७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बनेपा–पनौती सडकमा खाल्डैखाल्डा, धुलोधुवाँ खपिनसक्नु

बनेपा- सडकभरि खाल्डा छन्। सवारी आवतजावतमा  समस्या छ। मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुन्छन्। धुलो उडेर सडक आसपासमा कुहिरो लागेझैं हुन्छ। धुलोकै कारण सडक छेउका बासिन्दामा रुखाघोकीलगायत स्वाशप्रश्वाससम्बन्धी समस्या बढ्दो छ।

काभ्रेको प्रमुख व्यापारिक सहर बनेपालाई दक्षिणको व्यापारिक केन्द्र पनौतीसम्म जोड्ने रणनीतिक सडक (फिडर रोड) मा जोकोहीले आजकल भोग्ने समस्या यिनै हुन्।

दैनिकजसो बनेपा–पनौती यात्रा गर्ने काभ्रेको दक्षिणी भेगका हजारौं यात्रुलाई मर्का परिरहँदा समेत जिम्मेवार निकाय र निर्माणमा संलग्न ठेकेदारले वास्ता गरेका छैनन्। सडक निर्माणमा भएको हेलचक्र्याइँले पछिल्लो समय आसपासका बासिन्दा धुलो र धुवाँको प्रत्यक्ष मारमा पर्दै आएका  छन्। ‘चौबीसै घन्टा ‰यालढोका थुनेर बस्नुपर्छ। पहिला त दिउँसोमात्र धूलोको समस्या थियो। अहिले रातभरि गुड्ने टिपरले झन् सास्ती थपेको छ,’ पनौती–२ ढलमलेका रामबहादुर केसीले भने।

एक वर्षअघिसम्म ठीक अवस्थामा रहेको सडकको तीन किलोमिटर खण्ड कालोपत्रे गर्ने भन्दै डिभिजन सडक कार्यालय भक्तपुरले गौरीपार्वती/नयाँ युग जेभीलाई ४ करोड १३ लाख रुपैयाँमा ठेक्का दिएको थियो। ठेकेदारले सुब्बागाउँदेखि श्रीखण्डपुर चोकसम्मको अढाइ किलोमिटर सडकको पिच उक्काएपछि खाल्डाखुल्डी बढेको मात्रै नभई कुइरीमण्डल हुनेगरी धुवाँ उड्न थालेको स्थानीयको भनाइ छ।

‘एकातिर दिनहुँको चिसो, अर्कातिर बाटोबाट घरभित्र छिर्ने धुलोले गर्दा बालबालिका र वृद्धवृद्धालाई धेरै नै समस्या हुन थाल्यो। प्रशासन र नगरपालिकामा धाउँदा कुनै सुनुवाइ नै भएन’, केसीले भने। ससाना व्यापारिक केन्द्र रहेका सुब्बागाउँ, ढलमले र नैकिन्टार श्रीखण्डपुर चोकमा सबैभन्दा बढी सडक बिग्रेको उनको भनाइ छ।

सडकको अवस्थाले स्कुल बसमा ओहोरदोहोर गर्ने विद्यार्थी पनि बढी मारमा परेका छन्। बनेपा र पनौती क्षेत्रका २० भन्दा बढी स्कुलले विद्यार्थीलाई यही बाटो हुँदै ल्याउने लैजाने गर्छन्।

‘यो सडकमा एम्बुलेन्स चल्न समेत कठिन भयो तर न नगरपालिका, न जिविस, न सडक विभागले नै वास्ता गरे। कसैले पनि वास्ता नगरेपछि आन्दोलनमा उत्रनुको विकल्प रहेन', केसीले भने। स्थानीयले आइतबारदेखि सडक बन्द गर्ने घोषणा गरिसकेका छन्।

डिभिजन सडक कार्यालयले यस सडकको मर्मतसम्भारमा बर्सेनि लाखौं रुपैयाँ खर्चन्छ। २०४२ सालमै पिच भएको सडकमा बर्सेनि ग्राभेल र टुक्रे पिच हाल्दै टालटुल गरिरहेकै अवस्थामा तीन वर्षअघि रिसिलिङ कार्य पनि भयो। तर, त्यो पनि बढी भार बोक्ने टिपर गुडेकै कारण ६ महिना पनि टिकेन। ‘यो सडकको भारवहन क्षमता १० टन हो। तोकेको भन्दा बढी भार लिएर दिनहुँ गुड्ने टिपरका कारण बनाउनासाथ बाटो बिग्रने गरेको छ’, डिभिजनका इन्जिनियर ध्रुव श्रेष्ठले भने।

सडक छिटो बनाउन ठेकेदारलाई ताकेता गर्ने काम आफ्नो भए पनि भारवहन क्षमताको नियमन गर्ने काम यातायात व्यवस्था कार्यालय र उसले अधिकार प्रत्यायोजन गरेको ट्राफिक प्रहरीको भएको श्रेष्ठको भनाइ छ। ‘बढी भार भएका टिपर गुड्न रोक नलगाएसम्म पुरानै डिजाइनअनुसार अब बन्ने बाटोसमेत धेरै समय टिक्न सक्दैन। यसमा जिम्मेवार निकाय नै जबाफदेही बन्नुपर्छ’, उनले भने।

अघिल्लो वर्षमात्रै पनौतीपार्कदेखि सुब्बागाउँसम्मको दुई किलोमिटर सडक तीन करोड रुपैयाँमा कालोपत्रे भएको थियो। यो खण्डसमेत बढी भारले नै ठाउँठाउँमा बिग्रिसकेको छ। बनेपा–पनौती सडकमा दैनिक १ हजारभन्दा बढी सवारीसाधन गुड्ने गरेका छन्। यिनमा बढी भार बोकेका टिपरको बाहुल्य छ। दैनिक तीन सयको हाराहारीमा टिपर गुड्ने गरेका छन्।

जिल्ला विकास समितिले कलाँती भूमेडाँडा, कुशादेवी र चलाल गणेशस्थान गाविसमा दर्जनभन्दा बढी ढुंगा खानी सञ्चालन गर्न अनुमति दिएको छ। उपत्यकानजिकैको ढुंगाखानी भएकाले अन्यत्रको खानी सञ्चालन रोकिनासाथ यहाँ चाप पर्ने गरेको छ। यिनै खानी र स्थानीय क्रसरबाट उत्पादित रोडा ढुंगा ढुवानी गर्ने क्रममा बाटो बढी बिग्रिएको हो। यसको प्रत्यक्ष असर बनेपा–पनौती–मल्पी र खोपासीसम्मको सडकमा पर्दै आएको छ।

यही सडकमा काभ्रे मिनीबस सेवा समितिले दैनिक डेढ सय मिनीबस गुडाउने गरेको छ। प्रत्येक मिनीबसबाट एकपटक १५ लाख रुपैयाँ र मासिक १० हजार रुपैयाँका दरले नियमित असुल्ने गरेको समितिले समेत सडक मर्मतमा केही खर्च गर्दैन।

सडक विभागको स्वामित्वमा रहेको बनेपा–पनौती रणनीतिक सडकमा जिविस र पनौती नगरपालिकाका दुईवटा कर संकलन ढाट छन्। जिविसले स्रोत उपयोगको कर भन्दै पनौती क्षेत्रबाट ढुंगा, गिट्टीमा र पनौती नपाले प्रवेश/पार्किङ भन्दै कर उठाइरहेको छ। तर, यी दुवै स्थानीय निकायले यस सडकमा सुको खर्च गरेका छैनन्।

‘बनेपा–पनौती–खोपासी सडक रणनीतिक सडक भएकोले यसमा स्थानीय निकायले कर उठाउन पाउँदैन। सडक ऐन र सडक बोर्ड ऐनले उठाउने छुट दिँदैन', डिभिजनका इन्जिनियर श्रेष्ठले भने।

ध्वनि प्रदूषण उत्तिकै

सडकको धुलोले सास्ती खेप्दै आएका बनेपा–पनौती–मल्पी र पनौती–खोपासी सडक दायाँबायाँका बासिन्दा पुराना र बढी स्पिडमा गुड्ने टिपरको कर्कष आवाजका कारण समस्या परेको गुनासो गर्छन्। ‘खाली टिपर हुँदा त्यसको बडीबाट निस्कने आवाज र सामान लिएर आउँदा ब्रेकको आवाजले दिक्क लगाइसक्यो। पाहुनासमेत रात बस्ने गरी आउनै मान्दैनन्’, मल्पीका सुदर्शन सुवेदीले गुनासो गरे। ढुंगा खानी सञ्चालक र टिपर व्यवसायीलाई पटकपटक अनुरोध गर्दा सुनुवाइ नभएको उनको भनाइ छ।

आउन छाडे पर्यटक

काठमाडौं उपत्यकानजिकैको सांस्कृतिक सम्पदायुक्त पर्यटकीय गन्तव्यसमेत बाटोकै कारण बिस्तारै ओझेलमा पर्दै गएकोमा व्यवसायी चिन्तित छन्। प्राचीन सहर पनौतीलाई माया गर्ने पर्यटकसमेत खाल्डाखुल्डी बाटो र धुलोधुवाँका कारण आउनै नमान्ने पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजाराम कर्माचार्यको भनाइ छ, ‘धुलीखेलबाट श्रीखण्डपुर हुँदै पनौतीसम्म पैदल आउजाउ गर्ने पर्यटक धेरै हुन्थे। अहिले त गाडीमा समेत आउन मान्दैनन्’, उनले थपे।

प्रकाशित: ९ माघ २०७३ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App