नेपाल–भोट (तिब्बत) बीचको विविध सम्बन्धलाई प्रकाश पारिएको ‘भोटमा नेपालीः पहिचान र पराक्रम’ नामक पुस्तक प्रकाशित भएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तीर्थप्रसाद मिश्रद्वारा लिखित यो पुस्तकमा नेपालीहरू कहिले, किन र कसरी भोट पुगे, त्यहाँ कस्तो–कस्तो व्यापार–व्यवसाय गरे, के–कस्ता सुविधा पाए, त्यसबाट दुई देशबीच आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक सम्बन्ध स्थापना र विकासमा कस्तो योगदान पुग्यो भन्ने विषयवस्तु विभिन्न प्राथमिक र द्वितीय स्रोतका आधारमा केलाइएको छ। यो पुस्तक कूटनीतिक इतिहास अध्येताका लागि पनि नयाँ खुराक बन्न सक्छ।
पुस्तकमा इस्वीको सातौं शताब्दीदेखि नेपाल–भोट सम्बन्धका प्रमाणिक सामग्री पाइएको उल्लेख छ। त्यसयता चीनले भोटलाई आफ्नो प्रभुत्वमा नल्याउनजेलसम्मका विविध पक्ष केलाइएको यो पुस्तकबाट भोटकै माध्यमबाट चीनसँग विकसित र स्थापित सम्बन्धबारे पनि जानकारी लिन पाइन्छ। पुस्तकमा नेपाल–भोटबीच भएका युद्ध र सन्धि, उपहार आदानप्रदान, भोटमा नेपालीको स्थान र प्राप्त सुविधा, नेपाली अड्डा, भोटमा रहेका नेपालीप्रतिको दृष्टिकोणलगायत विषयमा चर्चा गरिएको छ।
नेपाल–भोट सम्बन्धदेखि नेपाल–चीनबीच सन् १९५६ मा भएको सन्धिसम्मका केही महत्वपूर्ण पक्षलाई केलाइएको यो पुस्तक ६ अध्यायमा विभक्त छ। पहिलो अध्यायमा नेपाल–भोट सम्बन्धको ऐतिहासिक पृष्ठभूमि केलाइएको छ। नेपालकी राजकुमारी भृकुटी र भोटका सम्राट स्रङचङ गम्पोबीचको विवाह, भोट र चीनमा नेपाली वास्तुकला विकासमा कालीगड अरनिकोको योगदान, दुई पक्षबीच विभिन्न समयमा देखापरेका गतिरोध, युद्ध, सन्धि र सम्बन्ध, ल्हासामा नेपाली महाजनहरूको बन्द व्यापारलगायतका विषयमा चर्चा गरिएको छ।
दोस्रो अध्यायमा भोटमा रहेका नेपाली, उनीहरूको व्यापार, व्यवसाय, ल्हासालगायत विभिन्न क्षेत्रमा व्यापार गर्ने नेपाली महाजनले पाएका सुविधा, उनीहरूका कोठी, भोटमा रहेका नेपालीको संख्या, नेपाल–भोट व्यापार र व्यापारिक नाका, त्यहाँ रहेका नेपालीको चालचलनलगायत विषयमा प्रकाश पारिएको छ। भोटमा रहेका नेपालीले नेपालमा जस्तै चाडपर्व मनाएर आफ्नो संस्कृति जोगाएको र उनीहरू नेपालको कानुनअन्तर्गत चलेको चर्चा पुस्तकमा गरिएको छ।
भोटमा रहेका नेपाली अड्डा, तिनीहरूको जिम्मेवारी र कार्यरत कर्मचारीको सुविधालगायत विषयमा तेस्रो अध्यायमा चर्चा गरिएको छ। ल्हासामा नेपाली दूत-प्रतिनिधि (नायो–नायक-वकिल) को कार्यालय रहेको र तिनै दूत-प्रतिनिधिले भोट र चीनसँग सम्बन्ध सूत्रका रूपमा काम गर्थे। नेपाल सरकारले नियुक्त गरेका नेपाली दूत-प्रतिनिधिले दिने सल्लाह र सुझावका आधारमा भोट र चीनसँगको सम्बन्ध निर्देशित हुन्थ्यो। त्यस्तै ल्हासामा नेपालकै कानुनबमोजिम चल्ने अदालत स्थापना गरिएको थियो, जसको काम त्यहाँ रहेका नेपालीलाई न्याय दिनु हुन्थ्यो। ल्हासास्थित उक्त अदालतअन्तर्गत विभिन्न स्थानमा न्यायिक काम गर्ने अड्डा रहेको चर्चा पुस्तकमा गरिएको छ। त्यस्तै भोटको एक प्रमुख व्यापारिक नाका ग्यान्चीमा ग्यान्ची अड्डा खडा गरिएको थियो, जसको काम, ह्लासास्थित नेपाली वकिल-दूत, भोटका विभिन्न भागमा भएका व्यापारी र काठमाडांैबीच समन्वय गर्ने थियो। ग्यान्ची अड्डाको प्रमुखलाई थकाली भनिन्थ्यो। नेपाली व्यापारीले थकाली चुन्ने परम्परा थियो। त्यस्तै ल्हासामा नेपाली वकिल कार्यालय मातहत रहनेगरी प्राइमरी स्कुल स्थापना गरिएको थियो, जसमा नेपाली र तिब्बती भाषामा पढाइ हुन्थ्यो। नेपालीका सन्तानलाई पढाउन खोलिएको ‘श्री ३ जुद्ध नेपाली–तिब्बत’ नामक यो स्कुलमा सन् १९७३ सम्म पठनपाठन हुँदै आएको पुस्तकमा उल्लेख छ। त्यसपछि यो स्कुल बन्द भएको बुझिन्छ। भोटमा रहेका नेपाली र उनीहरूको हितमा खडा गरिएका अड्डा नेपालको कानुनअनुसार चल्थे।
चौथो अध्यायमा नेपाल र भोटबीच भएका विभिन्न सन्धिका आधारमा भोटमा त्यहाँ बस्ने नेपाली र नेपाल सरकारका अड्डाले पाएका सुविधाबारे चर्चा गरिएको छ। यसै अध्यायमा खचडा विवाद पनि प्रकाश पारिएको छ। भोटमा व्यापार गरी बस्ने नेपालीले भोटे कन्यासँग विवाह गरी जन्मेका छोरालाई खचडा भनिन्थ्यो। खचडाका कारण बेलाबेलामा खटपट आइरहथ्यो। भोट चीनको प्रभुत्वमा गएपछि नेपाल–चीनबीच सन् १९५६ मा भएको सन्धिसँगै खचडा समस्या पनि समाधान भयो। यो सन्धिले भोटमा नेपालीले पाएका एकतर्फी सुविधा अन्त्य गर्यो र त्यहाँ रहेका नेपाली त्यहींको कानुनअनुसार चल्नुपर्ने भयो। अध्याय पाँचमा ‘भोटका नेपालीप्रतिको दृष्टिकोण’ राखिएको छ। यसअन्तर्गत अंग्रेज, चिनियाँ र तिब्बतीले भोटका नेपाली र उनीहरूले पाएको सुविधाप्रति हेर्ने दृष्टिकोणको चर्चा गरिएको छ। अध्याय ६ मा कृतिकारले आफ्नो निष्कर्ष पस्किएका छन्।
नेपालीले भोटको व्यापारमा लामो समयसम्म एकछत्र आधिपत्य जमाएको र एक हदसम्म भोट नेपालको प्रभावमा रहेको पुस्तकबाट बुझिन्छ। यसका लागि नेपाल सरकारको नीति, भोटमा बस्ने नेपाली नेपालको कानुनअन्तगर्त चल्न पाउनेलगायतका सुविधा मात्र कारक नभई नेवार महाजनको व्यापार कला पनि महत्वपूर्ण देखिएको लेखकको निचोड छ।
नेपाल–भोट–चीनका विविध सम्बन्धबारे अध्ययन गर्न चाहनेका लागि यो पुस्तकले नयाँ खुराक पस्किएको छ। सरल भाषामा उनिएको यो पुस्तक संग्रहनीय छ। एउटै पुस्तक र संस्करणमा सबै कुरा समेट्न सकिँदैन तर इतिहासका अनुसन्धानकर्ताले यो पुस्तकमा प्रयोग गरिएका स्रोत र सामग्रीको सहयोगमा अन्य विविध पक्षमा कलम चलाउन सक्छन्, खुलस्त हुन नसकेका विषयलाई खुलाउन सक्छन्।
अनुसन्धान र समाजसेवामा सक्रिय प्राध्यापक मिश्रले यो पुस्तक इतिहासका प्राध्यापकद्वय डा. त्रिरत्न मानन्धर र हेमन्तशमशेर जबराप्रति समर्पण गरेका छन्। गुरूद्वय मानन्धर र जबराप्रति समर्पित यो पुस्तकको विमोचन बुधबार काठमाडौं कमलपोखरीस्थित रुसी सांस्कृति केन्द्रको सभाहलमा गरिएको थियो। प्राध्यापक डा. मानन्धर, जबरा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजंग शाह, इतिहास केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. विष्णुप्रसाद सापकोटा, त्रिविका रजिष्ट्रार प्राध्यापक डा. पेशल दाहाल, मिलीजुली प्रकाशन समूहका अध्यक्ष शारदाप्रसाद मिश्रलगायतले पुस्तक विमोचन गरेपछि आ–आफ्ना धारणा राखेका थिए। इतिहासका प्राध्यापक डा. घनश्याम भट्टराईले सञ्चालन गरेको विमोचन कार्यक्रममा इतिहासका प्राध्यापक लेखक मिश्र र अर्का प्राध्यापक डा. राजकुमार पोखरेलले पनि पुस्तकमाथि प्रकाश पारेका थिए।
प्रकाशित: २५ चैत्र २०७९ ०३:५२ शनिबार