२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

त्रियुगा नगरपालिकाले पायो २ महिनापछि नयाँ कार्यालय प्रमुख

जिल्लाको सबभन्दा ठूलो र जेठो नगरपालिका त्रियुगाले २ महिनापछि नयाँ कार्यालय प्रमुख पाएको छ। संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनको माघ २७ गते सरुवा गरेर सञ्जयबहादुर राजलबटलाई पठाएकोमा असहमति नगरपालिकाले हाजीर नगराएपछि ७० दिनदेखि कार्यालय प्रमुखबिहीन थियो।

दुईपटकसम्म हाजीर हुन आएका राजलबटलाई नगरपालिकाले हाजीर नगराएपछि मन्त्रालयले नयाँ प्रमुख प्रशाकीय अधिकृतको रुपमा उपसचिव विष्णुभक्त सिग्देललाई खटाएको छ। सिग्देल सोमबार नगरपालिकामा हाजीर भएपछि कामकाज सुचारु भएको छ। नयाँ हाकिम हाजीर भएसँगै नगरपालिकाको सम्पूर्ण कामकाज सुचारु भएको नगरप्रमुख बसन्तकुमार बस्नेतले बताए। हाकिम आएलगत्तै आर्थिक कारोबारदेखि नीतिगत निर्णय गर्ने बाटोसमेत सहज भएकाले अव दु्रतगतिमा नगरले आफ्ना गतिबिधि अघि बढाउने मेयर बस्नेतले बताए।

कार्यालय प्रमुख नहुँदा नगरपालिकाको सामान्यबाहेक जटिल खालका सबै काम र आर्थिक कारोबारसँग सम्बन्धित सम्पूर्ण कामकाज रोकिएको थियो । कार्यालय प्रमुखको अभावमा खासगरी आर्थिक कारोबारसँगै जटिल र गम्भीर प्रकृतिका कामहरु रोकिदा नगरबासी मार्कामा परेको जनगुनासो व्यापक हुँदै गएको थियो। आर्थिक कारोबार रोकिदा नयाँ योजना सम्झौतादेखि निर्माणाधीन योजनाहरुको अनुगमन, नियमन र भुक्तानी प्रक्रिया रोकिनुका साथै जनप्रतिनिधि र करार कर्मचारीले ३ महिनादेखि तलव भत्तासमेत पाएका थिएनन्।

त्यसैगरी सामाजिक सुरुक्षा भत्ता पनि हाकिमकै अभावमा रोकिन पुग्दा नगरबासी जेष्ठ नागरिक वृद्धवृद्धा, दलित जेष्ठ नागरिक तथा बालबालिका, एकल महिला, अल्पसंख्यक, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिहरुले चालु आर्थिकर्षको तेस्रो चरण पाउनुपर्ने भत्ता पाउन सकेका थिएनन्। सामाजिक सुरक्षा भत्ता भुक्तानी नहुँदा खासगरी गरिव, बिपन्न र दलित तथा अपाङ्गता भएका सेवाग्राहीहरु दिनहु नगरपालिका र बैंक धाएर भत्ता नपाएको गुनासो गर्दै सोधखोज गरिरहेका छन्।

नगरपालिकाकी लेखा अधिकृत बिनया बस्नेतले केही समययता कार्यालय प्रमुखको अभावमा सामाजिक सुरक्षा भत्ता र निर्माणाधीन योजनाको रनिङ बिल तथा सम्पन्न योजनाहरुको भुक्तानी कार्यमा बाधा परेको बताइन्। १६ वटा वडा रहेको नगरपालिकामा दर्जनौँ विकासे योजनाहरु निर्माणाधीन र कतिपय योजना सम्पन्नसमेत भइसके पनि कार्यालय प्रमुखकै अभावमा भुक्तानी रोकिएको उनले बताइन्। सामाजिक सुरक्षा भत्ता र योजनाको भुक्तानीको समस्या दिनहुँ जस्तो सेवाग्राहीहरुबाट सुन्नु परेको भन्दै अधिकृत बस्नेतले नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि कामकाज सुचारु भएको बताइन्।

नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजीर भएलगत्तै मंगलबारसम्ममा सबै बैंक खाताहरु सञ्चालन हुन थालेका छन् भने आर्थिक कारोबार सुचारु भएको छ। अन्य नीतिगत निर्णय गर्नका लागि कार्यपालिका बैठक बस्ने बाटो पनि खुलेको छ। २ महिनादेखि सुनसानजनस्तै देखिएको नगरपालिका कार्यालय प्रमुख आएपछि सेवाग्राहीको भिडभाड बढेको छ। खासगरी लेखा, योजना र प्राविधिक शाखाहरु सेवाग्राहीले भरिभराउ हुन थालेका छन्। 

त्रियुगा नगरपालिकाले चालु आर्थिकवर्ष ०७९/८० का लागि १ अर्ब २३ करोड ५३ लाख ३० हजार ४ सय ४० रुपैँयाको वार्षिक योजना पारित गरेको थियो। तर, गत पुसमा सम्पन्न हिउदे अधिवेशनमा अद्र्धवार्षिक प्रगति समक्षा गर्दा आन्तरिक स्रोत र संघीय बजेटको निकासा प्रक्षेपण अनुरुप सकारात्मक नदेखिएपछि सामान्य संशोधन गदर्दै बजेटको आकार घटाएको छ।  

प्रकाशित: ६ वैशाख २०८० १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App