ति पार्कमा राखेर पर्यटन प्रवर्धनमा सघाउने छौ, ‘अब पार्क निर्माणको प्रक्रियालाई समेत अगाडी बढाउनुपर्छ’ प्रमुख थापाले भने।

बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध सङ्ग्रहालय मार्फत आकर्षित गर्ने योजना बेनी नगरपालिकाको छ।

नगर प्रमुख सुरत केसीले पहिलो कार्यपालिकाको बैठकमै पोल फिर्ता ल्याउने पहल गरेका थिए। तत्कालीन माओवादी र राज्य बिच सबैभन्दा ठुलो आक्रमण बेनीमा भएको थियो। बेनी आक्रमणको १९ वर्ष पूरा भएको छ।

जिल्ला समन्वय समितिका बसेको सर्वदलीय, सर्वपक्षीय भेलाबाट डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउने र बेनी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संरचना बनाउने निर्णय भएको थियो।

प्रकाशित: १८ वैशाख २०८० १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App