१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

कृत्रिम बौद्धिकताले रोजगारी धरापमा!

कृत्रिम बौद्धिकता (एआई) मा आएको नयाँ लहरका कारण विश्वका ३० करोड जनाको जागिर धरापमा पर्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। च्याटजिपिटी लगायत प्लेटफर्मका कारण आगामी दिनमा रोजगारी कुनै न कुनै हिसाबले स्वचालित हुने हुँदा यति धेरै ठुलो संख्यामा रोजगारी संकटमा पर्न लागेको गोल्डम्यान स्याकका अर्थशास्त्री संलग्न अध्ययनले देखाएको हो।

अध्ययन प्रतिवेदन अनुसार विश्वका १४ प्रतिशत जागिर कम्युटराइज्ड हुने छन्। यसको प्रभाव आर्थिक हिसाबले उदीयमानभन्दा धनी राष्ट्रमा अत्यधिक पर्ने छ। शारीरिक परिश्रमभन्दा बौद्धिक कार्यसम्बन्धी जागिर जोखिममा पर्ने देखिएको छ। एआईका कारण प्रशासनिक कार्य गर्ने कामदार र कानुन व्यवसायी सबैभन्दा बढी प्रभावित हुने अध्ययनमा संलग्न अर्थशास्त्रीले बताएका छन्। निर्माण र मर्मत कार्यमा संलग्न कामदार भने तुलनात्मक रूपमा कम प्रभावित हुने उनीहरूको आकलन छ।

अमेरिका र युरोपका झन्डै दुई तिहाइ रोजगारी केही न केही रूपमा स्वचालित (अटोमेसन) हुने र एक चौथाइ काम एआईले सम्पूर्ण रूपमा गर्न सक्ने अध्ययनको आकलन छ। ‘अपेक्षा गरेअनुसार जेनेरेटिभ एआईले काम गरेमा श्रम बजारमा ठूलै खलबली उत्पन्न हुने निश्चित छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा जेनेरेटिभ एआई भनेर विशेष गरी पछिल्ला दिनहरूमा सर्वाधिक लोकप्रिय रहेका च्याटजिपिटी, च्याटबट्स लगायतलाई समावेश गरिएको छ। तत्काल उत्तर दिने र निबन्धसमेत लेख्न सक्ने च्याटजिपिटीका कारण कतिपय व्यवसायका मानिसले हरेक दिन कसरी काम गर्नुपर्छ भन्ने विषयमा आफ्नो धारणामा पुनर्विचार गर्न थालेका छन्।

यही महिनामा यो प्लेटफर्मका डेभलपरले सार्वजनिक गरेको पछिल्लो सफ्टवेयर जिपिटी–४ ले कोडिङलाई सरलीकृत गर्न, सामान्य स्केचका आधारमा वेबसाइट बनाउन र परीक्षामा सर्वाेत्कृष्ट अंकसहित पास हुन सहयोग गर्न सक्ने भएका कारण प्रयोगकर्ता आकर्षित भएका छन्।

एआईको प्रयोग बढ्दै जाँदा आगामी दिनमा रोजगारीका अवसर घट्दै जाने अध्ययनको आकलन छ। तर प्रविधिगत नवीनताले सुरुमा कामदार प्रतिस्थापन गरे पनि दीर्घकालीन हिसाबमा रोजगारी वृद्धि हुने गरेको यसअघिको अनुभव रहेको चर्चा गर्दै अध्ययनले अत्यधिक रूपमा एआईलाई आत्मसात् गर्दा श्रमको उत्पादकत्व बढ्ने र आगामी एक दशकमा विश्वको कुल ग्राहस्थ उत्पादन (जिडिपी) सात प्रतिशत बढ्न सक्ने जनाएको छ। ‘श्रम बजारमा एआई प्रभाव उल्लेख रहने छ तर अधिकतम रोजगारीका अवसर र उद्योग आंशिक रूपमा मात्र स्वचालित (अटोमेसन) हुने हुँदा एआईले रोजगारीलाई प्रतिस्थापन गर्नुको साटो अनुपूरण गर्नेछ,’ अध्ययनमा उल्लेख छ।

एआईको आंशिक प्रयोग हुने पेसामा अधिकतम कामदार संलग्न रहेकाले यसलाई कार्यान्वयन गर्दा उनीहरूको बाँकी क्षमता उत्पादक कार्यमा प्रयोग गर्न सकिने र यसले उत्पादकत्व बढन सक्ने अध्ययनको जिकिर छ। अमेरिकाका सन्दर्भमा २५ देखि ५० प्रतिशत कार्यभार एआईले प्रतिस्थापन गर्ने अनुसन्धानकर्ताले बताएका छन्। ‘श्रमको मुल्यमा हुने बचत, नयाँ रोजगारीका सिर्जना, प्रतिस्थापित नभएका कामदारको उत्पादकत्वमा वृद्धि लगायतका कारणले यसअघि इलेक्ट्रिक मोटर र परशनल कम्युटर जस्ता प्रविधिले गरेझै अन्तत श्रमको उत्पादकत्वमा उछाल आउने छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

-मिसेल टो

प्रकाशित: १७ चैत्र २०७९ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App