१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सम्पदा पुनर्निर्माणमा पाँच देशले सघाउने

वसन्त खड्का

काठमाडौं- विनाशकारी भूकम्पबाट क्षति पुगेका पुरातात्विक महत्वका सम्पदा पुनःर्निर्माणका लागि विभिन्न मुलुकले सहयोग गर्ने भएका छन्। पुरातत्व विभागका अनुसार हालसम्म विभिन्न पाँच मुलुकले सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन्। कतिपय मुलुकले लिखित रुपमै सम्झौता गरेका छन् भने कतिपयले मौखिक प्रतिबद्धता व्यक्त गरेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

विभागका अनुसार हालसम्म चीन, भारत, श्रीलंका, अमेरिका र जर्मनीले प्रत्यक्ष तथा संस्थामार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। श्रीलंकाले स्वयम्भूको आनन्दकुटी विहार तथा रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणका लागि सहमति जनाएको छ। त्यस्तै चीनले हनुमानढोकास्थित नौ तले दरबार निर्माणका लागि सम्झौता गरिसकेको छ भने नुवाकोट दरबार निर्माणमा पनि सहयोग गर्ने जनाएको छ। चीनले नौतले दरबार निर्माणका लागि अध्ययनसमेत पुरा गरिसकेको छ।

अमेरिकन एम्बेडसर फन्डको आर्थिक सहयोगमा मियामटो रिलिफले हनुमानढोकास्थित गद्दी बैठक निर्माणका लागि सहमति जनाएको छ भने अमेरिकन सहयोगमा आधारित गैरसरकारी संस्था 'काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट' को माध्यमबाट पाटन क्षेत्रका सुन्दरीचोक, पाटन तलेजु मन्दिर, चारनारायण, मणिमण्डप, हरिशंकर, कृष्णमन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिर पुनर्निर्माणको काम भइरहेको विभागले जानकारी दिएको छ।

त्यस्तै जर्मन सरकारले भक्तपुरका विभिन्न सम्पदा निर्माणका लागि भक्तपुर नगरपालिकासँग सहमति गरिसकेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमातहत भएको सहमतिअनुसार जर्मनीको सहयोगमा भक्तपुरको पुजारी मठ तथा राष्ट्रिय कला संग्रहालयमा रहेको लाल बैठक पुनर्निर्माण गर्न लागिएको विभागले जनाएको छ।

छिमेकी मुलुक भारतले काठमाडौं उपत्यकाका केही तथा उत्तरी नेपालका गुम्बा निर्माणका लागि मौखिक सहमति गरेको प्रवक्ता कुँवरले जानकारी दिए। भारतले भूकम्प गएलगत्तै क्षति पुगेका उपत्यकाका सबैजसो सम्पदा निर्माणका लागि चासो देखाएको थियो।  भूकम्प गएलगत्तै पुराताŒिवक सम्पदाको आपत्कालीन सुरक्षाका लागि सहयोग गरेको युनेस्कोले हाल हनुमानढोकास्थित शिवमन्दिर, गोपिनाथ मन्दिर तथा जगन्नाथ मन्दिर संरक्षणका लागि सहयोग गरिरहेको छ।

२०७२ वैशाख १२ गते गएको भूकम्पका कारण २० जिल्लामा गरी ८ सय ५० भन्दा बढी पुराताŒिवक सम्पदामा क्षति पुगेको थियो। तीमध्ये १ सय ५० सम्पदा पूर्ण रुपले क्षति भएका थिए भने अन्य सम्पदामा आंशिक क्षति पुगेको विभागले तयार पारेको तथ्यांकमा उल्लेख छ।

क्षति पुगेका सम्पदामध्ये हाल १ सय ३५ सम्पदा पुनर्निर्माण तथा मर्मत सम्भार सुरु भएको छ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका सम्पदा रहेको र बाँकी नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, दोलखालगायतका जिल्लाका सम्पदा निर्माणको काम पनि पाइपलाइनमा रहेको विभागले जानकारी दिएको छ। विभागले हाल पुनर्निर्माण हुन लागेका सम्पदा पुरानै शैलीमा बनाइने जनाएको छ।

प्रकाशित: ७ माघ २०७३ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App