coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेल्जियममा झल्कियो ‘मिनी नेपाल’

नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवर्द्धन, नेपाली मौलिक खानाको प्रचारप्रसार गर्ने उद्देश्यले बेल्जियमको लुभेन सहरमा शनिवार एक दिने नेपाली मेला सुरु भएको छ।

गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनमा हरेक वर्ष आयोजना भएको मेलामा  नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली सङ्घसंस्थाको सहकार्य रहेको छ।

नेपाल प्रमोसन अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जियमले जनाएको छ।

मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टलहरू प्रदर्शनीमा राखिएका छन्। मेला सुरु हुनु अघि नेपाली मन्चेबाजा सहरको मध्य भागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरञ्जन लिएका थिए।

प्रमुख अतिथिको रुपमा मेलालाई सम्बोधन गर्दै लुभेन नगरपालिकाका मेयर महमद रिजवानीले नेपाली समुदायले लुभेन सहरमा खेलेको भूमिका प्रशंसा गरे। उनले नेपालमा गएको महाभूकम्पको बेला लुभेनबासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माले गैर आवासीय नेपाली संघ विश्वै एक यूनिक संस्था रहेको चर्चा गर्दै सङ्घको आयोजनामा भएको नेपाली मेला निकै आकर्षक र नेपाल झल्किने रहेको बताए।

शर्माले विदेशी सहरमा आयोजना हुने यस्ता मेलाले नेपालको पर्यटन प्रवर्धन तथा विदेशमा जन्मिएर हुर्किँदै गरेको दोस्रो पुस्तालाई नेपाली चिनाउने महत्त्वपूर्ण भूमिका हुने बताए। उनले नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउन सबै पक्षसँग मिलेर काम गर्न आव्हान गरे।

उद्घाटन कार्यक्रममा बोल्दै बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राज भण्डारीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउन सक्रिय एनआरएनए बेल्जियमलाई धन्यवाद दिँदै मेलाको सफलताको लागि शुभकामना दिए।

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्का बहादुर केसीले स्वागत मन्तव्य दिएको मेला भर्न करिब ५ हजार भन्दा बढी नेपाली तथा विदेशीहरू लुभेन सहर पुग्ने आयोजकले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८० १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App