७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने

विराटनगर महानगरपालिका क्षेत्रमा वैशाख १५ गते देखि खुल्ला ठाउँमा माछा मासु बिक्री वितरण निषेध गरिने भएको छ।विराटनगर महानगरपालिकाले  पशु बध तथा माछा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले वैशाख १५ गते देखि खुल्ला स्थानमा पशु बध गर्ने र माछा मासु बिक्री वितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।

पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध गरेको छ।विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने तयारी थालेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए। विराटनगरका विभिन्न स्थानमा खुल्ला रुपमा माछा मासु बिक्री गर्ने गरेको पाइएको छ।जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको छ।

प्रदेशको राजधानीसँगै कोसी प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्न जरुरी रहेको मेयर नागेश कोइरालाले बताए।मेयर कोइरालाले भने, ‘महानगरले वैशाख १५ गते देखि माछा–मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियान सुरु गर्न लागेको छ।’ महानगरले हाल सरसफाई, फुटपाथ नियन्त्रण, कर संकलन, नो पार्किङ लगायतका अभियान जारी राखेको छ।

महानगरले वैशाख १५ देखि तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बध गर्न, माछा मासु बिक्री वितरण गर्न निषेध गरिएको  जनाएको छ।विराटनगरमा परम्पराकाल देखि नै साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रुपमा माछा मासु बिक्री गर्ने गरिएको छ। 

महानगरपालिका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले  सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको जानकारी दिए। महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछा मासु बिक्री वितरणका साथै पशुपंक्षी बध गरेको पाइएमा कारबाही गरिने यादवले स्पष्ट पारे।हुन त विराटनगर महानगरपालिकाले धेरै वर्ष पहिले देखि माछा मासु बिक्री वितरणलाई व्यवस्थित पार्न भन्दै हरेक वर्ष अभियान सञ्चालन गर्दै आएको छ।तर महानगरपालिकामा व्यवस्थित वधशालासमेत नहुँदा महानगरपालिकाको अभियान प्रभावकारी हुन सकेको छैन। 

प्रकाशित: ७ वैशाख २०८० १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App