८ वैशाख २०८१ शनिबार
समाज

संघीयताले फेरिएको भवानीयापुर

फेरिएकाे भवानीयापुर गाउँ। तस्वीर: नागरिक

बाँकेको राप्तीसोनारी गाउँपालिका-३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो। यताउता जान र सामान ढुवानी गर्न गाडी होइन, घोडाखच्चड हिँड्थे। घरमा बिरामी हुँदा अगैया बजारसम्म डोकामा बिरामी ल्याएको अनुभव उनीसँग छ। राप्ती नदीको झोलुंगे पुल तरेर अगैया पुगेपछि मात्र गाडी देख्न र चढ्न पाइन्थ्यो। अपर्याप्त खानेपानीको व्यवस्थाले यहाँका नागरिकले धेरै दुःख पाए। गर्मी याममा हातेपंखा लगाउँदालगाउँदा हैरानी खेप्नुपर्थ्याे।

संघीयता आएपछि गाउँमा मोटरबाटो पुगेको र कालोपत्रे भएको चौधरीको बुझाइ छ। अहिले त्यही ठाउँमा यत्रतत्र खानेपानीको प्रबन्ध मिलाइएको छ। साना खोलामा पनि पुलहरू निर्माण बनाइएका छन्। बिरामी हुँदा डोको तथा स्ट्रेचरमा बोक्नुपर्ने अवस्था छैन। सिधै एम्बुलेन्स पुग्छ। अनि हातेपंखा लगाउनुपर्ने बाध्यता हटेको छ। गाउँमा विद्युत् प्रसारण लाइन पुगेपछि बत्तीबाट पंखा चल्छन्। गाउँमै सुविधा पुगेको छ। साँच्चै भन्नुपर्दा अहिले सहर विभिन्न सुविधा लिएर गाउँतिर पसेको छ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो।

माथि उल्लेख गरिएको दृश्य संघीयताअघि र पछिको हो। भवानीयापुर पछिल्लो समय बदलिँदै छ। गाउँको सिंहदरबारले आफूहरूलाई सुविधाभोगी बनाएको यहाँका नागरिकहरू महसुस गर्छन्। माथि उल्लिखित दृश्यहरूबाट पनि प्रस्ट हुन्छ संघीयताले भवानीयापुरलाई विकसित गराउँदैछ। ‘वर्षौंदेखि हिलाम्मे र धुलाम्मे बाटोमा हिँडेर आजित भएका थियौं,’ स्थानीय रामशरण थारूले भने, ‘अहिले आफ्नै घर अगाडिको बाटो कालोपत्रे भएको छ। हिजोको त्यो बाटो बिर्सिसकेका छौं।’

उनी त्यही रामशरण हुन्, जो हिँडेरै बजारसम्म पुग्थे। भवानीयापुरले स्वरूप फेर्दै गएपछि उनी मात्र नभएर यहाँका सबै बासिन्दा खुसी छन्।

संघीयतापछि यहाँ आएका मान्छेले सायदै विश्वास गर्छन् कि यो त्यही भवानीयापुर हो भनेर। अहिले त बाटोमा हिलोधुलो केही छैन। ‘वरपरको वातावरण स्वच्छ र सफा छ,’ थारू भन्छन्, ‘सामान्य मोबाइलको नेटवर्कको टावरसमेत नहुँदा सास्ती झेलेका थियौं।’

अहिले वाइफाई चलाउन पाउँदा उनी निकै खुसी छन्। त्यस्तै शिशवाकी शिला परियारले आफ्नो आँगनको डिलमा रहेको सडक कालोपत्रे होला भनेर सोचेकी पनि थिइनन्। अहिले आफ्नै आँगनबाट गाडी चढेर बजार जान पाएपछि उनी पनि हर्षित छिन्। ‘मैले हाम्रो गाउँको बाटो पक्की होला भन्ने सोचेकी पनि थिइनँ। हेर्दाहेर्दै अहिले यस्तो भयो,’ उनी भन्छिन्।

संघीयतापछि यहाँ आएका मान्छेले सायदै विश्वास गर्छन् कि यो त्यही भवानीयापुर हो भनेर। अहिले त बाटोमा हिलोधुलो केही छैन।

यी त प्रतिनिधि पात्र मात्र हुन्, सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिने बाँकेको राप्तीसोनारी गाउँपालिका ३ को भवानीयापुरमा। सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधारहरू पुगेपछि अहिले भवानीयापुर फेरिएको छ। देश संघीय संरचनामा गइसकेपछि भवानीयापुरको स्वरूप फेरिएको छ।

 सामान्य पाँच रूपैयाँको फोटोकपी गर्नसमेत १०० रूपैयाँ भाडा तिरेर शमशेरगन्ज जानुपर्ने बाध्यता झेल्दै आएका भवानीयापुरवासीलाई गाउँमा बिजुली पुगेपछि त्यो समस्या टरेको छ।

त्यस्तै गाउँमा बिजुली पुगेपछि सिँचाइका लागि मोटरसमेत जडान गरिएको छ भने मिल ग्रिल उद्योग लगायत साना उद्योगसमेत सञ्चालनमा छन्।

राप्तीसोनारी-३ का निवर्तमान वडाध्यक्ष गंगाराम थारूले नेपालगन्ज-अगैया हुलाकी मार्गदेखि भित्र जाने भवानीयापुरका सबै बाटा कालोपत्र भइसकेको बताए। ‘पहिले भवानीयापुरका सबै बाटो हिलो र धुलोका कारण हिँड्न नसक्ने अवस्था थियो तर जब देशमा स्थानीय तहको निर्वाचन भयो, त्यसपछि मैले चुनाव जितिसकेपछि भवानीयापुरको स्वरूप फेर्नुपर्छ भनेर लागें,’ उनी भन्छन्।

सामान्य पाँच रूपैयाँको फोटोकपी गर्नसमेत १०० रूपैयाँ भाडा तिरेर शमशेरगन्ज जानुपर्ने बाध्यता झेल्दै आएका भवानीयापुरवासीलाई गाउँमा बिजुली पुगेपछि त्यो समस्या टरेको छ।

यस क्षेत्रमा सबैभन्दा ठुलो समस्या बिजुली र बाटोको थियो। ‘मैलै भवानीयापुरमा बिजुली विस्तारका लागि वडाबाट पहिलो चरणमा ३९ लाख रूपैयाँको प्रस्ताव लिएर गाउँपालिकामा गए त्यो निकै राम्रो प्रस्ताव भएको भन्दै पालिकाले पनि बिजुली विस्तारको कामलाई प्राथमिकता दियो,’ उनले भने, ‘बिस्तारै बिजुली विस्तारको कामले निरन्तरता पायो फलस्वरूप अहिले भवानीयापुरवासीले विद्युत् उपयोग गर्न पाएका छौं।’

शिक्षा क्षेत्रको विकासका लागि पनि मेरो कार्यकालमा भवानीयापुरमा रहेका चारवटा विद्यालयमा प्रतिविद्यालय १५ लाखको दरले बजेट विनियोजन गरी पक्की विद्यालय भवन निर्माण गरिएको छ।

भवानीयापुरमा रहेका विभिन्न खोलामा रहेका काठका पुल र साँघु विस्थापित गरी आठवटा कल्भर्ट निर्माण गरिएका छन्। वर्षौंदेखि कुवाको पानी पिउँदै आएका स्थानीयलाई वडा कार्यालयबाट करिब ५ सयभन्दा बढी धारा वितरण गरिएपछिपानीको समस्याबाट मुक्त भएका छन्।

शिक्षा क्षेत्रको विकासका लागि पनि मेरो कार्यकालमा भवानीयापुरमा रहेका चारवटा विद्यालयमा प्रतिविद्यालय १५ लाखको दरले बजेट विनियोजन गरी पक्की विद्यालय भवन निर्माण गरिएको छ।

सवारीसाधनको अभावमा पैदलयात्रा गर्न बाध्य भवानीयापुरका बासिन्दा घरआँगनबाटै अटो चढेर यात्रा गर्न पाउँदा निकै सहज भएको छ। भवानीयापुरमा सिँचाइका लागि सिक्टा सिँचाइ आयोजनाबाट शाखा नहरका रूपमा करिब ३०० मिटर सेयरवाल निर्माण गरी भवानीयापुरमा सिँचाइको सुविधासमेत पुगेको छ। वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि बिरामी हुँदा बैजापुर स्वास्थ्य चौकी र अगैया मेडिकलमा जानुपर्ने बाध्यता हटेको छ।

भवानीयपुरमा सांस्कृतिक संरचनाको समेत विकास भएको छ। मिश्रित बस्ती रहेको भवानीयापुरमा थारू समुदायको पुराना कच्ची भुयार थान हटाएर चारवटा पक्की भुयार थान निर्माण गरिएको छ भने जनजाति संग्रहालयको समेत स्थापना गरिएको छ।

सवारीसाधनको अभावमा पैदलयात्रा गर्न बाध्य भवानीयापुरका बासिन्दा घरआँगनबाटै अटो चढेर यात्रा गर्न पाउँदा निकै सहज भएको छ।

संघीयताअघिको भवानीयापुर र अहिलेको भवानीयापुरलाई तुलना गर्ने हो भने निकै फरक छ। भवानीयापुरका सबै टोलका बाटा स्तरोन्नति भएका छन्। शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, यातायात सिँचाइ, बजारलगायत सुविधा थपिएपछि भवानीयापुरवासीले संघीयतापछि समृद्धिको अनुभूति गर्न पाएका छन्।

राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार चौधरीले हिजोभन्दा आजको भवानीयापुर विकसित भएको र भवानीयापुरलाई अझै विकसित र सुविधायुक्त बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने र सकेसम्म युवाहरूलाई उत्पादनमा जोड दिने खालका कार्यक्रमहरू सञ्चालन गर्ने बताए।

प्रकाशित: ११ वैशाख २०८० ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App