४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मिलेमतोमा सर्लाहीको वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ। सर्लाहीको जानकीनगरमा रहेको सब डिभिजन वन कार्यालयका कर्मचारीको  मिलेमतोमा राष्ट्रिय वन अतिक्रमण गरी माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ।

सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनय कुमार साहको मिलेमतोमा राष्ट्रिय जंगलमा पर्ने करिब पौने दुई बिघा क्षेत्रफलको जग्गाबाट माछा पोखरी उत्खनन गरी माटो  बिक्री गरेको खुलेको छ। बरहथवा घर भएका मननाथ निरौलाको १३ कठ्ठा १७ धुर नम्बरी जग्गा देखाएर माटो उत्खनन गर्दै पौने दुई बिघा जग्गामा माछा पोखरी निर्माण गरिएको छ। वनको जग्गामा पोखरी खन्न दिए बापत निरौलासित सहायक वन अधिकृत साहले कमिसन लिएको आरोप स्थानीयले लगाएका छन्।  

राष्ट्रिय जंगलको जग्गा र व्यक्तिगत जग्गा कुन हो भनेर आफूले एक्किन गर्न नसकेकाले त्यस ठाउँमा  माछा पोखरी खनिएको सब डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख साहको भनाइ छ। मिलेमतोमा माछा पोखरी खन्न दिएको आरोप लागेपछि राष्ट्रिय जंगल र नम्बरी जग्गा छुट्टाउन केही दिनमा नै अमिन बोलाएर जग्गा नापी गर्ने साहले जानकारी दिएका छन्।

पोखरी खनिएको जग्गा राष्ट्रिय जंगलको नभई आफ्नो निजी जग्गा भएकाले माछा पोखरी निर्माण गरेको निरौलाको दावी छ। आफूले धेरै वर्षदेखि उपभोग गरिरहेको नम्बरी र केही ऐलानी जग्गा रहेकाले भोग चलन अनुसार नै पोखरी खनेको निरौलाको तर्क छ।

निरौलाको नाममा दर्ता कायम रहेको जंगल छेउको १३ कठ्ठा १७ धुर बाहेक करिब डेढ बिघाभन्दा बढी जंगलको जग्गा अतिक्रमण गरी माछा पोखरी खनिएको छ।

राष्ट्रिय जंगल अतिक्रमण गरी माछा पोखरी निर्माण गरेको र त्यहाँको माटो उत्खनन गरेर अन्यत्र  बिक्री गरेको भन्ने खबर आफुलाई आइतबार मात्र आएको हरिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नानीबाबू थापाले बताएका छन्। पौने दुई बिघाभन्दा बढी क्षेत्रमा पोखरी निर्माण भएको देखियो, पोखरी खन्दा वन कार्यालय र वडा कार्यालयलाई जानकारी दिनुपर्ने हो र वडाको सिफारिस पनि लिनुपर्ने हो तर वन र वडा कार्यालय कतैको अनुमति लिएको नदेखिएको वडाध्यक्ष थापाको दाबी छ। निरौलाको जग्गा १३ कट्ठा १७ धुर मात्रै देखिएको तर पोखरी पौने दुई बिगाहा क्षेत्रफलमा खनिएको विषयमा सम्बन्धित पक्षसित छलफल भइरहेको वडाध्यक्ष थापाको भनाइ छ।  

राष्ट्रिय जंगलको छेउमा नम्बरी जग्गा देखाएर केही व्यक्तिले जंगल अतिक्रमण गरी पोखरी निर्माण गरेको र त्यस स्थानको माटो बिक्री भएको खबर आएकाले स्थलगत निरीक्षण गरी दोषी पाइए कारबाही गरिने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले बताएका छन्। जंगल अतिक्रमण गरी पोखरी निर्माणसम्बन्धी स्थानीयको गुनासो आएपछि सम्बन्धित जग्गाधनीलाई  जग्गाधनी पुर्जासहित  कार्यालयमा उपस्थित हुन पत्राचार गरिसकिएको प्रमुख अहमदको दाबी छ।  

वन क्षेत्रको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिने र कसैले कानुन विपरीत गरेको भए कुनै पनि हालतमा नछाडिने चेतावनी पनि प्रमुख अहमदले दिएका छन्।

प्रकाशित: ५ वैशाख २०८० १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App