२ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल चोर्ने सशस्त्र प्रहरी निरीक्षक तानिए गण

सर्लाहीको मलंगवाबाट चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक अंगद खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई बचाउन चलखेल सुरु भएको छ। 

मलंगवा नगरपालिका ४ शिवसागर चाेकमा रहेको नुतन आयल स्टोरका कर्मचारी राकेश राउत पटेलको मोटरसाइकल चोरी भएको थियो। चोरीको मोटरसाइकल सहित पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोख्याउन सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी नै लागि परेका छन्। 

मलंगवा नगरपालिका ९ का पटेलको प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल गत फागुन १२ गते चोरी भएको थियो। तर सशस्त्र प्रहरीले भने वैशाख ४ मा सरकारी नम्बर प्लेट लगाएको अवस्थामा पक्राउ गरेको भनी नक्कली मुचुल्का तयार पारेको बुझिएको छ। 

गत ४ गते नुतन आयल स्टोरमा पेट्रोल भर्न आएको पटेलको मोटरसाइकलमा सरकारी नम्बर प्लेट लगाइएको थियो। सरकारी नम्बर प्लेट भएता पनि पटेलले आफ्नो मोटरसाइकल चिनेपछि सशस्त्र प्रहरी निरीक्षक खड्काले पटेललाई धम्की समेत दिएका थिए। 

अपशब्द प्रयोग गर्दै सशस्त्र प्रहरीका अन्य जवानले पनि मोटरसाइकल धनी पटेललाई सवारी तिम्रो भएको खण्डमा जे पनि हुन सक्ने भन्दै धम्काएको बुझिएको छ। पटेल र नजिकका अन्य सर्वसाधारणले सशस्त्र प्रहरी निरीक्षक खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई तत्कालै नियन्त्रणमा लिएका थिए। 

दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिई होहल्ला गर्दा समेत मोटरसाइकल पक्राउ परेको हो र भन्सारमा बुझाउन लैजाने लागेको हो नभनी उल्टै धम्की दिएका सशस्त्र प्रहरीले ४ गते चेकजाँचको क्रममा पक्राउ गरी तेल नभएको हुँदा चल्न नसकेको कारण देखाउँदै पेट्रोल भर्ने क्रममा पक्राउ परेको बताएका थिए। 

सशस्त्र प्रहरी निरीक्षक खड्काको डिउटी रहेको खुटौना बेसबाट भन्सारको दुरी डेढ किलोमिटर मात्र रहेको तर खुटौना बेसबाट नुतन आयल स्टोरको दुरी ६ किलोमिटर रहेकोले सुल्टो दिशाबाट उल्टो दिशातिर तेल भराउन पुगेको भन्ने सशस्त्र प्रहरीको विवरणमा स्थानीयले शङ्का गरेका थिए।

सशस्त्र प्रहरी निरीक्षक खड्कालाई जोगाउन १० नम्बर गण प्रमुख एसपी भण्डारीकै निर्देशनमा नक्कली मुचुल्का तयार पारिएको आशङ्का सदरमुकाम मलंगवावासीले लगाएका छन्। सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोख्याउन एसपी भण्डारीले नक्कली मुचुल्का तयार पार्न लगाई अनुसन्धानको लागि गणमा तानेका छन्। साथै सशस्त्र प्रहरी जवान रोबिनलाई पनि गणमा तानिएको बुझिएको छ। 

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले वैशाख ४ गते नै मोटरसाइकल पक्राउ गरेको र तेल नभएकोले हाल्न त्यहाँ जाँदा पक्राउ परेको बताउँदै ४ गते पक्राउ परेको मुचुल्का सशस्त्र प्रहरी गण नम्बर १० मा रहेको जानकारी गराएका छन्। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेश राज सुवेदीले सशस्त्र प्रहरीसित मोटरसाइकल पक्राउ परेको भन्ने विषयमा विवरण मागेको बताउँदै लिखित रुपमा जवाफ आएपछि मात्र केही स्पष्ट बताउन सकिने बताए। नेपाल प्रहरीले पनि घटनाको विषयमा अनुसन्धान गरिरहेको एसपी सुवेदीको भनाइ छ। 

यता मोटरसाइकल धनी पटेललाई सशस्त्र प्रहरीले अनेक प्रलोभन दिइरहेको र घटना मिलाउनको लागि दबाब दिइरहेको पनि स्रोतको भनाइ छ। बुधवार पीडितलाई सशस्त्र प्रहरीले छलफलको लागि भनेर बोलाएको स्रोतको भनाइ छ।

यो पनि पढ्नुहोस्

चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

प्रकाशित: ६ वैशाख २०८० १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App