७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भक्तपुरमा ढल विस्तार गर्दा दुई मजदुर पुरिए

भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा दुई जना मजदुर पुरिएका छन्। ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।

जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं –२ बालकोटको रागीनी हाईटमा काम गरिरहेका उनीहरू पुरिएका हुन्। कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहेको छ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँझ चार बजे भएको जनाए। हाल उनीहरुको उद्धार कार्य जारी रहेको एसपी केसीले जनाए।

उनीहरुमध्ये सुनसरी गढी गाउँपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने वर्ष ३० को सियाराम सदालाई साढे पाँच बजे उद्धार गरी उपचारको लागी नजिकैको भक्तपुर ईन्टरनेशनल अस्पताल लगेको उनले जनाए। उनी बोल्न सक्ने अवस्थामा रहेका छन्।

सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदाको ६ बजे उद्धार कार्य भएको उनले जनाए। उनलाई पनि अस्पताल लाने काम भइरहेको एसपी केसीले जनाए।

घटनास्थलमा निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने वर्ष ४६ को रामदेव यादव एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर ईन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। उनी सुगर प्रेसरको रोगी भएको पनि जनाइएको छ।

खबर प्राप्त हुनासाथ प्रहरी हवलदार प्रमीला कार्कीको टोली घटनास्थलमा खटिई गएका थिए। साथै वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ।

घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर।दक्षिण पश्चिममा पर्दछ। घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ।

प्रकाशित: ३ वैशाख २०८० १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App