७ वैशाख २०८१ शुक्रबार
समाज

बिपी राजमार्गमा फोहोर फाले कारबाहीमा परिएला है !

बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डको सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभन्जयाङ क्षेत्र।

तपाई बिपी राजमार्गको यात्रा गर्दै हुनुहन्छ भने अब एउटा पक्षमा ध्यान दिनुपर्ने भएको छ। राजमार्गमा जथाभाबी फोहोर फाल्न बन्देज गरिएको छ। राजमार्गको सुन्दरतालाई कायम राख्न गरिएको बृहत् सरसफाइ अभियान पश्चात् राजमार्गमा फोहोर फाल्नेलाई नगद जरिवाना नै गर्ने नीति बनाइएको छ। 

डिभिजन बन कार्यालय सिन्धुलीको आर्थिक सहयोगमा कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा गत शुक्रबारबाट सुरु गरिएको बृहत् सरसफाइ अभियानलाई निरन्तरता दिइएको छ। दोस्रो साताको शुक्रबार  सिन्धुलीको कमलामाई नगरपालिका ४ चियाबारी देखि हिरापानीसम्म सरसफाइ गरिएको हो। राजमार्गमा सरसफाइसँगै राजमार्गमा फोहोर फाल्नलाई रोक लगाइएको छ। विपी राजमार्गमा फोहोर फाल्नेलाई नगद जरिवाना नै गर्न प्रहरीसँग सहकार्य गरिएको कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए।

 विपी राजमार्ग अत्याधिक घुमाउरो भएकाले यस राजमार्ग हुँदै यात्रा गर्ने धेरै यात्रुले वान्ता गर्ने गरेका छन्। यात्रुले गर्ने वान्ता सहितका फोहोरले राजमार्ग नै दुर्गन्धित हुन थालेपछि सवारी स्वयम्ले डस्विन गाडीमै राख्नुपर्ने र गाडीमा राखिएको डस्विनको फोहोर राजमार्गका ठाँउठाँउमा राखिएको डस्विनमा हाल्नुपर्ने व्यवस्था गरिएको छ। नियमलाई उल्घन गरी फोहोर राजमार्गमा फालेमा भोमिट ब्याग फाले पाँच सय, जंक फुडका खोल फाले ३ सय ५० र अन्य फोहोर फालेमा दुई सय रुपैयाँ जरिवाना सहित कारबाही गरिने कमलामाई नगरपालिका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिए। नेपाल प्रहरी कमलामाई नगर प्रहरी र डिभिजन बन कार्यालयका टोलीले यसको कडाइका साथ निगरानी गर्ने व्यवस्था मिलाइएको उनले जनाए। 

गत साता बिपी राजमार्गको कमलामाई नगरपालिका ४ हिरा पानी देखि कमलामाई नगरपालिका ६ को शिव नगरसम्म सरसफाइ गरिएको थियो भने शुक्रबार हिरा पानी देखि चियाबारी सम्म सफा गरिएको छ। विपी राजमार्गको सुन्दरतालाई कायम राख्न राजमार्गमा फोहोर फाल्नेलाई वातावरण संरक्षण ऐन  नियमावली र स्थानीय तहको वातावरण नियमावली अनुसार कारबाही गरिने डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले बताए। राजमार्गमा गुड्ने सवारी तथा स्थानीय बासिन्दा होटेल व्यवसायी कसैले पनि राजमार्ग र आसपासमा फोहोर फालेमा कारवाहीको भागिदार हुनुपर्ने उनको भनाई छ।  

महोत्तरीको बर्दिबास देखि काभ्रेको धुलिखेलसम्म रहेको विपी राजमार्गको सिन्धुली खण्डमा फोहोर फाल्न रोक लगाइएको हो। सुनकोसी गाउँपालिकास्थित दुम्जा क्षेत्रबाट पनि सरसफाइ सुरु गरिएको छ। राजमार्गलाई सफा र सुन्दर राख्ने अभियानमा सुनकोसी गाउँपालिकामा पनि सरसफाइ अभियान सुरु भएको सुनकोसी गाउँपालिका १ का वडाअध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।  राजमार्गका विभिन्न स्थानमा राखिएका डस्विनमा मात्रै फोहोर फाल्नुपर्ने र जथाभाबी फोहोर फाल्नेलाई नगद जरिवाना सहित कारबाही गर्ने व्यवस्था भएपछि सोही अनुसार सवारीको चेकजाँच गरी डस्विन अनिवार्य राख्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई रामेश्वर पाण्डेले जानकारी दिए।                               

प्रकाशित: १७ चैत्र २०७९ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App