१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

९ लाख बुझाएको तीन वर्ष पुग्दा पनि विदेश जान पाइएन

विदेश जानेको लर्को बढ्दै जाँदा दैनिक करिब ३ हजारको हाराहारीमा बिदेसिने गरेका छन्। विदेश जाने चक्करमा फसाउने एजेन्ट र फस्ने पीडितको संख्या पनि उत्तिकै रहेको छ। विदेश जाने सपना बुन्दै गर्दा विद्यार्थी तथा कामदारहरू विभिन्न एजेन्सीसँग पुग्छन् तर आफू कहाँ गएर फसिने हो, त्यो कसैलाई पत्तो हुँदैन।

भोजपुर दावा नगरपालिका-३ का उत्तम खड्कासँग बसुन्धारामा रहेको जुम इन्टरनेसनल कम्पनीले क्रोएसिया पठाउने भन्दै ९ लाख ३८ हजार रूपैयाँ लिएको अहिले ३ वर्ष भयो। तर पनि खड्का विदेश जान पाएका छैनन्।

करिब १० लाख रूपैयाँ असुल गर्ने रूपन्देही सैनामैना नगरपालिका-६ का धनबहादुर घर्ती जुम कम्पनीका कर्मचारी हुन्। लाखौं पैसा उक्त म्यानपावरलाई बुझाउँदा खड्का जस्तै अन्य व्यक्ति पनि वर्षौं बितिसक्दा पनि बिदेसिन पाएका छैनन्।

जुम इन्टरनेसनल कम्पनीले केही वर्षदेखि नै खड्का लगायत अन्य नेपालीलाई क्रोसिया पठाउने भन्दै लाँखौंलाख असुल गरेको पीडितको आरोप छ। उक्त कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको विभागले पनि जानकारी दिएको छ। क्रोसिया जाने सपनाले अहिले घर न घाट भएको खड्का भन्छन्, ‘ऋण काढेर साडे ९ लाख पैसा जुम इन्टरनेशनल कम्पनी म्यानपावरलाई बुझाएको करिब ३ वर्ष हुँदा न विदेश जान सकियो न त पैसा नै फिर्ता आयो।’

वैदेशिक रोजगार विभागमा उजुरी दिएको महिनौ बित्दा पनि पैसा उठ्ने आसा अझै नभएको खड्काले बताए। भोलिर्समा नै भिजा आउँछ भन्दै पैसा असुल गर्ने गरेको जुम म्यानपावरले दुब्लिकेट भिजा बनाएर सयौं नेपालीलाई अन्योलमा पारी फसाउने गरेको पीडितहरूको गुनासो रहेको छ।

जुम इन्टरनेसनल कम्पनीका सञ्चालक विष्णुबहादुर बस्नेत र कर्मचारी धनबहादुर घर्तीले विभिन्न आश्वासन दिदै पैसा असुल गरे पनि अझै उक्त जुम कम्पनी बसुन्धारास्थित सञ्चालनमै आइरहेको पीडितको भनाइ छ। जुम कम्पनीका कर्मचारी घर्तीको कुरालाई उद्धृत गर्दै खड्का भन्छन्, ‘जति चाँडो पैसा बुझायो, त्यति छिटो भिसा लाग्छ। यदि भिसा लागेन भने पनि काठमाडौंमा भएको घरजग्गा नै तपाईहरूको नाममा गरिदिन्छौं। किन आत्तिएको हो? क्रोसिया जान मिलेन भने पनि पोर्चुगल, पोल्यान्डका साथै अन्य देश पठाउनेछौं।’

यसरी जुम म्यानपावर कम्पनीले विदेश पठाउने विभिन्न माध्यामबाट आश्वासन दिँदै आएको तर विदेश भने पठाउने नगरेको थुप्रै पीडितको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।

उक्त कम्पनीले पीडितसँग वर्क परमिटका साथै नक्कली भिसा देखाई करोडौं पैसा लिई मेडिकल पनि गर्न लगाएको खड्का जस्तै भोजपुरकै अर्का पीडित विक्रम श्रेष्ठले बताए।

विदेश जाने चक्करमा श्रेष्ठले पनि ४ लाख ७७ हजार ५ सय रूपैयाँ जुम कम्पनीका एजेन्ट घर्तीलाई बुझाएका छन्। एजेन्ट घर्तीले पैसा दिन्छु भन्दै १ लाख रूपैयाँ ऋण गरेर भारत पुग्दा एजेन्ट नेपाल फर्किसकेको भन्दै विभिन्न झमेलामा पारेको पीडितको भनाइ छ।

एजेन्टले आफू धरान, नागढुंगा र भक्तपुरमा पीडितलाई भेट्ने भन्दै विभिन्न ठाउँमा झुलाउँदै गर्दा अब त घर्तीले मोबाइल पनि अफ गरेको श्रेष्ठले बताए। करिब ३ वर्ष पुग्दासम्म पनि पैसा फिर्ता गर्न नसकेपछि दोहोर्‍याएर वैदेशिक रोजगार विभागको ढोका ढकढक्याउन पीडितहरू पुगेका छन्।

अझै सञ्चालनमा रहेको जुम कम्पनीविरुद्ध विभागको ढोकासम्म पुग्ने खड्का र श्रेष्ठसँगै अन्य १३ जना पनि रहेका छन्। ‘आज र भोलिमा पैसा दिने आश्वासनमा ३ वर्ष हुन लागिसक्यो,’ पीडितले भने, ‘एजेन्टको काठमाडौंमा भएको घरजग्गा पत्नीको नाममा राखी एजेन्टहरू खुलेआम हिँडेका छन्। एजेन्टका पत्नीहरूले नयाँ घर, नयाँ स्कुटर फेरी हिँड्ने गरेका छन्। तर पनि विभागले केही गरेको छैन।’ एजेन्टका पत्नीविरुद्ध उजुरी गर्न पनि नमिल्ने पीडितको सुनुवाइ छ।

पैसाले पैसा तान्छ भन्थे तर विदेश गएर पैसा कमाउने सपनाले ऋण गरेको पैसा धरी फस्ने गरेको पीडित समाजमा अझै बढ्दै छन्। चालु आर्थिक वर्षको चैत २४ गते सम्म व्यक्तिगत र संस्थागत गरी ८ सय ९ जनाको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।

त्यस्तै आव २०७६/७७ मा व्यक्तिगत उजुरी ४ सय ७३ जनाको रहेको छ भने ७ सय ५६ जनाको संस्थागत उजुरी परेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। आर्थिक वर्ष २०७७/७८ मा संस्थागत र व्यक्तिगत उजुरी गरी जम्मा ५ सय ३६ जनाको थियो भने गत आर्थिक वर्ष २०७८/०७९ मा व्यक्तिगत ३ जना र संस्थागत ८ सय ८४ जनाको उजुरी विभागमा परेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रकाशित: २९ चैत्र २०७९ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App