८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन्। भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये सोमबार बिहानसम्म तीन सय २५ कैदीबन्दी कारागार फर्केका छन्।  

भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ५६ र अन्य कारागारबाट फरार ६९ गरी तीन सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए। प्रमुख पौडेलका अनुसार भागेकामध्ये एक सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन्।

यही भदौ २४ गते राति भीमफेदी कारागारको पर्खाल भत्काएर चार सय ४० कैदीबन्दी फरार भएका थिए। कारागारबाट फरार भएकामध्ये एक सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको प्रमुख पौडेलले बताए। यस्तै सो कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उनले बताए।

कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई सय ६० र (ख) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए। रासस

प्रकाशित: २८ आश्विन २०८२ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App