१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महोत्सवमा केराको मम चाख्नेको भीड

काँचो केराबाट बनेको ममः चिप्स, अचार लगायत परिकार चाख्दै । तस्विर:शंकर श्रेष्ठ

धादिङ–तपार्इंले धेरै थरीका मम खानु भएको होला । चिकन मःमः, बफ मःमः, सब्जी मम आदी । तर केराको पनि मम हुन्छ भन्ने सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा केराको मम चाख्नेहरुको भीड लाग्ने गरेको छ।

धादिङ महोत्सवमा काँचो केराबाट बनेको ममले सबैको ध्यान तानेको छ। मेलामा चितवन केरा उत्पादक संघले मासु वा अन्य सब्जीको साटो काँचो केराको किमा प्रयोग गरेर बनाएको ममसँगै केराकै चिप्स र बुङ्गाको अचार चखाएको हो।

भेज खानेहरुका लागि केराको मम अझ स्वादिष्ट हुने यस्सो स्वाद लिनेहरु बताउँछन् । ‘अरु थुप्रै ममको स्वाद चाखियो तर काँचो केराको मम बन्न भन्ने मात्रै सुनेको थिए, आज खाने अवसर मिल्यो, अरु भन्दा फरक स्वादको स्पाइसी हुने रहेछ’, केराबाट बनेको मम र चिप्स खाँदै गरेकी धादिङबेसीकी ललिता श्रेष्ठले बताइन् ।

काँचो केराबाट बनेको मम, चिप्स, ककौडा र बुंगाको अचार दर्शकका लागि नौलो परिकार भएको र सहुलियत दरमा खुवाइने भएकाले पनि भीड बढेको हो । मेलामा दैनिक ५५ हजार बराबरको मम मात्रै बिक्री भइरहेको संघका सदस्य तिलक प्रसाद भट्टले बताए ।

एक दिनमा ७ सयदेखि ८ सय जनाले मम र त्यसैकोको संख्याले चिप्स, पकौडा, अचार चाख्ने गरेको उनले जानकारी दिए । स्वास्थ्यका लागि राम्रो मानिने केरा पाकेर मात्र होइन काँचै पनि खान सकिन्छ भन्ने सन्देश प्रवाहका लागि मेला महोत्सवहरुमा केराको परिकार चखाउने गरेको संघका अर्का सदस्य संजयबाबु भट्ट बताउँछन् ।

 खानेकुरामा गुन्द्रुक, मासको दाल र ढिडो मुख्य आकर्षण बन्ने अपेक्षा राखिएको मेलामा केराको परिकार सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको छ । मेला वा महोत्सवमा मात्र होइन व्यावसायिक रुपमा केराको बहुपरिकार उत्पादन गरेर बिक्री गर्न सके केराको महत्व अझ बढ्ने जिल्ला कृषि विकास कार्यालय धादिङका केशवप्रसाद पन्थीले बताए ।

प्रकाशित: ११ पुस २०७३ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App