गौशाला- सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा शनिबार पक्राउ गरिएका बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई आज महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी महोत्तरी, धनुषा, सिराहा र सर्लाही जिल्लामा सात जनाभन्दा बढीको हत्या गरी फरार रहेको आरोपमा पक्राउ परेका बुढा भन्ने दीपेन्द्र ठाकुरलाई आज सार्वजनिक गरेको छ।
प्रहरीको उच्च खोजीको सूचीमा रहेका दीपेन्द्र ठाकुर भारतको विभिन्न ठाउँमा लुकेर बस्दै आएकामा शनिबार बिहान जिल्लाको सिस्वाकटैया गाविस–१ बाट विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
प्रहरीले उनको साथबाट एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एक थान मोबाइल, एक थान भारतीय मोवाइलको सिम र १४.२० ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।
पक्राउ परेका ठाकुरले जिल्ला प्राविधिक कार्यालय महोत्तरीका सवओभरसियर पूर्णसिंह प्रधानलाई गोली हानी हत्या गरेको, जानकी मेडिकल कलेजका तत्कालीन सञ्चालक अशोक सिन्हाको धनुषा जिल्लाको जनकपुर–४ स्थित घरमा गोली प्रहार गरी उनका म्यानेजरलाई गम्भीर घाइते बनाएको, साथै अन्य सात बढी हत्याको आरोपमा फरार रहँदै आएका थिए।
त्यस्तै ठाकुरले महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको पनि धेरैजसो ठाउँमा अपहरण, चन्दा असुली र धाकधम्कीका दर्जन बढी घटना घटाइसकेको प्रहरीले जनाएको छ ।
ठाकुरमाथि महोत्तरीमा चार, धनुषामा पाँच, सिराहा र सर्लाहीमा गरी सङ्गठित अपराध, हातहतियार, चन्दा आतङ्क, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधलगायत दर्जनभन्दा बढी मुद्दा रहेका छन् ।
उनी तराईमा सशस्त्र विद्रोह गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह)मा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए। रासस
प्रकाशित: ११ पुस २०७३ ०९:२३ सोमबार