१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैनः एमाले सचेतक बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन्।

सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले नेकपा एमाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुंगोमा पुर्याउनुपर्छ भन्ने पक्षमा रहेको र अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा रहेको बताए। उनले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको उल्लेख गर्दै विधेयकमा रहेका कतिपय कन्टेनहरुमा विस्तृत छलफल गर्न आवश्यक रहेको बताए। उनले एक महिनाको समय लिएर भएपनि परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए।  

उनले भने, ‘आजको बैठकको निस्कर्ष भनेको दलहरुकाबीचमा समझदारी गरेर अघि बढ्ने, सहमतिकासाथ अघि बढ्ने भन्ने सन्दर्भमा केन्द्रित भयो। नेकपा एमालेले प्रधानन्यायाधीशबिहीन सर्वोच्च अदालत भएकाले अविलम्व प्रधनन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने कुरा राखेको छ। त्यसका लागि संवैधानिक परिषद्को बैठक बस्नुपर्छ। अविलम्व बैठक बसेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति भएको छ।'

उनले टिआरसीलाइ परिपक्व ऐन  बनाएर अगाडी बढ्नु पर्ने बताए । उनले भने, 'टिआरसीसँग सम्बन्धित विषय, विषयगत समिति पनि तत्काल बनाउने बारेमा छलफल भएको छ। टिआरसी राष्ट्रको साझा विषय हो। हामी छिटो गर्नुपर्छ भन्नेमा छौँ। त्यसको अर्थ विधेयकमा रहेका कतिपय कन्टेनहरुमा रहेका कुरामा पनि हामीले वहस, छलफल गर्नुपर्छ। हामीले अन्तर्राष्ट्रिय मानवअधिकारलाई हेरेर कानून बनाउनुपर्छ, त्यसमा हामीले स्वीकारेका छौँ, पीडितहरुलाई न्याय दिने बारेमा बुझेर मात्रै कानून बनाउनुपर्छ। सत्यको राम्रोसँग अन्वेषण गरेर मात्रै कानून अघि बढाउनुपर्छ। टिआरसी विधेयक समितिमा लैजानुपर्छ। विभिन्न कन्सरमा व्यवस्थित छलफल गरेर अघि बढाउनु पर्छ। १ महिना ढिलो गरौँ तर परिपक्व ऐन बनाएर अघि बढौँ।’

सचेतक बर्तौलाले आजको बैठकमा प्रमुख तीन राजनीतिक दलहरुका बीचमा संसदीय गतिविधिमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भएको बताए।

प्रकाशित: ४ वैशाख २०८० ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App