६ चैत्र २०८० मंगलबार
समाज

जनता दरबार कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढ्दो

रौतहटको गौर नगरपालिकाले आयोजना गर्ने गरेको जनता दरबार कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको छ।

नगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधासम्बन्धी सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलन गर्नका साथै विकास र निर्माणको लागि पनि राय संकलन गर्न आयोजना गर्ने गरिएको जनता दरबार कार्यक्रममा सबै क्षेत्रका सयौँ स्थानीयवासीको सहभागिता हुनुले कार्यक्रमप्रति आकर्षण बढेको हो।

खुल्ला सार्वजनिक सुनुवाई किसिमको जनता दरबार कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साह, नगर उपप्रमुख शैलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरसहित सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्य, सम्बन्धित वडाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य, सम्बन्धित वडामा रहेको सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसमेतको सहभागिता रहने जनता दरबार कार्यक्रममा उपस्थित सहभागीहरुले ठाडै उजुरी गर्ने गरेका छन्।

उजुरीको तुरुन्तै सम्बन्धित पक्षसित सुनुवाई गर्ने र हुने भए तुरुन्त समाधान पनि गर्ने गरिएकोले सर्वसाधारणको जनता दरबारमा आकर्षण बढेको हो।

नगर प्रमुख साहले शनिवार गौर नगरपालिका २ महादेवपटीमा गरिएको कार्यक्रममा महिला, पुरुष, दलित, बालबालिका, ज्येष्ठ नागरिकसहित सयौँको उपस्थितिमा पचासौँ जनाले आफ्नो कुरा राखेको र नगरपालिकाले जवाफ दिएको बताएका छन्। सर्वसाधारण नागरिकसित सोझै सम्पर्क गरेर गरिएका कार्यक्रमप्रति धारणा बुझ्ने र सेवा प्रवाहको अवस्था बुझेर सुधार गर्ने बाटोमा निकै सफलता मिलेको नगर प्रमुख साहको भनाइ छ।

विकास निर्माणको अवस्था आ आवश्यकता तथा नीति र योजना निर्माणमा पनि सहयोग पुगिरहेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरको भनाइ छ।

प्रकाशित: १८ चैत्र २०७९ १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App