१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सुरक्षामा चरम खेलवाडः चक्रे ‘डन’ को सुरक्षामा घातक ‘एके–४७’ बन्दुक प्रयाेग

देशका एक जना ‘डन’ ले आफ्नो व्यक्तिगत सुरक्षामा ‘एके–४७’ बन्दुक प्रयोग गरेको पाइएको छ। आम नागरिकको शान्ति सुरक्षामा यो भन्दा चरम लापरवाही के हुन सक्छ र? एक जना डन घातक हतियार लिएर डुलिरहँदा सुरक्षा निकायहरू के हेरेर बसिरहेको छन्?

बेलाबेला डनहरूले विभिन्न देशका पेस्तोलहरू प्रयोग गरेका घटनाहरू त बाहिरिएकै थिए। तर यस पटक त ‘एके–४७’ बन्दुकनै प्रयोग भएको छ।

चक्रे’ भनिने चर्चित ‘डन’ मिलन गुरुङ।

‘चक्रे’ भनिने चर्चित ‘डन’ मिलन गुरुङ (चक्रे मिलन) शान्तिसुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार‘एके–४७’को सुरक्षा घेरामा देखिएका हुन। दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन्। उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए। बेलाबखत नेपाल प्रहरीको निगरानीमा रहने गरेका चक्रे मिलनले ‘एके–४७’ को सुरक्षा घेरामा रहेर शान्तिसुरक्षालाई चुनौती दिएका हुन्।

नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेको भनिएका चक्रे मिलन सोमबार महाधिवेशन स्थलमा नदेखिएको संघका एक नेताले जानकारी दिए। उनी युवा संघको महाधिवेशनमा प्रतिनिधि पनि नभएको जनाइएको छ। 

नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त भएपछि चक्रे मिलन यसरी खुला रूपमा हतियारसहितको सुरक्षामा देखिएका हुन्। काठमाडौंको चक्रपथ र ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने, त्यहाँ सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट र म्यानपावर कम्पनीलाई आफ्नो हातमा लिएर हप्ता उठाउँदै आएका चक्रे मिलन आफ्नो सुरक्षामा खटिएका युवकसँग होटलबाट निस्कँदै गरेको भिडियो सोमबार दिउँसो बाहिरिएको थियो। 

सो भिडियोमा आधुनिक हतियार एके–४७ बोकेका युवकले उनलाई सुरक्षा दिएको देखिएको छ। उनको पछिपछि हिँडेका ती युवकका हातमा भएको सो हतियार पनि भिडियोमा प्रस्ट देखिएको छ। उक्त हतियार एके–४७ नै भएको सुरक्षाकर्मीहरूको निष्कर्ष छ। 

ज्ञानेन्द्र वली ५७ नाम राखेर टिकटकबाट भिडियो सार्वजनिक गरिएको थियो। पछि भिडियो हटाइएको छ। उनी नेपालगन्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणामा नेपालगन्ज पुगेको र युवा संघको कार्यक्रममा भाग लिने बताइएको छ। उनको सुरक्षामा खटिने युवक गणेश बोगटी भएको स्रोतको भनाइ छ।

यसअघि प्रहरीले काठमाडौंका गुन्डाहरूबाट बेलाबखत चाइनिज पेस्तोल तथा अन्य साना हतियारहरू बरामद गरे पनि यसरी ठुला तथा आधुनिक हतियार भने देखिएको थिएन।  

माओवादीले सशस्त्र द्वन्द्व गरिरहेका बेला उसका लडाकु र नेपाली सेनाले यस्तो हतियार प्रयोग गर्दै आएका थिए। तर चक्रे मिलनका साथमा सो हतियार कसरी आइपुग्यो भन्ने विषयमा नेपाल प्रहरी पनि अनभिज्ञ देखिएको छ। 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले कानुनी प्रक्रिया पूरा गरेर हतियार लिइएको भए पनि प्रदर्शन गर्न नपाइने स्पष्ट पार्दै कस्तो हतियार के प्रयोजनका लागि देखाइयो भन्ने विषयमा खुल्न बाँकी रहेको बताए।  

त्यसबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। ‘कानुनी रूपमा लाइसेन्स लिएको हतियार पनि यसरी सर्वसाधारणलाई तर्साउने र प्रभाव पार्ने गरी प्रदर्शन गर्न पाइँदैन, गैर कानुनी रहेछ भने कानुनबमोजिम पक्राउ गरी कारबाही हुनेछ,’प्रवक्ता पोखरेलले भने। उनका अनुसार अहिले बाँके प्रहरीले उक्त विषयमा अनुसन्धान गरिरहेको छ।

गुन्डा नाइकेहरू ‘घैंटे’भनिने कुमार श्रेष्ठ र ‘चरी’भनिने दिनेश अधिकारी प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दी हटेको भनिएको थियो। त्यसपछि स्वयं चक्रे मिलन पनि गुमनाम बसेका थिए। तर अहिले उनका केही गतिविधि अस्वाभाविक देखिएको प्रहरीको भनाइ छ। 

२०७४ सालपछि उनी प्रहरीको नियन्त्रणमा छैनन्। २०७४ वैशाखमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको चक्रपथस्थित उनकै घरमा गएर चक्रे मिलनलाई पक्राउ गरेको थियो। स्थानीय चुनावको सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै महाशाखाले उनलाई पक्राउ गरेको हो। त्यसपछि प्रहरीले सामान्य कागज गरेर छाडिएका उनीमाथि अहिले भने सामान्य निगरानी पनि नराखिएको अवस्था छ।

२०७९ सालको संघीय संसदको निर्वाचनका लागि उनलाई गोरखा क्षेत्र २ बाट एमालेले उम्मेदवारमा सिफारिस गरेको थियो। त्यतिबेला उनी गोरखा पुगेका थिए। गुरुङसँगै एमालेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको थियो। तर पछि उनलाई उम्मेदवार बनाइएन। 

२०७१ सालमा चक्रे मिलन सम्पत्ति शुद्धीकरणको मुद्दामा १ करोड धरौटी बुझाएर छुटेका थिए। तनहुँको व्यास नगरपालिकास्थित अर्कैका नामको जग्गा धरौटीमा राखेर उनी छुटेका थिए। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० जेठ अन्तिम उनीसँग १ करोड धरौटी मागेको थियो। तर लागुऔषधको मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहेका कारण उनले धरौटी बुझाएनन्। थुना छुटेलगत्तै १ करोड धरौटी राखेका उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिइसकेको छ। उनीविरुद्ध विभागले १४ करोड रूपैयाँबराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

काठमाडौंमा २०५०÷५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने क्रममा उदाएका चक्रे मिलन राजधानीमा चर्चामा आएका पुराना डनमध्येमा एक हुन्। ठमेलबाट गुन्दागर्दै थाले पनि पछि ठमेलमाथि दीपक मनाङले कब्जा गरेपछि उनी कार्यक्षेत्र बदलेर महाराजगन्ज चक्रपथ पुगेका थिए। आफ्नो क्षेत्र बनाएर डनगिरी गर्ने गरेका उनले डान्स बार र रेस्टुरेन्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा गर्दै आएका थिए। उनलाई पैसा नबुझाई कसैले त्यहाँ होटल र रेस्टुरेन्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो। चक्रे मिलन धेरैपटक पक्राउ पर्ने र छुट्ने गरेका छन्। तर उनले आफ्नो पुरानो धन्दालाई कायम राखेको देखिन्छ।

प्रकाशित: २८ चैत्र २०७९ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App