१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकल महिलाको अधिकारका लागि लड्ने वेद

सुदूरपश्चिममा पतिको मृत्युपछि पत्नीले जीवनभर सेतै लुगामा बस्नुपर्ने र घरबाहिर जान नहुने कुसंस्कार छ। युवावस्थामै पतिको मृत्यु भएपछि पत्नीलाई विभिन्न आरोप लगाइन्छ। समाजले उसलाई घरबाहिरै निस्कनै दिँदैन। हो, यही र यस्तै कुसंस्कारको जालो चिर्दै एकल महिलाको अधिकारका लागि विगत १७ वर्षदेखि लडिरहेकी छिन् धनगढीकी वेद अवस्थी।  

एसएलसी उत्तीर्णपछि कैलाली बहुमुखी क्याम्पसमा पढ्दै गर्दा २०५७ सालमा वेदको विवाह भयो। विवाह भएको ६ महिनामै पति गुमाउन पुगेकी वेदका दुःखका दिन सुरु भए। उनी एकातिर पति वियोगमा थिइन् भने अर्कोतिर पतिको मृत्युहुँदा तीन महिनाको गर्भ हुर्काउँदै थिइन्। यही बेला उनले आफ्नै परिवार र आफू वरिपरिकै समाजसँग लड्नु थियो, केवल महिला अधिकारका लागि। उनले भनिन्, ‘मेरा धेरै अधिकार हनन भए। म आफ्नो अधिकारका लागि लडेँ।’ सुदूरपश्चिममा पति गुमाएका एकल महिलालाई के÷के खान हुने र नहुने, के÷के लगाउन हुने र नहुने भन्ने दायरा तोकिन्छ। त्यही दायराले यहाँका एकल महिला सधैंभरि दबिएर बस्दै आएका छन्। हो, त्यही दायरा हटाउन उनले घरपरिवार र समाजबाटै विद्रोह गरिन्।  

पति गुमेको पाँच वर्षसम्म उनले पनि कालकोठरीको जीवन व्यतित गरिन्। जब उनले एकल महिलाको हक हितका लागि पनि एकल महिलाहरुकै समूह छ भन्ने थाहा पाइन्। उनी त्यसकै खोजीमा लागिन्। २०६३ सालमा ‘एकल महिला’ को हितमा काम गर्ने संस्थाका प्रतिनिधिसँग भेटिन्। यहीँबाट उनको आत्मबल बढ्यो। ‘मजस्ता एकल महिला को होलान् भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर मजस्ता तमाम एकल महिलाहरु रहेछन्। उनीहरुका दुःख सुन्दा आफ्ना दुःख कम लागे, मन भुल्यो।’  

संस्थाका साथीसँगको भेटघाटले केही महिनामै ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह’ को जिल्ला सचिवका रूपमा काम गर्ने अवसर पाइन्। एकल महिलाका आवाज उठाउन थालेपछि भने पहिले हेप्नेहरु पनि साथ र हौसला दिन थालेको उनले अनुभव सुनाइन्।  

बिहे गरेको ६ महिनामै पति गुमाएपछिको पीडा र समाजले हेर्ने नजरियालाई अजमाइसकेकी उनले आफूले जस्तो पीडा अन्य एकल महिलाले खेप्नु नपरोस् भन्दै उनले एकल महिलाहरुको मनोबल बढाउने, कानुनी परामर्श दिने, उनीहरूमाथि हुन सक्ने जोखिमबारे सचेत गराउने, हिंसापीडित महिलाको पक्षमा खुलेर बोल्न थालिन् वेद। यही कारण उनी एकल महिलाकी प्रिय बनिन्। ‘जहाँ जाँदा पनि कोही दिदी त कोही बहिनी भन्दै खुब माया गर्थे,’ उनले भनिन्, ‘सबैको मायाले एकल महिलाको पक्षमा लाग्न झनै प्रेरित गर्‍यो।’  

वकालतका साथसाथै उनले एकल महिलाको समूह बनाइन् र बचत गर्न सिकाइन्। बचत भएको रकम उनी एकल महिलालाई सहुलियतमा ऋण दिने व्यवस्था मिलाइन्। ‘आफूहरुले वचत गरेको रकम सहुलियतमा ऋण लिएर धेरै एकल महिलाले व्यापार व्यवसाय थाले,’ उनले भनिन्, ‘त्यहीँबाट आर्थिक उपार्जनमा पनि एकल महिलालाई सहयोग पुग्यो।’ धेरै महिला उद्यमी बने। आफूहरुसँग जोडिएका एकल महिलालाई सिलाइ–बुनाइ, फलफूल खेती, बाख्रापालन, तरकारी खेती, पोते बनाउने, मःम चाउमिन बनाउने दुनाटपरी बनाउनेजस्ता तालिम लिएर स्वरोजगार बनेका छन्।  

यौन तथा घरेलु हिंसा हुने, अनेक लाञ्छना लगाएर चरित्र हत्या गर्ने जस्ता समस्या एकल महिलाले भोग्नु परेको यथार्थ चित्रण गर्दै उनले भनिन्, ‘मानिसहरु तारे होटलमा महिला हिंसाबारे कुरा फकाल्छन् तर तिनै मान्छे आफ्नो घरपरिवारमा रहेका महिला तथा एकल महिलामाथि हिंसा गरेका तमाम उदाहरण छन्। शिक्षित परिवारमा पनि एकल महिलालाई हेर्ने दृष्टिकोण अशिक्षित परिवारकै जस्तो रहेको छ।’  

सुदूरपश्चिममा महिलालाई हेर्ने दृष्टिकोण संकीर्ण छ, त्यसमा पनि विधवा महिलालाई त झनै समाजले पचाउँदैन। एकल महिला घरबाट निस्कनेबित्तिकै बाटोमा कसैले देखेमा ‘अलच्छिनी’ को संज्ञा दिन्छन्। विवाह भएको एक वर्षमै पतिको मृत्यु भएमा त झनै ‘पति टोकुवा’ जस्ता घृणित शब्दले प्रहार गरिन्छ। हो त्यही त्यस्तै तमाम घृणित शब्द वेदमाथि पनि नबर्सेका होइनन्। ‘मैले घरपरिवार र समाजबाट अपहेलना पाएकी थिएँ,’ उनले भनिन्, ‘जब एकल महिलाकै पक्षमा वकालत गर्दै लडेँ, अहिले तिनै कुरा काट्नेहरु नजिकिएका छन्।’ पति वियोगपछि धेरैले पुनः विवाहका लागि कुरा गर्न खोजे पनि आफ्नो भाग्यमा जे लेखेको छ, त्यसैलाई ग्रहण गर्दै तिनै एकल महिलाका आवाज उठाउन झन् दरिलो भएर उभिएको उनले सुनाइन्। अहिले उनको नेटवर्कमा सुदूरपश्चिमका ९ वटै जिल्लाका करिब १२ हजार महिला रहेको उनले बताइन्। 

‘अहिले हामी तिनै एकल महिलालाई स्वरोजगारमा जोड्नका लागि विभिन्न तालिम दिनुका साथै उनीहरुको हक र हितमा लागेका छौं।’ एकल महिलाका मुद्दामा मात्रै नभई सबै महिलाको पीडामा मल्हम लगाउन थालेकी छिन् वेद। यति मात्रै नभई एकल महिलालाई संगठित गरेर सामूहिक रुपमा कृषि कर्ममा पनि जुटेकी छिन् वेद। ‘पतिको वियोगमा रहेका एकल महिलाको मन भुलाउनका लागि हामीले आफूजस्ता तमाम महिलालाई जोडेर सामूहिक रुपमा बेसार खेतीदेखि लिएर कृषि कर्ममा पनि जुटेका छौं,’ उनले भनिन्, ‘समूहमा मिलेर काम गर्दा पीडा पनि भुलिने र आयआर्जनका काम पनि हुने भएकाले त्यसमा लागेका छौं।’  

एकल महिलाका पक्षमा १७ वर्षदेखि लड्दै आएकी वेदलाई विभिन्न संघसंस्थाले पनि बेलाबेलामा सम्मान गरिरहन्छन्। सुदूरपश्चिमका प्रतिष्ठित संघसंस्थाले सम्मान गरेको उनले बताइन्। ‘मलाई अहिले एकल महिलाका पक्षमा काम गर्दा बेग्लै सन्तुष्टि मिल्छ,’ उनले भनिन्। एकल महिलाकै पक्षमा वकालत गरेको भन्दै एक अन्तर्राष्ट्रिय सम्मानका लागि छनोट पनि भएकी थिइन् वेद।  

विधवा हुँदा जीवनभरि सेतै वस्त्र लगाउनुपर्ने यहाँको सामाजिक संस्कारलाई तोड्दै एकल महिलाले पनि सेतो वस्त्रबाट उम्किनुपर्छ भन्दै सामाजिक संघर्षसमेत गरिन् उनले। ‘सेतो वस्त्र लगाउँदा विधवा हो भनेर टाढैबाट चिन्ने र विधवा महिलाप्रति कुदृष्टि राख्ने समाज भएकाले त्यसलाई तोड्न हामीले पनि सुदूरपश्चिममा सेतो वस्त्र त्याग्ने अभियान चलायौं,’ उनले भनिन्, ‘सेतो वस्त्र त्याग्ने कार्यक्रम चलाउँदा धेरैले अपहेलना गर्नुका साथै गाली गलौच गरेको स्मरण पनि अहिलेसम्म मानसपटलमा ताजै छ।’  

 

प्रकाशित: १२ वैशाख २०८० ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App