coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हलेसीमा रामनवमी मेला

फाइल तस्वीर

रामनवमीको अवसरमा  खोटाङको हलेसीमा बृहत् मेला लागेको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो।

हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्न नेपालबाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौं दर्शनार्थी तथा भक्तजन हलेसी आएका छन्। मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि अधिकांश दर्शनार्थी आफ्नै सवारीसाधन लिएर आएका छन्। मेला व्यवस्थित गर्न सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताए।

हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वार लगायत छन्। हलेसीस्थित बसाहा गुफा  महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ।

रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तीज लगायतमा ठूलो मेला लाग्छ। यहाँ आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएका छन्। हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी सिसी क्यामेर जडान गरिएका हुन्। उज्यालो हलेसी कार्यक्रम अन्तर्गत कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको दश लाख रुपैयाँको लागतमा मन्दिर परिसरका २६ ठाउँमा सौर्यबत्तीसमेत जडान गरिएको छ।

यसैबीच, रामनवमीको अवसरमा बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ लगायत ठाउँमा समेत ठूलो मेला लागेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ लगायत धार्मिक तथा पर्यटकीयस्थलमा आज आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहेको स्थानीयले बताएका छन्। रासस

प्रकाशित: १६ चैत्र २०७९ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App