२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

नेपाली समाजका हिरो सरोज

समाजको आँखाले उनलाई हिरो देखिरहेको छ, पीडितका आँखाले उनलाई भगवान् देखिरहेको छ। बेसहाराका आँखाले उनमा सहारा देख्ने गर्छ। र, उनका आँखाले भने सबै नेपालीलाई आफन्त देख्छ। उनी हुन्, मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका २ विद्यानगरका ५० वर्षीय सरोजकुमार राय।  

मृत्यु त सबैको आउँछ नै, तर पूर्वघोषित मृत्युले जति मानिसलाई अन्य कुनैले पीडा दिँदैन। यस्तो पीडा धनुषाको कमला नगरपालिका– ३ माची झिटकैयाका उमेश यादवका परिवारले गत वर्ष मात्र अनुभूत गरे।

गरिबीबाट छुट्कारा खोज्दै उमेश सन् २००६ मा साउदी अरब लागे। काठमाडौंको सुभाष म्यानपावरले उनलाई लेबरका रूपमा काम गर्न साउदीको ‘बिनलादिन’ कम्पनीमा पठाएको थियो। साउदी अरब पुगेको दुई महिनामै उनीसँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद वाजिरसँग झगडा प¥यो। झगडामा घाइते भएका वाजिरको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो। हत्या आरोपमा उमेश पक्राउ परे।  

उमेशमाथि मुद्दा चल्यो। उनलाई जुबैलको जेलमा राखियो। दोषी पाइएकाले स्थानीय अदालतले उनलाई मृत्युदण्ड सुनायो। त्यसको जानकारी साउदी प्रशासनले साउदी अरबस्थित नेपाली दूतावासमा गरायो। दूतावासले उमेशबारे थप केही जानकारी प्रशासनलाई दिन सकेन। उमेश जेलमा नै रहे।

त्यसको पाँच वर्षपछि साउदी अरबका लागि तत्कालीन नेपाली राजदूत उदयराज पाण्डेले उमेशलाई मृत्युदण्डबाट बचाउन पहल सुरु गरे। पहल झन्डै एक वर्षसम्म चलिरह्यो। त्यही पहलले सन् २०१२ को जनवरीमा पीडित परिवारले ‘ब्लड मनी’ लिएर उमेशलाई मृत्युदण्डबाट जोगाउने सहमति पनि भयो। तर यसबारे पीडित परिवारलाई जानकारी भएन। उनीहरू सम्पर्कमा पुग्न सकेनन्। उमेश जेलमा नै परिरहे।

विस्तारै उमेशको मृत्युदण्डबारेका समाचार नेपालमा फैलिसकेको थियो। ‘घाँटी काटेर झुन्ड्याउने’ जस्ता शीर्षकमा समेत खबरहरू फैलिए। यो खबर सरोजले थाहा पाए। सरोजले २०७४ साल फागुनदेखि ‘उमेश बचाऊ अभियान’ चलाए।

सरोज पीडित परिवारलाई भेट्न पाकिस्तानसम्म पुगे। उमेशको ज्यान बचाउन तीनपटक पाकिस्तान र एकपटक साउदी अरब गएको सरोज बताउँछन्। यस अभिायनमा उनले नेपालस्थित पाकिस्तानी दूतावास, परराष्ट्र मन्त्रालय साउदीका नेपाली राजदूत, पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका नेतालाई पनि भेटे।

सरोज उमेशको ज्यान जोगाउन लागिपर्दा साउदी अरबमा जनरल अदालतले उमेशलाई ‘हरप्पा मुद्दा’ लगाएर फाँसीको सजाय सुनायो। उमेशलाई बचाउन यता सरोज जोडतोडका साथ लागिरहे। सहयोगहरू जुटाउन थाले। साउदी पुगेर नेपाली दूतावासको सहयोग लिए। न्यायाधीशसँग उमेशको पक्ष राखे। मृतक पाकिस्तानी नागरिकको परिवार भेट्न पाकिस्तान पनि पुगे। र, माफीनामा बनाए। सरोज भन्छन्, ‘म तीन पटकसम्म पाकिस्तान पुगें। पाकिस्तानी वकिल लगाएर परिवारलाई मनाएँ। अनि वकिलमार्फत ‘ब्लड मनी’को तीस लाख रुपैयाँ पीडितको परिवारलाई उपलब्ध गराउने सहमति भयो।’

यदि कुनै कारणवश ‘ब्लड मनी’ दिन नसकिए सरोजमाथि समेत मुद्दा लाग्ने गरी कागज गरिएको थियो। ‘पीडित परिवारले मुद्दा दिएर पनि पैसा असुल गर्न सक्ने अवस्थाको कागज तयार गरिएको थियो। पीडित परिवारले पनि माफीबाट पछाडि हट्न नपाउने प्रावधान उल्लेख गरिएको थियो।

अब सरोजको एउटै चिन्ता थियो, ‘३० लाख कसरी जुटाउने ?’ असम्भव लागिरहे पनि उनले हार मानेनन्। पाकिस्तानस्थित नेपाली दूतावास गएर सहमतिसम्बन्धी सबै कागजात बुझाए। साउदीस्थित नेपाली दूतावासले सहमतिको कागजात पाएपछि पुनरावेदन ग¥यो। कागजात साउदी अरबस्थित नियोगमा पनि बुझाइयो।  

उमेशको रिहाइका लागि मुख्य चुनौती ३० लाख रुपैयाँ थियो। तर, सरोजको आह्वानमा मनकारी नेपालीहरूले सहयोग गरिदिए। र, उमेशलाई मृत्युदण्डबाट बचाउने सरोजको अभियान सफल भयो।  २०७६ माघ ८ गते बिहान जब उमेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सकुशल अवतरण भए। त्यो क्षण सम्झँदै सरोज भन्छन्, ‘मेरो आँखाबाट आँसुको भेल बग्न थाल्यो। एक हप्ता मैले  आफूसँगै राखेर २०७६ माघ १३ गते उमेशलाई घर पु¥याएर परिवारजनको जिम्मा दिएँ,’ सरोजले भने।

उमेशलाई मृत्युनजिकबाट बचाएर घर पु¥याएपछिको क्षण सम्झँदै सरोज भन्छन्, ‘मृत्युको मुखबाट श्रीमान् फर्किएकाले उमेशकी श्रीमती सञ्जु खुसीले रोइन्। छोराहरू कमलेश र हितेश अवाक् भए। गाउँबासीका आँखामा भावुकता र खुसीका आँसु थिए। एक नेपालीको ज्यान जोगाएर परिवारसँग मिलन गराउन पाएकोमा मलाई पनि सन्तोष लागिरहेको थियो।’  

जीवितै घर फर्किने करिबकरिब आश मारिसकेका परिवारलाई सकुशल उमेश ल्याएदिएकोमा सरोजप्रति गाउँसमाजले सम्मान गरे। भिडमा कसैले फूलमाला चढाऊ भन्दै थिए त कसैले अबिर लगाइदेऊ भन्दै सरोजलाई सम्मान गरे। केटाकेटीदेखि बुढाबुढीसम्म खुसी थिए। वर्षौंदेखि दबिएका पीडा, रोदन, व्यथा उल्लास बनेर आँसुका रूपमा निस्किएको क्षण सरोजको मानसपटलमा अझै ताजै छ। सरोज भन्छन्– यदि मृत्युको मुख हुन्छ भने उमेश त्यसमै थिए। निलिन मात्रै बाँकी थियो। मृत्युको भयंकरता सन्तान गुमाउने आमाहरू जति कसले बुझ्ला। तब त आमाहरू गाउँको छोरा बाँचेर आएको उल्लासमा भनिरहेका थिए– ‘उसलाई यसरी बचाउने सरोज त भगवान् नै हो।’

एक वर्षदेखि हराइरहेका बालक प्रेम विकलाई भारतबाट उद्दार गरेर दैलेख जिल्लाको डुल्लु नगरपालिका नाउले डाँडामा बसोबास गर्ने आमाबुबा समक्ष पु¥याउन लग्दा पूरै गाउँ नै पञ्चे बाजागाजासहित सरोजको स्वागतमा ओर्लेका थिए। आश मरिसकेको छोरा फर्किंदा अर्को दिन पनि दिनभरि विभिन्न कार्यक्रम, नाचगान, टीकाटालो र खुसियालीमा बोकासमेत काटियो।

प्रेमको घरमा तीन दिनको बसाइपछि फर्किन लाग्दा प्रेमकी आमाले पहाडको सौगात भन्दै सरोजको ब्यागमा केही सामानहरू राखिदिएकी थिइन्। नउलेबासीले उनलाई सगुनको टीका मात्र लगाइदिएनन्,  आशीष पनि दिएका थिए। सरोज भन्छन्, ‘मलाई दैलेख बजारसम्म प्रेमको काका तेजबहादुर विक पु¥याउन सँगै हिँडे। डेढ घण्टाको गोरेटो हिँडेर शान्तिबजार पुग्नु थियो, त्यहाँबाट टेम्पुले डुल्लु बजार र डुल्लुबजारबाट फेरि अर्को टेम्पुबाट दैलेख बजार जानु थियो।

हामीसँग प्रेमको आमाबुबा पनि सँगै लागे। सुरुमा मलाई लाग्यो– उहाँहरू गाउँबाहिरसम्म पु¥याएर घर फर्किन्छन् होला। पाहुनालाई गाउँको बाहिरी सीमासम्म छोड्ने चलन मधेसमा पनि छ। तर, प्रेमका आमाबुबा गाउँको सीमापार गराएर पनि फर्केनन्। सरोजले बारम्बार घर फिर्ता पठाउने प्रयास गरे तर उनीहरूले मानेनन्।

त्यो दिन चर्को घाम थियो। प्रेमकी आमाले एउटा काँक्रो र बुबाले पानीको बोतल बोकेका थिए। पहाडको अति जोखिमपूर्ण बाटो, छिनछिनमा ओरालो र उकालोे, दश मिनेट मात्र हिँड्दा पनि उनी थाक्थे। सरोजले सम्झँदै भने, ‘विश्राम लिएका बेला प्रेमका बुबा पानी खान दिन्थे र आमा काँक्रो। म त अगाडि टेम्पो चढेर जान्थें तर प्रेमको आमाबुबालाई फेरि त्यति नै समय लगाएर घर फर्किनु पर्नेथियो। यही सोचेर, बारम्बार उहाँहरूलाई घर फर्किन आग्रह गरें तर मान्नु भएन।’  

‘मप्रतिको यो स्नेह देखेर म अति नै भावुक भएँ,’ सरोज भन्छन्, ‘त्यो क्षण मोबाइलमा कैद गरें। त्यति बेलासम्म मेरो आत्माबाट आँसु निस्केर आँखासम्म आइपुगेको थियो। आँसु आँखाबाट बाहिर आउनु अगाडि छेउमा रहेको झर्नामा गएर पानीले मुख धोएँ।’  

जसोतसो दैलेख र त्यहाँबाट बसले सुर्खेत हुँदै सरोज जनकपुरस्थित घर फर्केंर ब्याग खोल्दा प्रेमकी आमाले टिमुर, चामल, तील, दाल र एक किलो घिउ राखेको पाइयो। सरोज भन्छन्, ‘यो मेरो जीवनकै सबैभन्दा अमूल्य सौगात हो। जब मैले नउले गाउँमा तीन दिनको बसाइबारे विस्तारमा आफन्त र परिवारलाई सुनाएँ, सबैका आँखा रसाएका थिए।’

एक दलालले तराई मधेसका विभिन्न जिल्लाका २६ जना बालबालिकालाई भारतको मद्रासमा काम गराउन लगेको थियो। समातिने डरले बसपार्कमा ती बालबालिका अलपत्र छाडेर दलाल भाग्यो। प्रहरीको सहयोगमा भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने ‘सिडब्लुसी’ आश्रममा राखिएका नेपाली भनी चिनिएका तर अभिभावक पत्ता नलागेका बालबालिकाको अभिभावक खोजेर जिम्मा लगाउने काम सरोजकै पहलमा भयो। केही बालबालिकाको फोटोका आधारमा सरोजले डेढ महिना लगाएर सबै बच्चाका अभिभावकलाई खोज्न सफल भए।

मधेस आन्दोलनका क्रममा मारिएकी सर्लाहीकी राधिका देवी खतबिनियाको परिवारका लागि सरोज उद्दारक हुन्। आन्दोलनमा मारिएकी राधिकाको परिवारले सरकारबाट सहयोग पाएको छैन। त्यो बुझेका सरोजले राधिकाकी छोरी शिवकुमारीलाई सिलाइकटाइको प्रशिक्षण दिलाएर लुगा सिउने मेसिन पनि किनिदिए। त्यही मेसिन चलाएर शिवकुमारी परिवारको गुजारा चलिरहेको छ। तब त सरोजलाई दाइ मानेर शिवकुमारी रक्षाबन्धनमा भेट्न जनकपुर नै पुग्ने गर्छिन्।

गरिबीका कारण छोरीको विवाह गराउन नसकिरहेका सिरहाको गोल बजारका विनोद रामलाई तत्कालै केही रकम सहयोग गरेर साथै कतारको प्रवासी मिथिला समाज कल्याणमार्फत सहयोग जुटाएर आफै उपस्थित भएर सरोजले उनकी छोरीको विवाह गराइदिए। सरोजप्रति कृतज्ञ ती छोरी अहिले पनि समस्या पर्दा सरोजलाई नै सम्झन्छिन्।

आफ्नो घर नजिक एउटा मन्दिर छ, मन्दिरमा सर्पको मूर्ति बनाइएको छ। मन्दिर छेउमा स्कुल र एउटा पोखरी छ भन्ने मात्र जानकारी दिन सक्ने अवस्थाकी भारतमा अलपत्र परेकी एक केटीलाई पनि सरोजले उद्दार गरेका थिए। उनले दिएको जानकारीका आधारमा लगातार ‘सर्पको मूर्ति भएको मन्दिर, छेउमा स्कुल र पोखरी’ भएको स्थान पत्ता लगाएर सरोजले अलपत्र ती केटीको सर्लाहीस्थित घर फेला पारेका थिए। उनले तिनलाई अभिभावकसँग भेट गराउन सके।

अपत्यारिला कथाजस्तो लाग्ने यस्ता परिस्थितिहरू सरोजले धेरै भोगिसकेका छन्। उनीसँग सहयोग र उद्धारका यस्ता वास्तविक कथाहरू निकै जोडिएका पनि छन्। कतिलाई सक्ने सहयोग गरिसकेका छन्। कसैको सहयोगका लागि काम गरिरहेका छन्। तीमध्ये कतिपय घटनालाई उनले सामाजिक दायित्वका कारण सार्वजनिक गर्न चाहँदैनन्।  

को हुन् सरोज ?

५० वर्षका सरोज जनकपुरधाम उपमहानगरपालिका २ विद्यानगरका हुन्। उनका बुबा डा. रामस्वार्थ राय प्राध्यापक रहेर अवकाश प्राप्त छन्। २०७२ सालमा गएको विनाशकारी भूकम्पले उनलाई समाजसेवाको भावनाले तान्यो। पीडामा परेकाहरूका लागि केही गर्ने हुटहुटी जाग्यो। र, सकेको जतिको खाद्यवस्तु, लत्ताकपडा र साथमा लिएर गोरखासम्म पुगे। त्यो उनको सामाजिक अभियन्ताका रूपमा पहिलो पाइला थियो। गोरखामा भूकम्पको पीडा देखेर सरोजको मनमा लुकेको परोपकार बाहिर निस्कियो। त्यसपछि उनी दुःखमा परेकाको सेवा र सहयोगमा निरन्तर लागिपरेका छन्।  

कोही किन यसरी सम्मानित हुन्छ ? नबोलाइएका मान्छेहरू कसैको अनुहार हेर्न किन त्यसरी भेला हुन्छन् ? एक ‘पराइ’को शीरमा आमाहरू आशीर्वादको हात किन राखिरहेका छन् ? सञ्जालको जञ्जालबाहिर पनि कोही ‘स्टार’का रूपमा कसरी चिनिएको छ ? सरोजको जीवन नियाल्दा अमानवीय बनिरहेको समाजमा मानवीयताको मिठो पाठ मिल्छ।

प्रकाशित: १२ वैशाख २०८० ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App