७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मिटरब्याजपीडितलाई राहतभन्दा आहत

प्रहरी दमनबारे छानबिन समिति गठन

प्रहरीको लाठीबाट लागेको चोट देखाउँदै मिटरब्याजपीडित महिला । तस्बिरः प्रसन गुरुङ/नागरिक

काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ। राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहको स्मृतिमा उक्त शान्तिवाटिका स्थापना भएको हो। त्यही शान्तिवाटिका सोमबार एकाएक अशान्त बन्यो। त्यहाँको शान्ति बिथोलियो। त्यहाँ प्रहरीका लाठी बज्रिए, ढुंगा हानाहान भयो। प्रहरीले पानीका फोहरा बर्सायो।  

शान्तिवाटिकामा झन्डै महिना दिनदेखि देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित बसेका छन्। महोत्तरीको बर्दिबासबाट पैदल हिँडेरै चैत १३ गते काठमाडौं आएका मिटरब्याजपीडितको पहिलो समूह शान्तिवाटिकामा बसेको थियो। त्यो समूह सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको थियो। त्यसपछि विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित चैत २० गतेदेखि शान्तिवाटिकामै बसेका छन्। काठमाडौं आएका मिटरब्याजपीडितको यो दोस्रो समूहले सरकारलाई माग पूरा गर्न दबाब दिइरहेको छ।  

आन्दोलनकै क्रममा सोमबार मिटरब्याजपीडित मार्चपास्टसहित सिंहदरबार घेर्ने र गिरफ्तारी दिने योजनामा थिए। यसबारे प्रहरी वृत्त दरबारमार्गकी प्रहरी प्रमुख कोपिला चुँडाललाई जानकारीसमेत दिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए।  

‘उहाँसँग कुरा गरेरै सडक अवरुद्ध नहुने गरी रत्नपार्क, जमल, दरबारमार्ग, हात्तीसार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप, भद्रकाली भएर सिंहदरबारअघिको निषेधित क्षेत्रमा जाने र गिरफ्तारी दिने योजना थियो,’ उनले भने। प्रवक्ता नवीनका अनुसार त्यसका लागि १ बजेको समय निर्धारण गरिएको थियो। ‘१२ बज्दा हामीले मार्चपास्टको तयारी गरिसकेका थियौं, लाम लागिसकेका थियौं,’ उनले भने, ‘एकाएक प्रहरीले बाहिर निस्किन नमिल्ने भन्यो। गेट बन्द गरिदियो। हामी सबै आक्रोशित भयौं, गेटमाथि चढेर बाहिर निस्किन थाल्यौं, त्यसैबेला एकाएक प्रहरीले लाठी हान्न थाल्यो। प्रहरीले शान्तिवाटिकाभित्रै पसेर लाठी, पानीको फोहरा र अस्रुग्यास प्रहार गर्यो।’ प्रहरीले ६ राउन्ड अस्रुग्यास प्रहार गरेको उनको दाबी छ।

प्रहरीले अमानवीय ढंगले दमन गरेको प्रवक्ता नवीन बताउँछन्। ‘प्रहरीले महिनामाथि पनि लाठी हान्यो,’उनले भने, ‘हाम्रा ४३ जना साथी ट्रमा सेन्टरमा हुनुहुन्छ। २६० जनाभन्दा बढीलाई लाठी हानियो।’ सरकार माग पूरा गरी राहत दिनुको साटो दमन गरेर लखेट्ने योजनामा लागेको मिटरब्याजपीडितको आरोप छ।

काठमाडौंकेन्द्रित आन्दोलन गर्न आएका ४ सयजना जति मिटरब्याजपीडितलाई प्रहरीले जबरजस्ती गाडीमा हालेर थानकोट कटाइदिएको प्रवक्ता नवीनको दाबी छ।  

उनले भने, ‘सेल्टर बनाएका सबै त्रिपाल उजाडिए। चारवटा खाना पकाउने ग्यास सिलिन्डर लुटियो। २० बोरा चामल, तरकारी, लुगा छरपस्ट पारिए। यो सबै हामीलाई लखेट्नकै लागि गरिएको हो।’ प्रहरीको दमन हेर्दा सरकार मिटरब्याजपीडितको पक्षमा काम गर्न नचाहेको देखिएको उनले बताए।  प्रहरीले भने आन्दोलनकारीबाट सार्वजनिक शान्तिसुरक्षामा खलल पुग्ने स्थिति देखापरेकाले मार्चपास्ट र सिंहदरबार घेराउ कार्यक्रम रोक्न बल प्रयोग गर्नुपरेको दाबी गरेको छ। ‘उहाँहरूको हिजो (सोमबार) को योजना नै हिंसात्मक प्रकृतिको थियो। भाटामा किला ठोकेर वारपारको लडाइँ गर्ने भन्दै हिंसात्मक स्थितिमा उत्रिने सूचना पाएपछि हामीले रोक्न खोजेका हौं,’जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने, ‘प्रहरीले प्रचलित ऐननियमअनुसार आफ्नो दायित्व र कर्तव्य निर्वाह गरेको छ।’ एक महिनासम्म मिटरब्याजपीडितको आन्दोलनमा प्रहरीले सहिष्णु व्यवहार गरेको दाबी गर्दै उनले सोमबार स्थिति नियन्त्रणमा राख्न र सार्वजनिक शान्ति कायम गर्न खोज्दा अवस्था तनावपूर्ण बनेको बताए। सोही घटनामा ११ जना घाइते भएको एसएसपी कार्कीले बताए।

चौतर्फी आलोचना

शान्तिवाटिकामा बस्दै आएका मिटरब्याजपीडितमाथि सोमबार प्रहरीले गरेको दुव्र्यवहारको चौतर्फी आलोचना भइरहेको छ। मिटरब्याजपीडितमाथि भएको दमनविरुद्ध बृहत् नागरिक आन्दोलनले बुधबार ‘मानवअधिकार मार्च’ गर्ने भएको छ। दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद् भवनसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ।

‘प्रहरीले मिटरब्याजपीडितलाई शान्तिवाटिका बाहिर निस्कन नदिई भित्र थुनेर अस्रुग्यास र पानीको फोहरा प्रहार गर्यो, शान्तिपूर्ण विरोध प्रदर्शनका निम्ति शान्तिवाटिकाबाट निस्कन लागेका महिलालाईसमेत लछारपछार गर्यो, किसान–मजदुरहरूलाई टाउकोमा ताकेर लाठी प्रहार गर्ने अमानवीय कृत्यसमेत गर्यो,’बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा लेखिएको छ। घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ। यस्तै राष्ट्रिय मानवअधिकार आयोगले मिटरब्याजपीडितमाथि प्रहरीले गरेको धरपकडप्रति सरकारको ध्यानाकर्षण गराएको छ। स्थलगत अनुगमन गरेको आयोगले मिटरब्याजपीडितलाई शान्तिवाटिकाबाट बाहिर निस्कन प्रहरीले रोक लगाउँदा घटना भएको जनाएको छ। प्रहरी दमनबाट अन्तर्राष्ट्रिय घोषणापत्र, नागरिकले मर्यादित रूपले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्न पाउने अधिकारको गम्भीर उल्लंघन भएको आयोगले जनाएको छ।

यो विषयले प्रतिनिधिसभा बैठकमा पनि प्रवेश पाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजपीडित र लघुवित्तपीडितमाथि प्रहरीले गरेको दमनबारे गृहमन्त्रीले संसद्लार्ई तत्काल जानकारी गराउनुपर्ने माग गरे। यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा आएर जवाफ दिनुपर्ने उनको माग थियो।

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे। उनले शान्तिवाटिकामा प्रहरीले मिटरब्याजपीडितमाथि गरेको दमनको निन्दा गर्दै उनीहरूको माग सम्बोधन नभए राप्रपा सडक संघर्षमा उत्रिने चेतावनी दिए।

छानबिन समिति गठन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिवाटिकामा सोमबार भएको घटना छानबिन गर्न समिति बनाइएको बताएका छन्। मन्त्रालयमा मंगलबार आयोजितच पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए। ‘सोमबार मिटरब्याजपीडितमाथि प्रहरीले बल प्रयोग गरेको सम्बन्धमा गृह मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ,’ उनले भने, ‘समितिले घटनाको सत्यतथ्य छानबिन गर्नेछ।’

मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले केही पहल थालेको पनि गृहमन्त्री श्रेष्ठले बताए। ‘पीडितहरूको समस्या समाधानका लागि आयोग गठन भइसकेको छ। अब आयोगले उजुरी लिएर छानबिन प्रक्रिया अघि बढाउँछ,’ उनले भने, ‘हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, सरकारी वकिल, मालपोत कार्यालय, नापी कार्यालय, बैंक र मिटरब्याजपीडितका प्रतिनिधिसहितको संयन्त्र गठन गर्न लागिएको छ।’ संयन्त्रले पीडितहरूलाई न्याय दिनेमा आफू ढुक्क रहेको उनले बताए। पछिल्लो पटक आन्दोलन गर्न राजधानी आएका मिटरब्याजपीडितका प्रतिनिधिले ६ पटक सरकारसँग वार्तामा बसे पनि सहमति जुट्न सकेको छैन।

प्रकाशित: ६ वैशाख २०८० ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App