४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भन्सारका सुब्बाको अकुत सम्पत्ति

काठमाडौंका सात ठाउँमा जग्गा, १८ बैंकमा रकम

फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागमा काम गरेका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे र उनकी पत्नीविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग गर्दै आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भ्रष्टाचार मुद्दामा मुछिएका घिमिरे अर्थमन्त्री जनार्दन शर्माका पालामा अर्थ मन्त्रालयमा बजेट तयार पार्ने क्रममा ‘कर हेरफेरको पहुँचवाला’ भनी आरोप लागेका व्यक्ति हुन्। २०७९ जेठमा आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने बेला अर्थ मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरी करको दायरामै हेरफेर गरेको आरोप घिमिरेमाथि लागेको थियो।  

घिमिरेले पदमा रहँदा पत्नीका नाममा काठमाडौंका सात र रूपन्देहीका दुई गरी नौ स्थानमा जग्गा किनेका छन्। हाल उनीसँग काठमाडौंमा तीन तले घरसमेत रहेको अख्तियारकोे आरोपपत्रमा उल्लेख छ। घिमिरे, उनकी पत्नी, छोरीलगायतका नाममा हाल १८ वटा बैंकमा ३७ लाख ९ हजार रुपैयाँ रहेको अख्तियारको दाबी छ। एयरपोर्टलगायत विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा बसेर तस्करीमा संलग्न, राजस्वमारा व्यापारीसँग मिलेर करोडौं लुट्न सफल भएको आरोप उनीमाथि छ। व्यापारीहरूसँगको सेटिङमा राजस्व हिनामिना गरेको, राजस्व छलेको, भन्सार विभागबाट नायब सुब्बाको जागिर छाडी व्यापारिक घरानाको राजस्व छल्ने एजेन्टका रूपमा काम गरेको आरोप उनीमाथि छ। जुनियर अफिस असिस्टेन्टको पदबाट २०५२ सालमा सरकारी जागिरे बनेका उनले भन्सार विभाग काठमाडौंमा नायब सुब्बामा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा पदबाट राजीनामा दिएका थिए।  

सो अवधिमा घिमिरेले आन्तरिक राजस्व विभाग, एयरपोर्ट भन्सार, कर कार्यालय, भन्सार, राजस्व अनुसन्धान विभाग गरी १० वटा कार्यालयमा काम गरेका थिए। उनले काम गरेका भन्सार कार्यालयहरूमा राजस्व हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।  

राजस्वका विभिन्न कार्यालयमा बसी घिमिरेले राजस्व छलेर पत्नीलगायत परिवारका विभिन्न व्यक्तिका नाममा करोडौं सम्पत्ति कमाएर लुकाएर राखेको अख्तियारको आरोप छ। त्यसैगरी गैरकानुनी रूपमा सम्पत्ति कमाएर उनले विभिन्न कम्पनीमा लगानी, सेयर खरिद, जग्गा खरिदलगायत काम गरेको देखिएको हुँदा भ्रष्टाचार गरेको भनी परेको उजुरीका आधारमा अख्तियारले उनको सम्पत्तिमाथि अनुसन्धान गरेको थियो। घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ सम्मको आयव्यय विवरण अनुसन्धान गरेको थियो। २७ वर्षको अवधिमा घिमिरेको पारिश्रमिक, उनकी पत्नी शारदा गौतमको पारिश्रमिक, छोरीको पारिश्रमिक आय, कर्मचारी सञ्चयकोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल, कम्पनी लाभांशबापत प्राप्त वैधानिक आय, सेयर बिक्रीलगायत ५ करोड २५ लाख १६ हजार रूपैयाँ वैधानिक आयस्रोत भएको खुलाएको छ।

कुल वैधानिक आय र व्यय तुलना गर्दा सवा २ करोड रूपैयाँ अवैधानिक स्रोत भएको अख्तियारको दाबी छ। उनको ५ करोडभन्दा बढी आम्दानीलाई अख्यिारले वैधानिक मानेको छ। सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक कर्मचारीले अस्वाभाविक सम्पत्ति कमाएको, अमिल्दो उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको अख्तियारको दाबी छ। उनलाई करिब सवा २ करोड बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३, प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ। त्यसैगरी उनकी पत्नी शारदा गौतमका नाममा कायम त्यति नै बिगो कायम गरी अपुग बिगो सम्पत्ति जफत गरी असुलउपरका लागि मागदाबी लिइएको छ ।

प्रकाशित: २० चैत्र २०७९ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App